अमेरिकामा भारतीय अर्बपति गौतम अदानीविरुद्ध मुद्दा दर्ता

न्युयोर्क । अमेरिकाले भारतीय बिलिनियर गौतम अदानीसहित केही अधिकारीमाथि ठगीको आरोप लगाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले जनाएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकटस्थ अदानीसहित अन्य ७ अधिकारीमाथि अमेरिकामा ठेक्का अनुबन्धका लागि २५० मिलियन डलर घूस दिने योजना बनाएको र त्यसलाई लुकाउने प्रयत्न गरेको आरोप लागेको हो । उनका भाइ पर्ने सागर अदानीमाथि पनि सो आरोप लागेको हो ।

बुधबार न्युयोर्कमा दायर गरिएको एक आरोपपत्रमा ६२ वर्षीय अदानीमाथि आफ्नो नविकरणीय ऊर्जा कम्पनीको ठेक्का अनुबन्धका लागि भारतीय अधिकारीहरूलाई रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ । सो योजनामा २० वर्षमा २ बिलियन डलरभन्दा बढी मुनाफा हुने अनुमान गरिएको थियो ।

आरोपपछि बिहीबारको कारोबारमा अदानी समूहको सेयर मूल्यमा उच्च कमी आएको छ । अदानी समूहका ३ कम्पनीको सेयर १५ प्रतिशतभन्दा बढीले घटेको हो । बम्बई स्टक एक्सचेन्जमा अदानी इनर्जी सोलुसन लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै १९ दशमलव ५ प्रतिशतको कमी देखिएको छ । यसबाहेक अदानी इन्टरप्राइजेजको सेयर मूल्य १८ दशमलव ७६ प्रतिशतले घट्दा अदानी ग्रिन इनर्जीमा पनि १६ दशमलव ५६ प्रतिशतको कमी देखियो । सबै क्षेत्रमा १० देखि २० प्रतिशतसम्म सेयर घटेको जनाइएको छ ।

यो घटनापछि भारतको मुख्य प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेसले अदानीमाथि संसदीय छानबिन गर्न माग गरेको छ । सन् २०२२ देखि २०२४ सम्म सो कार्यक्रम अघि बढाउन अडानीले बारम्बार सरकारसँग सम्पर्क गरेको समेत जनाइएको छ । अमेरिकाले भारतीय व्यापारी अदानीमाथि आरोप लगाएपछि कंग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले अदानीलाई पक्राउ गर्न माग गरेका छन् ।

डोनाल्ड ट्रम्पले चुनाव जितेको केही हप्तापछि यो फाइल बाहिर आएको हो । २० जनवरीमा ह्वाइट हाउसमा प्रवेश गर्ने डोनाल्ड ट्रम्पले अहिले धमाधम नयाँ पदाधिकारी नियुक्त गरिरहेका छन् । बाइडेन प्रशासन पनि यही समयमा अझ बढी आक्रामक भएको छ । अदानीले गत हप्तामात्रै सामाजिक सञ्जालमार्फत् ट्रम्पले चुनाव जितेकामा बधाई दिँदै अमेरिकामा १० बिलियन डलर लगानी गर्ने बाचा गरेका थिए ।

यो घटनासँगै केही ठुला व्यवसायी पनि कारबाहीको घेरामा परेका छन् । सागर अदानी कार्यकारी निर्देशक रहेको पश्चिम भारतको सबैभन्दा ठुलो ऊर्जा कम्पनी अदानी ग्रिनका बारेमा पनि स्टक एक्सचेन्जलाई जानकारी गराइएको छ । अमेरिकी संस्था ‘हिडेनबर्ग रिसर्च’ का अनुसार २ वर्षअघिदेखि यस विषयमा छानबिन भइरहेको थियो । सन् १९८८ मा अदानीले ‘कमोडिटी’ व्यवसाय सञ्चालन गरेका थिए । अदानी हिरा व्यापारीसमेत हुन् ।

कारोबारका लागि विभिन्न समयमा भारतीय अधिकारीहरूसँग भेट गरेको आरोप पनि उनीमाथि लगाइएको छ । उनी अमेरिकामा रहँदासमेत विभिन्न डिजिटल डिभाइसको माध्यमबाट लगातार सम्पर्कमा रहेको आरोप लगाइएको हो । यस घटनामा संलग्नहरूले केही कोडभाषाको समेत प्रयोग गर्ने गरेको फेला परेको छ । पावरप्वाइन्ट विश्लेषणसहितको केही प्रमाण भने नष्ट गरिएको जनाइएको छ ।

प्रतिक्रिया