बन्दीको भिडियो क्लिप सार्वजनिक गर्दै हमास

गाजा । गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको आक्रमणपछि गाजामा राखिएको इजरायली बन्धक सासा ट्रुपानोभको नयाँ क्लिप शुक्रबार जारी गरेको छ । बुधबार जारी गरिएको अघिल्लो भिडियोमा आफन्तहरूले पहिचान गरेका ट्रुपानोभले इजरायलको शासक गठबन्धनका सदस्य सेफार्डी अल्ट्रा–अर्थोडक्स पार्टी सासका नेता आर्यह डेरीसमक्ष आफू र गाजामा रहेका अन्य बन्धकहरूलाई मुक्त गर्न सहयोग गर्न अपिल गरेका थिए ।

सास पार्टीले यहुदी धार्मिक कर्तव्यअनुसार सम्भव भएसम्म बन्धकहरूलाई मुक्त गराउन सहयोग गर्दछ । सेप्टेम्बरमा डेरीले बन्धकहरूलाई फिर्ता ल्याउने कार्यलाई ‘पवित्र कर्तव्य’ भनेर वर्णन गरेका थिए ।

२९ वर्षीय ट्रुपानोभ रूस–इजरायली द्विनागरिक हुन् । उनलाई गाजा सीमामा निर ओज किब्बुत्जबाट उनकी प्रेमिका सापिर कोहेनसँगै अपहरण गरिएको थियो । उनका आमा र हजुरआमा पनि अपहृत भएका थिए र नोभेम्बर २०२३ मा एक हप्ताको युद्धविराम र बन्धक–कैदी विनिमयमा मुक्त भएका थिए ।

उनका पिता भिटाली सन् २०२३ को अक्टोबर ७ को आक्रमणमा मारिएका थिए । उक्त आक्रमण इजरायलको इतिहासमै सबैभन्दा घातक थियो । यो इस्लामिक जिहादद्वारा जारी गरिएको ट्रुपानोभको चौथो भिडियो हो । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पछिल्लो क्लिप सार्वजनिक हुनुअघि गरेको टिप्पणीमा ट्रुपानोभ र अर्का बन्धक म्याक्सिम हर्किनको रिहाइको आह्वान गरेका थिए ।

अहिले गाजा युद्धमा दुवै तर्फबाट युद्ध अपराधका घटना भएका छन् । विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेड्रोस गेब्रेयासले १२ पारा मेडिक्सको इजरायली आक्रमणमा जयन गएकोमा आपत्ति जनाएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले पनि २४ घन्टाको अन्तरालमै इजरायली आक्रमणमा ५९ जनाको ज्यान जानुको साथै १८४ जना घाइते भएको जनाएको छ । सोही समयमा उत्तरी गाजामा २८ जनाको ज्यान जानुको साथै १२० जना घाइते पनि भएका थिए । इजरायलले पछिल्लो समय दक्षिणी लेबनानको लावातियामा आक्रमण गरी रहेको छ । यसैगरी जाबालियामा मानिसहरूको बसोबास रहेको घर नै ध्वस्त भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया