लामो समयदेखि कलाकारिता क्षेत्र अँगाल्दै आएका गीतकार गोविन्द भट्ट पछिल्लो समय केही नयाँ सिर्जना र फरक मौलिकताको खोजीमा छन् । नेपाली गीतसंगीतमा पछिल्लो समय हराउँदै गएका मौलिकताले आफू निकै चिन्तित बनेको बताउँछन् गीतकार भट्ट । गीत लेखनमा आफ्नो पृथक पहिचान स्थापित गर्न सफल गीतकार भट्टका महानायक राजेश हमालको आवाज रहेको ‘गाउँले ठिटो’ होस् या पछिल्लो समय चर्चामा रहेको ‘तँईका ठमक’, ‘सुन माया’, ‘सानै छ उमेर’, ‘दो साँध’ नेपाली स्रोताहरूको रोजाइमा परेका गीतहरू हुन् । उनका हालसम्म २ दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् । गोल्डेन हर्ष इन्टरनेसनल अवार्ड, गोल्डेन इन्टरनेसनल म्युजिक अवार्ड, चौथो स्पर्श म्युजिक भिडियो अवार्ड लगायतबाट सम्मानित गीतकार संघ नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य र रोयल्टी नेपालका सदस्य युवा गीतकार भट्टसँग सौर्य दैनिकका लागि बाबुराम सिग्देलले गरेको कुराकानीका सम्पादित अंश :
विगतमा दर्जनौँ सिर्जना पस्किसक्नुभएको छ, अरू पनि नयाँ कोसेली आउँदै छ कि ?
– यसपटक अलि फरक शैलीमा गीत बनाएको छु । पहिले भिडियो बनाएपछि मात्र गीत लेखेको छु । पक्कै यो नयाँ र आमदर्शकहरूका लागि र मेरालागि नयाँपन हुनेछ ।
संगीत क्षेत्रको विकास र बिस्तारका लागि तपाईंले देखेका चुनौति के के छन् ?
– यस क्षेत्रमा चुनौति धेरैै छन् । पहिलोे चुनौति त मौलिकताको बचाउ र विकृतिलाई निर्मुल पार्नु नै हो । तर एकाध कलाकार तथा गीतकारहरूले मात्रै चाहेर यो चुनौति पार गर्न सम्भव छैन ।
यसमा खास कसको भूमिका महत्वपूर्ण हुनुपर्छ ?
– यसमा विशेष भूमिका त सर्जक र गायक गायिकामा मुख्य भर पर्छ र सँगसँगै बजारमा गीत सुन्ने आमदर्शकस्रोताहरूमा पनि निर्भर हुन्छ । छाडा गीत बजारमा आयो भने त्यस्ता गीत नसुन्दिने र भिडियो पनि नहेर्ने हो भने केही हदसम्मम मौलिकताले न्याय पाउँछ । नेपाली गीतसंगीतमा मौलिकता मर्दै जानु र छाडापनले स्थान पाउनु नै चिन्ताको विषय हो । सस्तो लोकप्रियताको कारण यो सब भइरहेको छ ।
पछिल्लो समय मौलिकपनका गीतसंगीत उत्पादन हुन नसक्नुको कारण के होला ?
– देशमा मौकिपनका गीतहरू पनि उत्पादन त भइरहेका छन् तर पनि व्यापक छाडापनले गर्दा नै मौलिक गीतहरू ओझेलमा परेका हुन् ।
पछिल्लो समय चलचित्रहरूमा पनि लोकदोहोरी लगायतका गीतहरूले स्थान पाइरहेका छन् नि ?
– अवश्य हो अहिले त चलचित्र चलाउन पनि यस्ता गीतसंगीतले स्थान पाउँदै आएका छन् । यो खुसीको विषय पनि हो ।
विगतमा गीतसंगीत सेन्सर भएर मात्र बजारमा जान्थे, अहिले त्यसो नहुनुलाई कसरी लिनुभएको छ ?
– गीतसंगीत भनेको मनोरञ्जनका साथसाथै सामाज परिवर्तनका संवाहक पनि हो । पहिले सेन्सरभन्दा पनि गीतसंगीत निकाल्ने व्यक्तिले कस्तो गीत निकाल्ने भन्ने चेतना हुनुपर्छ । यो भनेको इतिहासको दस्तावेज हो ।
नेपाली गीतसंगीत संसारभर रहेका नेपालीमाझ पुर्याउन के गर्नुपर्ला ?
– यसका लागि मौलिकता र उत्कृष्ट सिर्जना ल्याउनुपर्छ । जसले गर्दा नेपालीको मन मस्तिष्कमा नेपाली गीतसंगीत हुनेछ ।
अर्थको बलमा लोकप्रिय हुनेहरूका कारण कडा मिहिनेत गरेर गीतसंगीतमा लाग्नेहरू कुहिरोका काग बन्ने गरेका छन् भन्छन् नि ?
– सिर्जना कहाँ पैसामा पाइन्छ ? यो त बौद्धिकताको कुरा हो । जो अर्थको बलमा आउनुहुन्छ त्यो क्षणिक हुन्छ ।
संगीत क्षेत्र डिजिटल युगमा प्रवेश गरेसँगै श्रष्टाको सिर्जनामा मौलिकता हराएको हो ?
– समयसँगै गीतसंगीत परिवर्तित हुन्छन् । तर आफ्नै मौलिकता भने चाहिन्छ । कहीँ कतै गीतमा मौलिकता त आइहाल्छ नि । तर समय अनुसारको डिजिटल युगलाई पनि आधार मान्नुपर्छ ।
भर्खरै सरकारले विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । गीतसंगीतका नयाँ तथा पुराना स्रष्टाको संरक्षकत्वमा राज्यबाट के अपेक्षा गर्नुहुन्छ ?
– देशले हामीलाई के दियोभन्दा पनि हामीले देशलाई के दियौँ भन्ने महत्वपूर्ण कुरा हो । सरकार भनेको अविभावक हो, दायित्व छ भइहाल्छ ।
व्यावसायिक रूपमाभन्दा पनि नाम र सम्मानका लागि गायक, गायिका, गीतकार र संगीतकारले लगानी गरेका कारण यो क्षेत्र व्यावसायिक बन्न नसकेको हो ?
– राम्रो काम गरेपछि नामसँगै दाम त भइहाल्छ । त्यो सबैलाई थाहा भएकै कुरा हो । मौलिकता र उत्कृष्ट गीत जहिले पनि व्यावसायिक हुन्छ । मलाई नै हेर्नुहोस् मेरो नाम, दामसहित म व्यावसायिक पनि छु । यही पेसाबाट राम्रो कमाइ गरिरहेको छु ।
गीत र गायक गायिका हिट हुन्छन्, त्यही गीतका सर्जक विभिन्न प्लेटफर्ममा आफ्नो गीत बजेको सुनेर रमाउने मात्र हो ?
– गायक गायिकाको नाम अगाडि आउने भएर त्यस्तो लागेको हो । गीत हिट भएसँगै अहिले त राम्रै आम्दानी पनि हुन्छ ।
गीतसंगीत प्रयोग गरे वापत रोयल्टी तिर्नुपर्छ । के सर्जकहरूले चित्तबुझ्दो रोयल्टी पाइरहनुभएको छ ?
– यो चेतना धेरैमा आइसकेको छ ता कि गीतसंगीत प्रयोग गरेपछि रोयल्टी तिर्नुपर्छ भनेर । मेरो सवालमा अहिलेसम्म राम्रै रोयल्टी पाएको छु ।
दोहोरो अर्थ राख्ने छाडा गीतसंगीतले समाजमा के सन्देश दिन्छ ?
– यसले राम्रो गर्दैन । मैले माथि नै भनिसकँे हामीले गर्ने हरेक कुरा इतिहासको दस्तावेज हो । त्यसैले उत्कृष्ट सिर्जना मनोरञ्जनका साथै समाजका लागि बजारमा ल्याउनुपर्छ । छाडा गीतसंगीतबाट समाजमा सन्देश जान्छ भन्नु नै मुर्खता हो ।
युवा पुस्तालाई नेपाली गीतसंगीतप्रति आकर्षित गर्न कस्तो सिर्जना पस्किनु पर्ला ?
– अहिलेका युवा पुस्ताको हातहातमा संसारभरका मनोरञ्जनका विविध सामग्रीको सहजताले गर्दा आफ्नोपनको खुराकबाट टाढा भएको हो कि जस्तो लाग्नु स्वभाविक हो । तर युवा पुस्तालाई आकर्षित गर्ने खालको सिर्जना समयसँगै गीतसंगीत पनि परिवर्तन गनुपर्छ ।
समग्र गीतसंगीतको विकासका लागि तपाईंको विचारमा के गर्नुपर्ला ?
– विद्यालयदेखि नै गीतसंगीतको बारेमा पाठ्यक्रममा राखेर यसबारे जानकारी दिनुपर्छ । साथै राज्यले उचित संरक्षण गर्नुपर्छ । एउटा संगीत विकास बोर्ड स्थापना गरेर राज्यले गीतसंगीतको संरक्षण गर्नुपर्छ ।
दर्शक स्रोतालाई केही भन्नु छ ?
समग्र दर्शक स्रोताहरूलाई मेरो आग्रह छ कि तपाईंहरूले राम्रा गीतसंगीतमा मात्रै ध्यान दिनुहोला । छाडापनका गीतबाट टाढा रहनुहोला ता कि दर्शक स्रोताहरूको बेवास्ताले पनि त्यस्ता गीतहरू आफैँ निष्क्रिय भएर जान सक्छन् ।
प्रतिक्रिया