काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध गम्भीर मोडमा गइरहेको समयमा उत्तर कोरियाली सेनाको सहयोगले रुसलाई अझ बढी उत्साहित बनाएको छ । पछिल्लो समाचारअनुसार रुसले अहिले प्रहार गरेकामध्ये धेरै मिसाइल उत्तर कोरियाबाट आएका हुन् । पश्चिमा देशहरूलाई यसबारे राम्रोसँग जानकारीसमेत छैन ।
रुसले उत्तर कोरियाको सहयोगमा पाएको केएन–२३ मिसाइल युक्रेनमा प्रहार गरिसकेको छ ।
सन् २०२४ मा रुसले योसहित कुल १९४ ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो । अगस्ट र सेप्टम्बर महिनामा रुसले सबैभन्दा धेरै मिसाइल प्रहार गरेको छ । सोही समयमा युक्रेनले रुसले प्रहार गरेको केएन–२३ मिसाइलबारे जानकारी गराएको थियो ।
रुसले क्रुज मिसाइल खासै प्रयोग नगरेर ब्यालिस्टिक मिसाइल र ड्रोनको अधिक प्रयोग गरेको युक्रेनको हवाई सेनाले जनाएको छ । यो मिसाइल उत्तर कोरियाले रुसलाई गरेको सहयोगमध्यको एक हो । अहिले युक्रेनविरुद्ध लड्न ११ हजार उत्तर कोरियाली सेना रुसमै छन् ।
उत्तर कोरियामा तयार हुने मिसाइलका धेरै कम्पोनेन्ट भने ९ वटा पश्चिमा देशमा तयार भएको पाइएको छ । यी ९ देशमा अमेरिका, नेदरल्यान्ड्स र बेलायत पनि छन् । उत्तर कोरियाले प्रहार गरेको केएन–२३ का धेरै उपकरण त सन् २०२३ मा नै तयार भएको युक्रेनले जनाएको छ ।
अहिले युक्रेनका धेरै भवनहरू ध्वस्त भएका छन् । यसरी ध्वस्त बनाउने मिसाइलमा केएन–२३ सहित सहेद र आइजकान्डर पनि छन् । किभ साइन्टिफिक रिसर्च इन्सटिच्युट अफ फोरेन्सिक एक्सपरटाइजका मिलिटरी रिसर्च ल्याब प्रमुख आन्द्रेई कुल्टेभ्सकीले बताएअनुसार उत्तर कोरियाले प्रयोग गरेको सामग्रीको सम्पूर्ण हिस्सा विदेशमा नै तयार भएका हुन् ।
युक्रेनी गुप्तचर निकायका अनुसार यसरी उत्तर कोरियामा तयार हुने मिसाइलमा प्रयोग हुने ७० प्रतिशतभन्दा बढी उपकरण पश्चिमा देशमा तयार हुन्छन् । जसमध्ये पनि सबैभन्दा धेरै अमेरिकामा नै तयार भएको बताइएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।
पश्चिमा देशमा बनेका ती उपकरण उत्तर कोरियासम्म लैजान चीनले सहयोग गर्ने गरेको अनुमान छ । अन्तिम उपकरण भने चिनियाँ भएको जनाइएको छ । पछिल्लो अनुसन्धानअनुसार उत्तर कोरियाली ती मिसाइलमा प्रयोग हुने कम्पोनेन्ट २५० भन्दा बढी कम्पनीका हुन् । यी कम्पोनेन्ट मुख्य रूपमा ५ मुख्य डिस्ट्रिब्युटरबाट बिक्री हुने गरेको छ, जुन धेरै अमेरिका र क्यानडामा छन् । रुसले युक्रेनमा आक्रमण गरेलगत्तै अमेरिकी व्यापार विभागले आफ्नो देशका कुनै पनि सामग्री रुस या बेलारुसमा लैजान प्रतिबन्ध लगाएको थियो । –एजेन्सीको सहयोगमा
प्रतिक्रिया