३० प्रतिशत उडान कटौती गरिए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण गर्ने भाडा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीहरूले घोषित रूपमै १५ देखि ३० प्रतिशतसम्म भाडा वृद्धि गरेका छन् भने आन्तरिक हवाई सेवा कम्पनीहरूले अधिकतम भाडादरका टिकट मात्रै बेच्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत तथा बिस्तारका लागि भन्दै यही २३ कात्तिकदेखि दैनिक १० घण्टा उडान बन्द गरेको छ । यसअघि दैनिक ४ घण्टा उडान बन्द हुँदै आएकोमा १० घण्टा उडान बन्द हुन थालेपछि साविकको भन्दा ३० प्रतिशत उडान कटौती भएको हो । उडान कटौती हुँदा यात्रुको चाप बढ्नु स्वभाविकै हो । यात्रुको चाप बढेसँगै विमान सेवा कम्पनीहरूले भाडा वृद्धि गरेका हुन् । भाडावृद्धि भएसँगै विदेशी पर्यटकहरूले धमाधम नेपाल भ्रमणको कार्यक्रम रद्द गर्न थालेको पर्यटन व्यवसायीहरूले जनाएका छन् ।
यसैगरी वैदेशिक रोजगारीमा जाने नेपाली कामदरको पनि लागत बढेको भन्दै म्यानपावर व्यवसायीहरूले आपत्ति प्रकट गरेका छन् । यस विषयलाई लिएर शुक्रबार पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको सक्रियतामा शुक्रबार अन्तर मन्त्रालय बैठक बसेको छ ।
पर्यटनमन्त्री पाण्डे, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीलगायत सरोकारवालाहरू समेतको बैठकले अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले एकलौटी भाडा वृद्धि गरेको विषयमा छलफल गरेको छ । बैठकमा पर्यटन व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीहरूले यस विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत दैनिक २० घण्टा उडान हुने गरेकोमा घटाएर दैनिक १४ घण्टा मात्रै उडान गर्न पाउने व्यवस्था गरिएपछि ३० प्रतिशत उडान कटौती हुनु स्वभाविकै हो । ३० प्रतिशत उडान कटौती हुनु भनेको विमान सेवा कम्पनीहरूका लागि निकै ठूलो घाटा हो । खासगरी अन्तरिक विमान सेवा कम्पनीहरू मर्कामा परेका छन् ।
उडान कटौती भयो भन्दैमा उनीहरूले आफूसँग भएका विमानहरू तत्काल बिक्री गर्ने कुरा आउँदैन । कर्मचारी कटौतीको कुरा पनि तत्काल संभव हुँदैन । इन्धन बाहेक उनीहरूको साविकको खर्च घट्दैन । उनीहरूले आफ्नो खर्च उठाउने भनेको यात्रुहरूसँग भाडा लिएर नै हो । अन्तर्राष्ट्रिय उडान कम्पनीहरूका लागि अन्य गन्तव्य खोज्ने विकल्प थियो, तर विकल्प हुँदाहुँदै उनीहरूले भाडा बढाए । आन्तरिक विमान सेवा कम्पनीका लागि भने अर्को गन्तव्य खोेज्ने विकल्प छैन । त्यसैले उनीहरूले पनि भाडा वृद्धि गर्ने संभावना बढेको छ ।
अन्तरिक विमान सेवा कम्पनीहरूले अहिलेसम्म घोषित रूपमा भाडा वृद्धि गरिसकेका छैनन् । तर अधिकतम भाडा दरका बाहेक अरू टिकट बेच्न छाडिसकेका छन् । विमान सेवा कम्पनीहरूलाई यात्रुको चाप अनुसार न्यूनतम र अधिकतम भाडा निर्धारण गरिएको हुन्छ । उडान कटौतीपछि यात्रुको चाप बढेकोले न्यूनतम भाडा दरका टिकट बिक्री बन्द भएको छ । अधिकतम र न्यूनतम भाडामा करिब ४० प्रतिशतको अन्तर हुन्छ । यो भनेको ठूलै अन्तर हो ।
हवाई भाडावृद्धि भएको विषयलाई लिएर ३ जना मन्त्रीहरू एकै ठाउँमा बसी सरोकारवालासँग छलफल गर्नु भनेको राम्रो कुरा हो । भाडावृद्धिको विषयमा सरकारले गम्भीरतापूर्वक चासो लिएको छ भन्ने संकेत हो यो । तर, भाडा वृद्धिको जड भनेकै लामो समयसम्म विमानस्थल बन्द गर्नु हो । तत्कालै मर्मत तथा बिस्तार थालिहाल्नुपर्ने अपरिहार्य व्यवस्था थियो कि थिएन ? नागढुंगा सुरुङ मार्ग तथा पृथ्वी राजमार्गको बिस्तार सम्पन्न हुन लाग्ने अबको १ वर्षको अवधिसम्म पर्खन सकिने अवस्था थियो कि थिएन ?
काठमाडौं– निजगढ फास्ट ट्रयाक सञ्चालन हुने अबको २ वर्षको अवधिसम्म पर्खन सकिने अवस्था थियो कि थिएन ? भन्ने कुरा विमानस्थलसँग सम्बन्धित प्राविधिकहरूलाई नै बढी थाहा होला । तर मर्मत तथा बिस्तारका लागि दैनिक १० घण्टा बन्द गर्नुपर्ने आवश्यकता थिएन भन्ने कुरा सबैलाई थाहा हुने विषय हो । लगातार ८ घण्टाभन्दा बढी मजदुरलाई काममा लगाउन नपाइने कानुनी व्यवस्था छ । त्यसैले मर्मतको काम एक ‘सिफ्ट’मा मात्रै हुन्छ ।
साविकमा बन्द हुने गरेको ४ घण्टालाई मर्मतका लागि उपयोग गरिएको भए कत्ति पनि उडान कटौती गर्नुपर्ने थिएन । मजदुरलाई लगातार काममा लगाउन पाउने अवधि ८ घण्टा मात्रै बन्द गरिएको भए पनि यति धेरै उडान कटौती गर्नुपर्ने थिएन ।
प्रतिक्रिया