तेहरान । इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका गलत नीतिहरूको पुनरावलोकन गर्ने अवसर भएको बताएको छ ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै जनवरीमा ह्वाइट हाउस फर्कन लागेका ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानमाथि अधिकतम दबाबको रणनीति अपनाएका थिए ।
विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बगाईलाई उद्धृत गर्दै सरकारी समाचार संस्था आईआरएनएले भनेको छ, ‘विगतमा अमेरिकी विभिन्न सरकारका नीति र दृष्टिकोणसँग हाम्रो निकै तितो अनुभव छ ।’ ट्रम्पको जित विगतका गलत नीतिको पुनरावलोकन गर्ने अवसर भएको उनले बताए ।
इरान र संयुक्त राज्य अमेरिका सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै एकअर्काका विरोधी थिए । इस्लामिक क्रान्तिले पश्चिमा समर्थित शाहलाई सत्ताच्युत गरेको थियो भने ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ देखि २०२१ सम्म इरानसँगको सम्बन्धमा थप तनाव बढेको थियो ।
बुधबार अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी घोषणा हुनुअघि इरानले अमेरिकी निर्वाचनलाई असान्दर्भिक भन्दै अस्वीकार गरेको थियो । सरकारका प्रवक्ता फातेमेह मोहजेरानीले भने, ‘संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानको सामान्य नीतिहरू तय गरिएको छ, को राष्ट्रपति बन्छ भन्ने कुराले केही फरक पार्दैन, जनताको जीविकोपार्जनमा कुनै परिवर्तन नआओस् भनेर योजना बनाइसकिएको छ ।’
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१५ को इरान आणविक सम्झौताबाट अमेरिकालाई एकतर्फी रुपमा फिर्ता भएको घोषणा गरेका थिए भने इस्लामिक गणतन्त्रमाथि कडा प्रतिबन्ध लगाउनु भएको थियो ।
ट्रम्पको पहिलो कार्यकाल रहेकै समय सन् २०२० मा अमेरिकाले बग्दाद विमानस्थलमा गरेको हवाई आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोरका जनरल कासिम सुलेमानीको मृत्यु भएको थियो ।– रासस, एएफपी
प्रतिक्रिया