काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गर्दै गएको छ । चितवनको दाबेदारीमा पहिलो खेलमाझैँ दोस्रो खेलमा पनि सोहेल तनबिरको सानदार प्रदर्शनले धेरै सहयोग ग¥यो । काठमाडौँ गुर्खाजसँगको पहिलो खेलमा ५ विकेट लिएका तनबिरले पोखरा एभेन्जर्ससँगको दोस्रो खेलमा ३ विकेट लिए । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा तनबिरले पहिलो ओभरमै ३ विकेट लिए । उनले कुल ३ ओभर बलिङ गरे । पहिलोबाहेक अन्य ओभरमा विकेट त लिएनन्, तर कुल ३ ओभरमा ६ रन मात्र खर्चिए ।
सोही पारीमा रिजन ढकालले अर्को सनसनी मच्चाए । चौथो ओभरमा रिजन ढकालले ३ विकेट लिए । पोखराले ४ ओभरमै ६ विकेट गुमाएर जम्मा ७ रन मात्रै जोडेको थियो । सो खेलमा पोखराका ओपनर तथा कप्तान कुशल भुर्तेल चितवनका सोहेल तनबिरको पहिलै बलमा आउट भए । रनको खाता खोल्न असफल भुर्तेललाई सोहेलले रवि बोपरामार्फ क्याच आउट गराए ।
कुशल बाहिरिएपछि क्रिजमा आएका दिलीप नाथ पनि सोहेलकै बलको सिकार भए । ४ बलमा ४ रन जोडेका उनलाई सोहेलले दीपक बोहोरामार्फत् क्याचआउट गराए । बास दे लिडे पनि सोहेलको बलबाट मैदानमा टिक्न सकेनन् । लिडे उनको पहिलो ओभरको अन्तिम बलमा लुक बेन्केस्स्टाइनमार्फत् क्याचआउट भए । १ बल मात्रै खेलेका लिडेले पनि रनको खाता खोल्न सकेनन् ।
चौथो ओभरकै पहिलो बलमा अर्का प्रारम्भिक ब्याट्सम्यान दिनेश खरेललाई ढकालले एलबिडब्लू आउट गरे । त्यहीँबाट रिजनको सनसनी सुरु भएको थियो । सोही ओभरको चौथो बलमा किरण ठगुन्ना तथा ओभरको अन्तिम बलमा माइकल लिस्क आउट भए । ९ जनै ब्याट्सम्यानले दोहोरो अंक छुन नसकेको पोखराको यो खराब कीर्तिमान एनपिएलका अन्य खेलसम्म कायम रहन्छ या यो नै कीर्तिमानका रूपमा रहन्छ भन्ने प्रतीक्षाको विषय बनेको छ ।
तनबिरको नाममा एउटा अचम्मको कीर्तिमान छ । सन् २००८ को इन्डियन प्रिमियर लिग (आइपिएल) मा तनबिरले २२ विकेट लिएका थिए । सो कीर्तिमान १ दशकभन्दा बढी समय कायम रह्यो । बायाँ हाते तनबिर संसारका धेरै लिग खेल्ने थोरै पाकिस्तानी अलराउन्डरमध्ये एक हुन् ।
मार्कस क्रिचले र नारायण जोशीले आठौँ विकेटका लागि ३० रनको साझेदारी नगरेसम्म पोखराको नाममा अझ खराब कीर्तिमानको सम्भावना देखिएको थियो । अहिलेसम्म टी–२० क्रिकेटमा सबैभन्दा कम रनको कीर्तिमान आइभोरी कोस्टको नाममा छ । आइभोरी कोस्ट यसै वर्ष नाइजेरियासँग भएको खेलमा ७ रनमै सीमित भएको थियो । राष्ट्रिय टोलीबाहेक घरेलु टोली तथा फ्रेन्चाइजकै हकमा सन् २०२२ को बिग बासको खेलमा थन्डर्सलाई स्ट्राइकरले १५ रनमै अलआउट गरेको थियो ।
नेपालमा सबैभन्दा धेरै चर्चा हुने आइपिएलकै हकमा सन् २०१७ मा कलकत्ता नाइटराइडर्ससँगको खेलमा रोयल च्यालेन्जर्स बेंगलोर ४९ रनमा आउट भएको थियो । तर, यति धेरै खराब कीर्तिमान बन्ने खतरामा पुगेको पोखरालाई क्रिचले र नारायणले जोगाएका छन् ।
प्रतिक्रिया