चाइनिजहरू वास्तवमै प्रकृति र वातावरण संरक्षणमा संवेदनशील छन् भन्ने त्यहाँका गतिविधिले देखाउँछ । बाटोघाटो निर्माण त प्रकृतिमैत्री छँदै छ त्यसमाथि सडकका किनारमा गरिएको वृक्षरोपण पनि अत्यन्तै व्यवस्थित छ । साना विरुवा होइन ठुलै हुर्केकै रुख रोप्ने चलन रहेछ त्यहाँ । हामी कहाँ पनि भन्न त वृक्षरोपणलाई अभियानकै रूपमा लैजाने भनिन्छ र रोपिन्छ पनि तर हुर्काउनतिर ध्यान पुग्दैन । रोप्दै साना विरुवा रोपेपछि हुर्कने कहिले ? अनि एकै ठाउँमा वर्षौँसम्म वृक्षरोपणको सिलसिला चलिरहन्छ ।
००००
भरतराज पोखरेल
असोजको दोस्रो सातामा आएको मनसुनी वर्षाका कारण नेपालको अधिकांश भाग बाढीपहिरोको चपेटामा पर्यो । त्यसो त बाढीपहिरो नेपालका लागि नौलो होइन तर यसपालिको बाढीपहिरोले राजधानी उपत्यकासमेत बढी प्रभावित भयो । त्यही भएर पनि बढी चर्चामा आयो होला ।
जलवायु परिवर्तनको असर त आफ्नो ठाउँमा होला तर प्रकृतिको अधिक दोहन र असन्तुलित भौतिक निर्माण प्राकृतिक विपत्ति निम्त्याउने प्रमुख कारण हुन् । हाम्रा संरचना प्रकृतिमैत्री छैनन् । भूकम्पजस्ता प्राकृतिक विपत्तिको प्रहार त हाम्रा पहाडले खप्नुपरेकै थियो त्यसमाथि विनाअध्ययन बाटोको नाममा डोजरले खोतल्दा ती पहाडहरू नराम्ररी खल्बलिएका छन् ।
भन्नेहरूले बिपी राजमार्गमा पहाडमा डोजर नलगाई बनाएको बाटो बगाएकोले डोजरे विकास मात्रै बाढीपहिरोको कारण होइन भन्ने तर्क पनि गर्छन् । तर्कका लागि तर्क गर्नु एउटा कुरा होला तर कल्पना गरौँ त बिपी राजमार्गमा पनि अन्यत्रको जस्तै २–३०० मिटर माथिसम्म भिर काटेर सडक बनाएको भए त्यो राजमार्गको नामोनिसाना कति बाँकी रहन्थ्यो होला ?
रोसी खोलाको अवैज्ञानिक उत्खनन् त्यस क्षेत्रको बाढीपहिरोको मुख्य कारण हो भन्ने तथ्य खोज्न टाढा जान पर्दैन, त्यस आसपासका वैध अवैध क्रसर उद्योग गने पुग्छ । उत्खननका लागि अनुमति पाएका त्यस्ता त्रसर उद्योग कति मिटर गहिरो खाल्टो खनेर गिट्टी, ढुंगा, बालुवा उत्खनन् गरे भन्ने आधिकारिक रिपोर्ट सरकारी निकायमा सायदै होला । वातावरणीय प्रभाव मूल्यांकन कि गरिएकै छैन कि त गरेकै भए झार टार्ने मात्रै भयो ।
जापानजस्तो मित्रराष्ट्रको सहयोगमा बनेको यो आधुनिक राजमार्गमा सुरुङ प्रविधिको प्रयोग नगरी २०२० को दशकमा भारतीय सहयोगमा बनेको पोखरा–सुनौली सिद्धार्थ राजमार्गको भन्दा नि अझ बढी ‘नागबेली रोमाञ्चक शैली’ अपनाइयो होला ? त्यो फेरि अर्को फरक पाटो हो ।
करिब २ साता उत्तरी छिमेकी चीनको भ्रमणमा प्रकृतिमैत्री विकास निर्माण हेरेर फर्केको केही दिनमै यता बाढीपहिरोको ताण्डव देख्दा त्यहाँको दीगो विकास निर्माण आँखा अगाडि बारम्बार आइरहन्छन् । चीनको विकास निर्माणसँग हाम्रो तुलना त हुनै सक्दैन तैपनि भ्रमणको नाममा संभवतः सबैभन्दा बढी नेपाली नेता–कार्यकर्ता (कांग्रेस कम्युनिस्ट सबै) र सरकारी कर्मचारीको गन्तव्य चीन नै हुने गरेको छ । तर यति धेरै आवतजावत भए पनि विकास निर्माणको बारेमा हजार अंशमा एक अंश पनि किन नसिकेका होलान् ? भनेर थकथकी भने लागिरहने रहेछ ।
चीनको विकास निर्माणको राष्ट्रिय नीति देशभर एकनासको छ । व्यापारिक सहर ग्वाङझाऊ होस् कि त्यहाँबाट ३ घण्टा जति जहाजको यात्रामा पुगिने छिङहाइ प्रान्तको राजधानी सिनिङ होस् वा त्यहाँबाट १ घण्टाको हवाइदुरीमा पर्ने झण्डै ४ हजार मिटरको उचाइको युसुमा होस् भौतिक निर्माणका तरिका एउटै छ । ग्वाङझाऊका आकाशमा उड्दा पहाड छेडेर निस्केका राजमार्गको ताँती युसु पुग्दा नि उस्तै छ ।
साना साना पहाडका ढिस्कामा पनि कहीँ कतै पनि ‘घुम्ती रोड’ छैन, सानो होस् कि ठूलो बाटो अगाडि पहाड उभिए त्यसलाई ताछेर विरुप पार्ने होइन छेडेर पार गर्ने उनीहरूको तरिका वास्तवमै लोभलाग्दो छ । प्रकृतिमैत्री चीनको विकास निर्माण हाम्रालागि उदाहरणीय हुन सक्छ । खर्चको सामान्य हिसाब गर्ने हो भने तत्कालका लागि केही महँगो देखिन सक्छ तर दीर्घकालका लागि यो सुरुङ प्रविधि वरदान नै हो । एक त यसले बाढीपहिरो रोक्न महत्वपूर्ण काम गर्छ भने दुरी घटाउन पनि त्यतिकै उपयोगी छ ।
खर्चको तुलना गर्दा हाम्रो मुग्लिन–नारायणढ सडक खण्डमा बाटो निर्माण गर्दा जति खर्च भयो, त्यसको कैयौँ गुणा बढी खर्च त्यसको स्तर वृद्धि र मेन्टिनेन्सको नाममा खर्च भएको छ । यो ३६ किमीको बाटोमा आधाउधी मात्रै अग्लो पहाड छ । त्यसमा सुरुङ निर्माण गर्दा बाटो छोटिने पनि हुन्थ्यो र बर्सेनि मर्मतको नामका हुने खर्च स्वतः घट्थ्यो । अझ यो बाटो मा भइरहने दुर्घटनामा हुने मानवीय क्षतिको कुरा गरी साध्य छैन । यो त एउटा उदाहरण मात्रै हो । सबैभन्दा दुःखद् कुरा प्रकृतिका प्रतिकूल भौतिक विकास निर्माणले बाढीपहिरो निम्त्याइरहेको छ । अस्ति भर्खर हामीले भोगेको प्राकृतिक विपत्ति भोगिरहँदा चीनको प्रकृति मैत्री विकास निर्माण आँखैअगाडि बारम्बार झलझली घुमिरहन्छन् ।
भूकम्पको पुन: र्निर्माण
छिङहाइ प्रान्तको युसुमा २०१० मा ७ दशमलव १ रेक्टरको भूकम्प गएको थियो जहाँ २ हजार मान्छे मरे, सयाँै घर भत्के । कम्युनिस्ट पार्टीका सदस्यले र जनमुक्ति सेना पुनर्निर्माणमा जुटे र ३ वर्षमा सम्पूर्ण घर निर्माण गरेर हस्तान्तरण गरे । यो पुनर्निर्माणका लागि पहिलो १ वर्ष डिजाइनको खाका कोरियो बाँकी २ वर्षमा एकैपटक पुनर्निर्माण सकेर घर हस्तान्तरण गरियो । भूकम्पको संझनाका लागि व्यवस्थित संग्रहालय छ तर बस्तीमा भूकम्पको कुनै नामो निसाना छैन । हाम्रो भने २०७२ सालको शक्तिशाली भूकम्प गएको १० वर्ष हुन लाग्यो तर हाम्रा बस्तीहरू नै भूकम्पका संग्रहालयजस्ता छन् ।
भूकम्प त हामीकहाँ पनि आएको छ र पुनर्निर्माण पनि भएको छ तर स्थिति भने धेरै फरक छ । नेपालको सबैभन्दा व्यवस्थित र सरकारको नेतृत्व गरेको पार्र्टी एमाले १० वर्षअघि आएको भूकम्पले भत्काएको आफ्नो केन्द्रीय कार्यालयको पुनर्निर्माण गर्न सकेको छैन । १ जना व्यापारीले घडेरीसहित कार्यालय बनाइदिने गरी भएको सम्झौता अहिले विवादमा परेको छ । यसले अन्य भूकम्प पीडितको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।
वृक्षरोपण
चाइनिजहरू वास्तवमै प्रकृति र वातावरण संरक्षणमा संवेदनशील छन् भन्ने त्यहाँका गतिविधिले देखाउँछ । बाटोघाटो निर्माण त प्रकृतिमैत्री छँदै छ त्यसमाथि सडकका किनारमा गरिएको वृक्षरोपण पनि अत्यन्तै व्यवस्थित छ । साना विरुवा होइन ठुलै हुर्केकै रुख रोप्ने चलन रहेछ त्यहाँ । हामीकहाँ पनि भन्न त वृक्षरोपणलाई अभियानकै रूपमा लैजाने भनिन्छ र रोपिन्छ पनि तर हुर्काउनतिर ध्यान पुग्दैन । रोप्दै साना विरुवा रोपेपछि हुर्कने कहिले ? अनि एकै ठाउँमा वर्षौंसम्म वृक्षरोपणको सिलसिला चलिरहन्छ ।
सडक किनारमा मात्रै होइन ४ हजार मिटरभन्दा उचाइमा रहेको हिउँ पर्ने ठाउँ युसको डाँडामा पनि रुख रोपेका मात्रै छैनन्, ससाना पानीका पाइप पु¥याएर सिँचाइको व्यवस्था गरिएको छ, थोपा सिँचाइजस्तै । वातावरण संरक्षणको नमुना त्यहाँ देख्न सकिन्छ ।
लोभलाग्दो बस्ती स्थानान्तरण कार्यक्रम
यसपटकको भ्रमणको क्रममा बस्ती स्थानान्तरण गरिएको देजी गाउँको भ्रमण महत्वपूर्ण लाग्यो । यो बस्ती स्तानान्तरण कार्यक्रम हाम्रालागि पनि अनुकरणीय हुन सक्छ । पहाडका टाकुरा टाकुरासम्म छरिएका बस्ती बाटो घाटो र पानी बिजुली पु¥याउन अत्यन्तै खर्चिलो छ । त्यसको उत्तम विकल्प भनेको बस्ती स्थानान्तरण । यस्तै दुर्गम टाकुराबाट सुगम र समथर जमिनमा स्थानान्तरण गरिएको नमुना बस्ती हो देजी गाउँ । स्थानीय भाषामा देजी भनेको खुसी हुँदो रैछ, अर्थात खुसी गाउँ ।
यो गाउँ छिङहाई प्रदेश, हुआङनान तिब्बतीयन स्वायत्त प्रिफेक्चरको जियान्चा काउन्टीमा पर्दछ । चीनको प्रसिद्ध ह्वाङ हो अर्थात एल्लो रिभरको पूर्व–उत्तरी किनारको बेसीमा छ यो गाउँ । ७० प्रतिशत तिब्बती बासिन्दा रहेको ठाउँलाई तिब्बती स्वायत्त इकाइ मानिन्छ । यो प्रिफेक्चर ह्वाङ्होको पूर्व–उत्तरी किनारमा अग्ला नंगा पहाड र नदी किनारमा बनेका टार र बेसी मिलेर बनेको छ । लेखाइ र पठनपाठन तथा सरकारी कामकाजमा तिब्बतीयन र चिनियाँ भाषा प्रयोग हुँदोरहेछ । भाषा र संस्कृतिको संरक्षण गर्ने चीन सरकारको नीतिअनुसार गाउँ र घरको बनोटमा तिब्बतीयन संस्कृति झल्कने गरी बनाइएको छ । हरेक साइनबोर्ड र संकेत तिब्बतियन र चिनियाँँ मण्डारिन भाषामा लेखिएको छ ।
यो नयाँ बस्तीमा १५ किलोमिटर टाढाको अति दुर्गम पहाडबाट यहाँ बसाइँ सारेर ल्याइएका २५१ परिवार बसोबास गर्छन् । उनीहरू आफूलाई चीन सरकारले नै दुःखको पहाडबाट ओसारेर सुखको मैदानमा ल्याएको ठान्छन् । बसाईं सरेर आएका तिब्बतियन मूलका आङ्वा पनि यस्तै ठान्छन् । आङ्वा पहिले जियान्चा काउन्टीमै पर्ने १५ किमि जति परको कुनै पहाडको टुप्पोमा बस्ने तिब्बतियन मूलका किसान परिवारका घरमूली हुन् । उब्जाउ जमिन नभएकोले गाउँको खेती किसानीको उब्जनीले लाउन नपुग्ने मात्रै होइन पानी पँधेरोको पनि असाध्यै दुःख थियो । विकासका पूर्वाधार पुग्न सकेका थिएनन् जीवन कष्टकर थियो ।
यो दुःखका पहाडकाबीच सरकारले उनीहरूलाई नयाँ ठाउँमा बसाइँ सर्ने कार्यक्रम ल्यायो । नयाँ ठाउँमा जान र त्यसमा घुलमिल हुन पो कसरी सकिएला भन्ने लागेर सुरुमा त उनीहरूलाई आफ्ना पुर्खाको थातथलो छाडेर हिँड्न मन लागेन । अन्ततः सरकारको अनुरोधमा यता बसाईं सर्न राजी भए । यता आएपछि आङवा र उनी जस्तै बसाईं सरेर आउनेहरूको जीवन सहज रूपमा चलेको छ । उनी भन्छन्, ‘अझै पहाडमै बसेको भए मैले अरू कति दुःख पाउँथेँ ।’
आङ्वाको जस्तै विभिन्न दुर्गम वस्तीबाट बसाईं सरेका २५१ परिवारको जीवनमा अहिले असाध्यै धेरै परिवर्तन आएको छ । सरकारी तथ्यांकअनुसार उनीहरूको सरदर वार्षिक औसत आय ९ हजार ८०० युआन पुगेको छ । उनीहरूको अम्दानीको मुख्य श्रोत पर्यटन हो । होमस्टे चलाउने पहिलो गाउँ बनेको छ यो । चीन सरकारले यसलाई राष्ट्रिय पर्यावरणीय सांस्कृतिक गाउँ भनेर सन् २०१९ मा नामकरण गरेको छ । राजनीतिक, सामाजिक, आर्थिक र भूगोलको हिसाबले नेपाल र चीनको तुलना नहोला तर भौगोलिक हिसाबले धेरै कुरा मिल्दोजुल्दो छ ।
पहाडी र हिमाली क्षेत्रको विकास निर्माणका लागि चीनले अवलम्बन गरेको नीति हाम्रा लागि पनि उपयोगी हुन सक्छ । सडक निर्माणमा सुरुङको प्रयोग मात्रै होइन डाँडाका टुप्पाको बस्ती सारेर सुगममा ल्याउन सके त्यसबाट बाटोघाटो, बिजुलीजस्ता भौतिक संरचना निर्माणमा धेरै खर्च जोगाउन सकिन्छ । हाम्रा प्रधानमन्त्रीको निकट भविष्यमा हुने चीन भ्रमणका बेला चीनको यस्ता अनुभवबाट सिक्ने कोशिस गरे हुने हो । तर, हाम्रा प्रधानमन्त्री स्वभावअनुसार २–४ अर्ती दिएर आउन बेर लगाउँदैनन् ।
प्रतिक्रिया