बर्थिङ सेन्टरलाई बनाइयो, शैक्षिक संस्था

जनकपुरधाम । एक त मधेसको सरकारी स्वास्थ्य संस्थाहरूमा विभिन्न उदासीनताका कारण राम्रो भौतिक संरचना हुँदैन, जसले सेवाग्राहीलाई सास्ती खेप्नुपर्दछ, यहाँसम्म कि डिस्चार्ज भएर अन्यत्र जानुपर्दछ ।

तर जहाँ जे छ त्यहाँ पनि अनेकन समस्याको नाममा ठुल्ठुला भवन र संरचनाहरू प्रयोगविहीन भएर मधेसको एक मैथिली उखान ‘जाइतो गमेलौं आ स्वादो नहि पैलौं’ जस्तो अवस्था देखिएको छ । एक त दातृ निकायलाई हारगुहार गरेर हातमुख जोडी भवन बनाउने, सरसमान र उपकरण किन्ने, बन्दा प्रयोगविहीन हुने, यो अहिले मधेसको आधुनिक समस्या बनेको छ ।

फोटोमा देखिएको चिटिक्क परेको भवन मधेसको जनतालाई सहज र गुणस्तरीय प्रसूति सेवाका लागि अमेरिकी सरकारले जनकपुरधामस्थित प्रादेशिक अस्पताल छेउमा बनाइदिएको भवन हो । करिब १६ करोड रुपैयाँ खर्चेर अमेरिकी इन्डो–प्यासिफिक कमान्ड र अमेरिकी राजदूतावासको सहयोगमा निर्मित ७० बेड क्षमताको धनुषा बर्थिङ सेन्टर १६ चैत २०८० मा उद्घाटन गरिएको भए पनि अहिले उद्देश्यअनुसार प्रयोगमा त आएन आएन बरु यसलाई अहिले शैक्षिक संस्थाको रूपमा परिणत गरिएको छ ।

यहाँ अहिले अस्पतालको प्रशासनको जिम्मासमेत पाएको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ स्वीकृति पाएको कोर्ष एमबिबिएसको भर्ना र नर्सिङहरूको पढाइ भइरहेको छ । तत्कालीन उपप्रधान तथा स्वास्थ्यमन्त्री तथा मधेसका अगुवा नेता उपेन्द्र यादव, अमेरिकी राजदूत सहितले उद्घाटन गरेको यो भवन करिब ८ महिना पुग्न लाग्दा पनि बर्थिङ सेन्टर बन्न सकेको छैन । अहिले त्यही बर्थिङ सेन्टरको नाम मेटाएर ‘एकेडेमिक भवन ब्लक बी’ बनाइएको छ ।

अस्पताल प्रशासन मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको भने आफ्नै दावी छ । आफूहरूको योजनाअनुसार भवन बन्न नसकेको, चिकित्सक, नर्स सहितका म्यानपावर कमी रहेको, अस्पतालको मुख्य भवनदेखि टाढा र बीचमा सर्वसाधारण प्रयोग गर्ने बाटो भएको र ल्याब, आइसियु सहितको सम्पूर्ण सुविधा भवनमै नहुदाँसम्म सेवा स्थानान्तरण सम्भव र भरपर्दो नरहेको जिकिर प्रष्ठिानका प्रवक्ता डा.रामज्ञान यादवको छ ।

काठमाडौँको थापाथलीस्थित प्रसूति गृहपछि देशकै सबैभन्दा बढी प्रसूति सुविधा दिन सकिने जनकपुर प्रादेशिक अस्पतालको प्रसूति गृहमा काम गर्ने प्राविधिकका अनुसार पनि अन्य पूर्वाधार र सुविधाविना नयाँ भवनमा सेवा सहज देखिँदैन । प्रसूति सेवामा काम गर्ने अस्पतालकी नर्सिङ प्रमुख रञ्जु यादव तथा शल्यक्रिया कक्षमा काम गर्ने रिना यादवले भवन भएर मात्र नहुने बताउँदै प्रसूति सेवाका लागि शल्यक्रिया, आकस्मिक सहितका सबै पूर्वाधार र जाँच सुविधा भए मात्र नयाँ भवनमा सेवा दिन सकिने बताइन् ।

उनीहरूका अनुसार यहाँको प्रसूती गृहमा दैनिक ३० देखि ४० सामान्य र १० देखि १५ जना महिलाको शल्यक्रियाबाट प्रसूति गराउन सकिन्छ । वार्षिक १० हजारभन्दा बढी प्रसूति गराउन र बिरामीको बढी भिडभाड हुने यस अस्पतालको कुल २०० बेड क्षमता मध्ये आफ्नै भवनमा हाल ७६ बेडको प्रसूति सेवा सञ्चालनमा छ । अव्यवस्था र जनशक्तिको अभावमा यहाँ सुमधुर सेवा, फोहोर र भरोसाको अभाव भई अधिकांश बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेका छन् ।

प्रसूति गृहमा बिरामी कुरुवाका रूपमा भेटेका महोत्तरीका राजनीतिज्ञ राजेश यादव तथा धनुषा बफैका पत्रकारसमेत रहेका चन्द्रदेव साहले प्रसूति सेवा राम्रो भए पनि अस्पतालको व्यवस्थापन, फोहोर दुर्गन्ध, अस्पताल २०० बेड क्षमताको भएर पनि करिब ४०० बेडको हाराहारीमा सेवा प्रदान भइरहेको र जनशक्ति अभावमा विभिन्न समस्या हुने गरेको बताए ।

कारण जे सुकै होस, यस्ता भौतिक संरचनाको व्यवस्थापन र सदुपयोगको दायित्व राज्यले लिनुपर्छ । दातृ निकायले जुन उद्देश्यले भौतिक पूर्वाधार निर्माण गरिदिएको छ सोही उद्देश्यका लागि सदुपयोग हुन आवश्यक छ । त्यसो नभएमा विकासोन्मुख, दातृ निकायको भरपर्ने हाम्रोजस्तो देशमा अगामी दिनमा त्यस्ता निकायहरू पनि लगानी गर्न हिचकिचाउने जोखिम हुन सक्छ ।

प्रतिक्रिया