दैनिककरको भेल र सुनारखोलाको पहिरो तर्दा

काम सकेर तल गाउँ झर्याैँ । त्यो दिन गाउँमा विवाह रहेछ । ती अघिका उपभोक्तासहित सबै गाउँले त्यही विवाह भोजमा गइहाले । हामीलाई कसैले पनि बस्ने र खाने व्यवस्था गरेका रहेनछन् । सोचेँ, उनीहरूको स्वार्थ पूरा भइसकेपछि किन गर्थे ? अघि गरेको स्वागत सत्कार नै फिका लाग्यो ।

बालकराम देवकोटा

१५ असारको सिमसिमे पानी, लेकको जस्तो कुहिरो र हुस्सु लागिरहेको छ । अघिपछि पनि सामान्य बादल तथा पानी पर्दा केही नदेखिने कालिकोट सदरमुकाम मान्म बजार आज त झन् केही पनि देखिँदैन । ३ वर्ष पहिलेको कुरा हो, १५ असारको बिहानै कालिकोटका प्रजिअ रामहरी शर्मासँग २–३ दिन सदरमुकामभन्दा बाहिर गएर कृषि विकास कार्यालय कालिकोटका त्यसबेलाका विभिन्न सिँचाइ तथा अन्य कार्यक्रमको भुक्तानीका लागि अन्तिम अनुगमन, निरीक्षण तथा मूल्यांकन गर्ने निधो भयो ।

यसक्रममा जिल्लाका पलाँता, पचालझर्ना, सान्नीत्रीवेणी गाउँपालिका र रास्कोट नगरपालिका जानुपर्ने बताएँ । तर, उहाँले ‘यस्तो वर्षा भइरहेको छ बाटो असजिलो छ, अरू कसैलाई पठाए भइहाल्यो नि ! फेरि आज १५ असार, धान दिवस । हाकिमसाब धान दिवस नमनाउने ?’ भन्दै मलाई रोक्न खोज्नुभयो । तर म जानै पर्ने भएको थियो । प्राविधिक शाखा प्रमुख ई.वीरेन्द्र अधिकारी र साइट इन्चार्ज प्रेम देवकोटाले १ हप्ता पहिलेदेखि नै भन्दै थिए, ‘सर अरू त हामीले हेरिसक्यौँ पलाताको दैनिककरको सिँचाइ योजनामा हाकिम साबसहित जानुपर्ला जस्तो भएको छ, किनभने ठाउँ समाज र उपभोक्ता त्यति सहज छैनन् पहिलेदेखि नै विवादित ठाउँ हो ।’

मैले भित्रभित्रै सोचेँ, ‘यस्तो ठाउँमा किन प्रदेश मन्त्रालयबाट बजेटिङ हुन्छ, ? बटम टु टप प्लानिङ नभएर टप टु बटम प्लानिङ किन हुन्छ ? छोटकरी र सरल भाषामा भन्ने हो भने सेटिङमा बजेटिङ किन हुन्छ प्रदेशमा ? यस्तो ठाउँमा किन जाने ? नगएर नै भुक्तानी गरिदिन्छु ।’ फेरि सम्झेँ अल्छीले भविष्य नै बर्बाद गर्छ । फेरि अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा अन्तिम दिनमा सबै भुक्तानी दिन खोज्दा मलेनिकाको टिएसए सर्भर बन्द हुँदा थुप्रै भुक्तानी रोकिएको उदाहरण सम्झेर जाने निधो गरेँ । फोनबाटै कार्यालयमा भएका सबै कर्मचारीलाई त्यो दिनको धान दिवस मनाउने जिम्मा दिएर स्टाफ वीरेन्द्र अधिकारी, प्रेम देवकोटा, सहायक धनबहादुर बम र चालक कलमबहादुर मल्लसहित म पलाता दैनिककर गाउँतिर लाग्यौँ ।

कालिकोट सदरमुकाम मान्म बजार डाँडामा छ । त्यहाँबाट ओरालो लागेपछि जुम्ला–सुर्खेत मोटरबाटो भेटिन्छ । सुनार खोला–सेरीघाट–हुल्म बजार–खुलालु पक्की पुल काटिसकेपछि पल्लो कालीकोट प्रदेश निर्वाचन क्षेत्र नं. २ तत्कालीन समय २०३५ सालभन्दा पहिले जुम्ला जिल्ला अन्तर्गतका १८ दरा मध्येका ३ वटा दरा भेग सान्नीदरा, रास्कोटदरा र पलातादरा भएता पनि पछि २०३५ सालमा जुम्लाबाट फाटी कालीकोट जिल्लाको छुट्टै जिल्ला अथवा नेपालको कान्छो जिल्ला कायम भयो । अहिले नरहरिनाथ गाउँपालिकासहित यी ४ वटा गाउँपालिका कालिकोट जिल्लाको प्रदेश निर्वाचन क्षेत्र २ कायम भएका छन् ।
हामी बिहान ११ बजे सान्निघाट पुग्यौँ । यो ठाउँ कर्णाली राजमार्गको बाजुरा, हुम्ला र मुगु जाने मोटर बाटोको मुख्य जक्सन हो । यो ठाउँ कालीकोटको सान्नीत्रिवेणी रास्कोट र पचालझर्नाको सीमा क्षेत्र पनि हो । हामीले बिहानको खाना यहीँ खायौँ । कर्णालीको ताजा माछा मिठो थियो ।

हाम्रो गाडी पलाँताको थिर्पु बजारभन्दा अगाडि बढ्न सकेन । कर्णाली नदीको मुख्य सहायक नदी मुगु कर्णाली र हुम्ला कर्णाली मिसिएको ठाउँबाट पारी सवारी साधन जाने बाटो छैन । केवल झोलुंगे पुल मात्र छ । त्यसैले हाम्रो गाडी र चालकलाई त्यहीँ छाडेर झोलुंगे पुलबाट त्यो दिनको गन्तव्यस्थल दैनिककर गाउँतिर लाग्यौँ । थिर्पु पलाँता पालिकाको केन्द्र हो । यहाँ प्रहरीचौकी, स्यास्थ्यचौकी, उच्च माविसहितको सामुदायिक विद्यालय छ । केही वर्ष पहिले यहाँ कृषि सेवा केन्द्र पनि थियो । यहाँबाट दैनिककर पुग्न छिट्टै गए पनि ५ घण्टा लाग्छ भन्दै थिए साथीहरू । नदीको किनारै किनार हिँड्नुपर्छ अब ।

असारको मध्य महिना मनसुन सुरु भइसकेको पलाँताको लेक जसलाई माछा लेक भनिन्छ । यो लेकको हिउँ पग्लेकोले त्यहाँबाट आउने दैनिककर खोला सानो नदी भए पनि भेल ठुलो थियो । अब सुरुमै यही भेल तर्नुपर्ने भयो । सँगै गएका मेरा स्टाफ साथीहरू नदी तरेर पारी गइसकेका थिए । म मात्र वारी छालमा छु । नदी हेरेँ, डर लाग्यो । तर्न नसक्नेजस्तै भएँ । वीरेन्द्र र प्रेमले पारीबाट हौसला दिइरहेका थिए । १ पटक मात्र होइन यस्तै भेल ४ पटक तर्नुपर्ने कुरा मेरो पूर्व जानकारीमा थियो । मैले सोचेँ, अब यतैबाट फर्कन्छु । जे होला होला साथीहरूलाई नै उक्त ठाउँमा पठाउँछु । उनीहरूले नै हेरेर आउँछन् । त्यहाँबाट १५–२० मिटर मात्र तल ठुलो कर्णाली नदी छ । बगेँ भने त कर्णालीमा मिसिएर यहीँ सिद्धिन्छु । फेरि भित्रभित्र सम्झेँ सदरमुकामबाट यति टाढा आइसकेर फर्कें भने अरूले के भन्लान् ? ठाउँ नहेरी कसरी भुक्तानी दिने ?

म अलमलमै थिएँ । अलि तल ठुलो कर्णालीमा केही युवा पौडी खेलिरहेको देखेँ । मैले आफूले पनि पौडी खेल्न जानेको सम्झेँ । सानो उमेरमा जुम्लाको तिला नदीमा पौडी खेलेको र भेलमा आएका काठ दाउरा उतारेको सम्झेँ र नदी तर्ने निधो गरेँ । पारिबाट प्रेम र धनबहादुरलाई वारि छाल बोलाएँ । उनीहरू वारि आए र मसहित ३ जना एकआपसमा हात समाएर नदी तर्न लाग्यौँ । वीरेन्द्र आइफोनबाट हामी नदीको भेल तरिरहेको भिडियो खिचिरहे । यो भिडियो मेरो फेसबुकमा भाइरल नै भयो । जे होस्, हौसला भनौँ वा जिम्मेवारी वा सरकारी कामप्रतिको बफादारीले ४–५ पटक कहिले वारि छाल कहिले पारि छाल तर्दै हामी दैनिककर गाउँतिर लाग्यौँ ।

पानी परिरहकोले चिप्लो बाटो, भिर, पहाड, कन्दरा, छाल, उकालो, ओरालो काट्दै हामी साँझको ६ बजे दैनिककर गाउँ पुग्यौँ । उपभोक्ता समितिका सदस्यले हामीलाई फूलमालाले सत्कार गरे । जोसुकै नयाँ मान्छे गाउँमा पस्यो भने अबीर र मालाले सत्कार गर्ने यहाँको चलन रहेछ । यो चलन सायद माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वकालमा सुरु भएकोजस्तो लाग्यो । यहाँको प्रायः सबै दलित बस्ती रहेछ । यो ठाउँ तत्कालीन माओवादीको सेल्टर नै रहेछ । त्यसैले सरकारी तवरबाट कुनै पनि कार्यालय प्रमुख त्यहाँ नपुगेको जानकारी भयो । त्यसैले पनि हाम्रो टिमलाइ फूलमाला र अबिरले स्वागत गरेको महसुस भयो ।

त्यहाँसम्म पुग्दा लुथु्रक्कै थाकिसकेका थियौँ । दिन लामो भएकोले साँझ परेको थिएन । आयोजना स्थल पुग्न १ घण्टा ठाडो उकालो अझै हिँड्नुपर्ने रहेछ । उपभोक्ता समितिका सदस्यसहित आयोजनास्थल पुगी नाप जाँच गर्र्यौं ।

काम सकेर तल गाउँ झर्र्यौं । त्यो दिन गाउँमा विवाह रहेछ । ती अघिका उपभोक्तासहित सबै गाउँले त्यही विवाह भोजमा गइहाले । हामीलाई कसैले पनि बस्ने र खाने व्यवस्था गरेका रहेनछन् । सोचेँ, उनीहरूको स्वार्थ पूरा भइसकेपछि किन गर्थे ? अघि गरेको स्वागत सत्कार नै फिका लाग्यो । साँझको ८ बजिसकेको थियो । शरीर पुरै गलेको र भोक लागिसकेको थियो । उपभोक्ताहरू कति स्वार्थी हुँदा रहेछन् भन्ने कुरा त्यो घटनाले प्रष्ट पार्यो ।

अब बास बस्ने व्यवस्थाको खोजी हामी आफैँले गर्नुपर्ने भयो । १ घण्टाको ओरालो झरेर तल खोलाको छेउमा २–३ वटा पानी घट्ट र २–४ वटा घर भेटायौँ । यो ठाउँलाइ दुम्सी भन्दा रहेछन् । शुक्ल पक्ष भएकोले राती उज्यालो थियो । १–२ वटा घरमा बास माग्यौँ । घरमा लोग्ने मानिस नभएको कारणले बास पाइएन । अन्तिममा एक ठाउँ जुम्लाबाट माइत भएकी बहिनी रहिछन् । उनैले आफ्नो घरपरिवारलाई सम्झाइबुझाइ हामीलाई त्यो रातको खाना र बास बस्ने व्यवस्था गरिदिइन् ।

साँझको खाना खाइसकेपछि हामी चारै जना एउटा सानो अँध्यारो कोठामा सुत्यौँ । धेरै थाकेकोले निदाएछौँ । बिहान उज्यालो भएको पत्तै भएन । बिहान ७ बजे दैनिककरको दुम्सीबाट हामी थिर्पुतिर फक्र्यौं । थिर्पुको पुल काटी हामी हाम्रो हिजो छोडेको गाडी भएको ठाउँमा पुग्दा गाडी चालक मल्ल त्यहाँ थिएनन् । यता उता खोज्यौँ । धेरैपछि उनी हामीतिर आए र हामीसँग साहै्र रिसाएको लक्षण देखाए । कारण, अघिल्लो राती उनलाई खाने बस्ने व्यवस्था राम्रो भएनछ ।

हामी त्यो दिन रास्कोट आएर खाना खाने र त्यहाँ भएका सिँचाइ योजना निरीक्षण गर्ने कार्यक्रम थियो । चालकले हाम्रो गाडी बेस्सरी रफ तरिकाले कुदाइरहेका थिए । जे जस्तो भए पनि उनलाई कसैले केही नभन्ने निक्र्योल हामीले पहिले नै गरिसकेका थियौँ । नभन्दै हाम्रो गाडी रास्कोटको उकालोमा बिग्रियो । ओर्लेर हेर्र्यौं डिजेल ट्यांकी फुटेछ । अब हाम्रो तय भएको कार्यक्रम लथालिंग भयो । १ बजिसक्यो, बिहानको खानाको अत्तोपत्तो थिएन ।
अब विकल्पको खोजी गर्र्यौं । रास्कोटका मेयरलाई फोन गरेँ । उनी जिल्ला बाहिर रहेछन् । रास्कोटमा भएका कृषि सहकारीलाइ फोन गरेँ । अन्तमा महिला सहकारी अध्यक्षले ३ वटा बाइकको व्यवस्था गरिदिँदा हामी आयोजनास्थल पुग्यौँ । सिँचाइलगायत विभिन्न कृषि कार्यक्रम कार्यान्वयनको निरीक्षण गरी सो दिन रास्कोटमा नै बस्यौँ ।

तेस्रो दिन बिग्रेको हाम्रो गाडीलाई मान्मबाट मिस्त्री बोलाई सामान्य मर्मत गरी सान्नीत्रिवेणी हुँदै मान्मतिर फक्र्र्यौं । सान्नीत्रिवेणी पालिकाअन्र्तगत कर्णाली नदी रोड करिडोरसँग जोडिएको नेपाल सरकारको दीर्घकालीन तथा गौरवसाली विद्युत् आयोजना, जुन आयोजना नेपाल सरकारका स्थायी कर्मचारीको सञ्चयकोषको सेयर लगानीबाट निर्माणाधिन छ, सुरुङभित्र पसी अवलोकन गर्यौँ । तर, रेङ्गिला जिते हँुदै खुलालु पुल आउने क्रममा मालवाहक ट्रक बिग्रेकोले बाटो बन्द भएर करिब ३ घण्टा जाममा पर्र्यौं । त्यहाँ एउटा ठुलो गाडी ब्रिग्रने बित्तिकै पूरा बाटो नै बन्द हुनेरहेछ ।

बल्लतल्ल बिग्रेको ट्रकलाई साइडलगाएर हामी खुलालु पुल हुँदै जितेको डरलाग्दो भिर जसलाई ज्यानमारा भिर पनि भन्दछन् पार गरी प्रहरी सुरक्षा पोस्ट रहेको हुल्म सानो बजारमा पुग्यौँ । हुल्मको सुरक्षा पोस्टले साँझको ७ बजेपछि सरकारी होस् वा अन्य जुनसुकै गाडीलाई दुर्घटना सुरक्षा दृष्टिले मान्मबजारतिर आउन दिँदैन । त्यतिखेर हल्का पानी परिरहेको थियो । मान्म बजार नजिकै रहेको सुनार खोला अलिकति वर्षा हुनेबित्तिकै पहिरो आइहाल्ने । झन २–३ दिनदेखि पानी परिरहेकोले पहिरो नआउने कुरै भएन ।

हामी तिला कर्णाली नदीको रोड करिडोरमा रहेको हुल्म बजारमा रातिको ११ बजे पुगेका थियौँ । हाम्रो सुरक्षालाई मध्यनजर गर्दै हुल्म बजारमा रहेको सुरक्षा पोस्टले पारी सुनार खोलामा पहिरो आएको छ, तपाईंहरू नजानुहोस् यतै बस्नुहोस् भन्दै हामीलाई रोके । मैले पनि यति राती किन पारि जाने यतै हुल्ममा बसौँ भन्ने सोचेको थिएँ । यत्तिकैमा हाम्रो ड्राइभरले भने ‘भाले गाडी, भाले ड्राइभर, भाले हाकिम हामीलाई कसैले रोक्दैन पहिरो होस् कि सैरो होस्’ भन्ने बित्तिकै सुरक्षामा खटिएका प्रहरी भाइले ‘भाले हौ त साले हौ पारी गए थाहा हुन्छ’ भन्दै हामीलाई छोडिदिए ।

रातीको १२ बजिसकेको थियो । हुल्मबाट सेरीघाट हुँदै सुनारखोला १५ किलोमिटर टाढा छ । जब सुनार खोला पुग्यौँ त्यहाँको पहिरोको कारणले सबै गाडी जामको लस्कर देखियो । त्यहाँ नजिक होटल पनि छैनन् । यत्तिकैमा हाम्रो गाडी चालक मल्लले हाम्रो गाडीलाई फोर ह्विल लगाएर पहिरोमा हालिहाले । माथिबाट दहीजस्तो हिलो पहिरो बगिरहेको थियो । ड्राइभरले जबरजस्ती गाडी पहिरोमा हालेको हामीले थाहा पाइहाल्यौँ । हाम्रो गाडी पहिराको बीचमा पुगेर रोकियो । जस्तोसुकै फोरह्विल लगाए पनि गाडी अगाडी बढेन । हिलोमा नराम्रोसँग फस्यौँ । अगाडि पछाडि पहिरो छ । हामी बीचमा छौँ । अन्त्यमा उही ड्राइभर ‘भागौँ भागौँ’ भन्दै आफू नै गाडीबाट हामफाली हिलोमा अगाडि बढे । अब केही उपाय भएन । हामी पनि गाडीबाट निस्क्यौँ । जब बाहिर हिलोमा हिँड्न लाग्यौँ तब पहिरोमा खुट्टा भासिन लागे । हामी तीनै जनाले एकअर्काको हात समातेर जेनतेन पहिरो पार गर्यौँ । त्यहाँ मेरो एउटा जुत्ता नै हरायो । हामी त निस्क्यौँ तर हाम्रो बोलेरो गाडी पहिरोमा नै फस्यो ।

त्यतिखेर रातको करिब १ बजिसकेको थियो । हामी त बाँच्यौँ तर हाम्रो गाडी पैरोमा पुरिने भयो । अब त केही सोच्नुपर्ने भयो । यत्तिकैमा कलिकोटका प्रजिअ रामहरी शर्मा र डिएसपी सिद्धराज न्यौपानेलाई सबै कुरा बताउँदै फोन गरेँ । उहाँहरूले मध्यराती भए पनि मेरो फोन उठाउनु भयो र हाम्रो उद्धारको लागि तत्काल आफ्नो गाडी पठाइदिनु भयो । आफ्नो गाडी पहिरोमा छाडेर आफू मात्र मान्म सदरमुकाम आउन मेरो मनले मानेन । सोचेँ, यदि पहिरोमा फसेको गाडी आँखैअगाडि बगेर तिला कर्णालीमा मिसियो भने त कसको के लाग्छ र हेरेरै जाम्ला, होइन भने केही उपाय त निकाल्नै पर्छ । यही समयमा गाडी जाममा परेका यात्रुहरू र गाडी स्टाफ पनि आए । केही समयपछि त्यहाँ रहेको पञ्चदेवल माविको खेलमैदान बनाउन एउटा जेसिभी भएको थाहा भयो । त्यसैको खोजीमा लाग्यौँ । रातीको समय भएकोले जेसिभी एक ठाउँ, ड्राइभर अर्कै ठाउँ सुतेको थाहा भयो । सबैलाई परिचालन गरियो हारगुहार गरियो । अन्तमा ड्राइभर भेटिए । उनले हामी अप्ठेरोमा परेको थाहा पाए । धेरै रकम बार्गेनिङ गरे । अफ्ठेरोमा सहयोग गर्ने मानवीय धर्मलाई पन्छाउन खोजे । जे होस करिब १० मिनेटको प्रयासपछि १ साइड खोली ३० हजारमा हाम्रो फसेको गाडीलाई निकाले । अब भने सन्तोषको सास फेरि हामी हाम्रै गाडीबाट र जाममा फसेका अन्य गाडी पनि मान्म बजार आयौँ । त्यतिखेर रातको २ बजिसकेको थियो ।

कालिकोट जिल्ला भौगोलिक विकटता भए पनि यहाको प्राकृतिक सम्पदा जैविक विविधता र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । राष्ट्र गुरु योगी नरहरिनाथको जन्म यहीँ भएको हो । नेपालको सबैभन्दा लामो झर्ना पचालझर्ना यहीँ छ । यो नेपालको तपोभूमि तथा धार्मिक स्थल बडिमालिकालगायत जुम्लाका लागि र रारा र सिजा उपत्यका प्रवेशका लागि प्रवेशद्वार यही हो । दैनिक सञ्चालन नभए पनि २–२ पटक उद्घाटन भएको कोटबाडा सिमथली विमानस्थल यहीँ छ । जुन विमानस्थल बनाउन आएका धादिङ जोगिमाराका थुप्रै कामदारले माओवादी द्वन्द्वकालमा माओवादी र तत्कालीन नेपाली सेनाको दोहोरो मारबाट ज्यान गुमाउनु पर्यो । यसबारेमा मदन पुरस्कार विजेता लेखक मोहन मैनालीले ‘मान्ठ डराएको जुग’ नामक पुस्तकमा विस्तृत रूपमा प्रस्तुत गरेका छन् ।

कृषि क्षेत्रलाई चाहिने मुख्य ३ वटा हावापानी उष्ण, उपोष्ण र शीतोष्ण हावापानी यहीँ पाइन्छ । अलैँची, कफी, लिची, केरा, सुन्तला, आँप, रुद्राक्षदेखि स्याउ ओखर आरू आरुबखडासम्म यहीँ फल्छ । भनिन्छ कालिकोट जिल्ला कृषि क्षेत्रका लागि स्वर्णभूमि हो । यति हुँदाहँुदै पनि कर्मचारीहरू कालिकोटमा काम गर्न त्यति सहज मान्दैनन् । यस्को मुख्य कारण राजनीतिक असहजता हो । भौगलिक असहजता हो ।

कालिकोट कृषि विकास कार्यालयमा २ वर्ष कार्यालय प्रमुख भएर काम गर्दा फिल्डमा कार्यक्रम अनुगमन निरीक्षणमा जाँदा थुप्रै अनुभूतिहरू भए तर यो लेखमा प्रस्तुत अनुभूति जीवनमा भोगेको विशेष हो ।

(लेखक कृषि विकास कार्यालय कालीकोटका तत्कालीन प्रमुख हुन्)

प्रतिक्रिया