काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बुधबार) को पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याङिको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनायो । कर्णालीका लागि ओपनर शिखर धवनले ७२ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे ।
पावरप्लेमा २ विकेट गुमाएर ३९ रन बनाएको कर्णालीले १० ओभरमा ५७ रन पूरा गरेको थियो । पहिलो विकेटका रूपमा कर्णालीले देव खनाललाई गुमायो । उनी पहिलो ओभरको तेस्रो बलमा करण केसीबाट एलबीडब्ल्यु आउट भए। दोस्रो विकेटका रुपमा कर्णालीले चार्डविक वाल्टनको विकेट गयो । उनले १५ बलमा ५ चौकासहित २१ रन बनाएर करण केसीको बलमा गेरहार्ड इरास्मसबाट क्याच आउट भए ।
दिपेश कँडेलले बाबर हायातलाई १३ रनमा बोल्ड आउट गरे । हायातले १८ बलमा १ छक्का प्रहार गरे । गुल्सन झा १९ बलमा १ चौकासहित १२ रन बनाएर स्पम्पिङ आउट भए । पाँचौं विकेट पनि कर्णालीले छिट्टै गुमायो । पहिलो खेलमा आक्रमक ब्याटिङ गरेका अर्जुन घर्ती ३ बलमा १ चौकासहित ४ रनमा नथान साउटरको बलमा बोल्ड भए ।
ओपनर शिखर धवनले छैटौं विकेटका लागि जिसन मक्सुदसँग ६५ रनको अर्धशतकीय साझेदारी गरे । जिसन मक्सुदले ११ बलमा १ चौकासहित १४ रनमा अविजित रहे। काठमाडौंका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २ करण केसी, नथान साउटर, दिपेश कँडेलले समान १-१ विककेट लिए ।
पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै काठमाडौं गुर्खाज भने चितवनसँग ५ विकेटले पराजित भएको थियो । बुधबारको दोस्रो खेल लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच हुनेछ ।
प्रतिक्रिया