पाकिस्तानमा भड्किएको हिंसामा ८२ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा ३ दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन् । पाकिस्तान सुन्नी बहुल देश हो, तर अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा शिया समुदायको बाहुल्य छ र यो समुदाय दशकौँदेखि शुन्नी बहुसंख्यक पाकिस्तानीको निशाना हुने गरेको छ ।

गत हप्ता प्रहरीको सुरक्षामा यात्रा गरिरहेका शिया मुसलमानका दुई छुट्टाछुट्टै समूहमाथि गत बिहीबार आक्रमण हुँदा कम्तीमा ४३ जनाको मृत्यु हुनुका साथै दुई दिनसम्म सशस्त्र झडप भएको थियो । ‘नोभेम्बर २१, २२ र २३ मा भएको झडप र प्रहरीका गाडीलाई लक्षित गरी गरिएका आक्रमणमा परी ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्,’ स्थानीय प्रशासनका एक अधिकारीले नाम नबताउने शर्तमा भने ।

‘मृत्यु हुनेमा १६ जना सुन्नी र ६६ जना शिया समुदायका व्यक्ति रहेका छन्,’ उनले एएफपीसँग भने । शनिबार रातिसम्म पनि हल्का र गह्रौँ हतियारसहित गोली हानाहान जारी रहेपछि करिब ३०० परिवार घर छोडी भागेका थिए । स्थानीय प्रशासनका एक अधिकारीले भने, ‘कुर्रममा मोबाइल नेटवर्क बन्द गरिएको छ र मुख्य राजमार्गमा यातायात अवरुद्ध छ ।’

सन् २०१८ मा खैबर पख्तुनख्वामा गाभिएसम्म अर्धस्वायत्त संघीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा रहेको कुर्रममा प्रहरीले नियमित रूपमा हिंसा रोक्न संघर्ष गर्दै आएको छ । प्रान्तीय सरकारको एक प्रतिनिधिमण्डलले शनिबार शिया समुदायसँग वार्ता गरेको थियो र आइतबारपछि सुन्नी समुदायलाई भेट्ने कार्यक्रम रहेको छ ।
प्रान्तीय राजधानी पेशावरका एक सुरक्षा अधिकारीले एएफपीलाई बताएअनुसार वार्ताकारको हेलिकप्टर त्यस क्षेत्रमा आइपुग्दा आक्रमण भएको थियो ।

प्रान्तीय कानुनमन्त्री आफताब आलम अफ्रिदीले आइतबार भने, ‘आज हाम्रो प्राथमिकता दुवै पक्षबीच युद्ध विरामको मध्यस्थता गर्नु हो । एक पटक यो हासिल भएपछि, हामी अन्तर्निहित मुद्दाहरू सम्बोधन गर्न सुरु गर्न सक्छौँ ।’

गत महिना कुर्रममा भएको साम्प्रदायिक झडपमा ३ महिला र २ बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो । यसअघि जुलाई र सेप्टेम्बरमा भएको झडपमा दर्जनौँ मानिसको मृत्यु भएको थियो र युद्ध विरामको आह्वान गरिएको जिरगा वा आदिवासी परिषद्पछि मात्र टुङ्गिएको थियो । पाकिस्तानको मानव अधिकार आयोगका अनुसार जुलाईदेखि अक्टोबरसम्म साम्प्रदायिक झडपमा परी ७९ जनाको मृत्यु भएको छ । यसैबीच, पाकिस्तानको दोस्रो ठूलो शहर लाहोर र देशको व्यापारिक केन्द्र कराँचीमा शुक्रबार सयौँ मानिसले हिंसाको विरोधमा प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया