काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रंगशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्ध पहिला ब्याटिङ गरेको हो । आज केही बेर अघिबाट सुरु भएको खेलमा १२औँ ओभर सकिँदा नेपालले कुवेतविरुद्ध ३ विकेटको क्षतिमा ८१ रन बनाएको छ ।
बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । बुधबारको खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो ।
कुवेत र युएईबीच भएको पहिलो खेलमा युएईले १०६ रनको अन्तरले कुवेतलाई हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
प्रतिक्रिया