नयाँ दिल्ली । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ ।
कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अदानी समूहका अध्यक्षसमेत रहेका अदानीले र उनको समूहलाई आरोपले क्षणिकरूपमा क्षति पुर्याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने विश्लेषकहरूले बताएका छन् ।
अदानी र उनका सहयोगीहरूले आकर्षक सरकारी सम्झौताका लागि २५ करोड अमेरिकी डलरभन्दा बढी घूस दिएको दावी गर्दै न्युयोर्कमा बुधबार भएको दोषारोपणले उनको कम्पनीको स्टकको उन्मादपूर्ण बिक्रीलाई प्रभावित पारेको छ ।
न्यूयोर्कमा घूस दिएको दाबी गरिएको केही घण्टाभित्रै भारतका विपक्षी नेता राहुल गान्धीले अदानीलाई पक्राउ गर्न माग गरेका थिए । आरोपपछि केन्याका राष्ट्रपति विलियम रुटोले करिब २.५ अर्ब अमेरिकी डलरबराबरको विमानस्थल र बिजुली सम्झौता रद्द गरेको घोषणा गरेका छन् ।
अदानी समूहले घूसखोरीको आरोपलाई आधारहीन भन्दै खारेज गरेको छ तर कर्पोरेट गभर्नेन्स एडभाइजरी फर्म इनगभर्न रिसर्च सर्भिसेजका संस्थापक श्रीराम सुब्रमण्यमले भने यसको ठूलो प्रभाव रहेको बताएका छन् ।
सुब्रमण्यनले बैङ्लोरबाट भने, ‘उनीहरूले अपिल गरेर आफ्नो रक्षा गर्नेछन्, वा नयाँ सम्झौताका लागि जानेछन्, यो आफूहरूको प्रतिष्ठा र कर्पोरेट गभर्नेन्स अभ्यासका लागि ठूलो धक्का हो ।’– रासस, एएफपी
प्रतिक्रिया