पेरिस । कमला ह्यारिसमाथि अमेरिकी निर्वाचनमा आश्चर्यजक जित हासिल गरेपछि विश्वभरका नेताहरू बुधबार डोनाल्ड ट्रम्पलाई बधाई दिन तत्पर देखिएका छन् ।
उनको चुनावी जित पुष्टि हुनुअघि नै धेरै व्यक्त गरिएका पहिलो प्रतिक्रियाहरू यस्ता छन् –
जापान : नयाँ उचाइ
प्रधानमन्त्री सिगेरु इसिबाले जापान–अमेरिका गठबन्धन र जापान–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन ट्रम्पसँग नजिकबाट काम गर्ने आशा गरेको पत्रकारहरूलाई बताएका छन् ।
दक्षिण अफ्रिका
सन् २०२६ मा अमेरिकाभन्दा अघि आगामी वर्ष जी २० को अध्यक्षता सम्हाल्ने दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई सन्देशमा ‘हाम्रा दुई राष्ट्रबीचको सहयोगका सबै क्षेत्रहरूमा नजिक र पारस्परिक लाभदायक साझेदारी जारी राख्न’ तत्पर रहेको बताएका छन् ।
साउदी अरेबिया : नजिकको सम्बन्ध
साउदी अरेबियाका राजा सलमान र उनका छोरा, वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पलाई पठाएको तारमा राजा सलमानले दुई मित्र देश र जनताबीचको नजिकको सम्बन्धलाई सबैले सबै क्षेत्रमा बलियो र विकसित गर्न चाहन्छन् भन्दै प्रशंसा गर्नुभएको आधिकारिक साउदी प्रेस एजेन्सीले जनाएको छ ।
कतार : सुरक्षा र स्थिरता
गाजा द्वन्द्वमा प्रमुख मध्यस्थकर्ता र मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डाको आतिथ्यकर्ता कतारका अमिर शेख तमिम बिन हमद अल–थानीले क्षेत्र र विश्वव्यापी रूपमा सुरक्षा र स्थिरता प्रवर्द्धन गर्न फेरि सँगै काम गर्न तत्पर रहेको बताएका छन् ।
टर्की : मेरा मित्र ट्रम्प
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले ‘मेरा मित्र भन्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ‘टर्की–अमेरिका सम्बन्ध बलियो हुनेछ, क्षेत्रीय र विश्वव्यापी संकट र युद्धहरू, विशेषगरी प्यालेस्टिन मुद्दा र रुस–युक्रेन युद्ध समाप्त हुनेछन् भन्ने मलाई आशा छ’, उनले वक्तव्यमा भनेका छन् ।
इजिप्ट : शान्ति प्राप्ति
इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले ट्रम्पको ह्वाइट हाउस फिर्तीले मध्यपूर्वमा शान्ति ल्याउन मद्दत गर्न सक्ने आशा व्यक्त गरेका छन् । ‘म उहाँलाई सबै सफलताको कामना गर्छु र सँगै शान्ति प्राप्त गर्न, क्षेत्रीय स्थिरता कायम राख्न र इजिप्ट–संयुक्त राज्य अमेरिकाबीचको रणनीतिक साझेदारी सुदृढ गर्न तत्पर छु’, उनले भनेका छन् ।
दक्षिण कोरिया : गठबन्धन अझ उज्यालो चम्कने
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले ट्रम्पलाई बधाई दिँदै भनेका छन्, ‘तपाईंको बलियो नेतृत्वमा, दक्षिण कोरिया–अमेरिका गठबन्धन र अमेरिकाको भविष्य अझ उज्यालो चम्कनेछ । तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु ।’
इटाली : हार्दिक बधाई
इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनीले ट्रम्पलाई हार्दिक बधाई दिएका छन् । ‘इटाली र संयुक्त राज्य अमेरिका अटल गठबन्धनद्वारा जोडिएका भगिनी राष्ट्रहरू हुन्’, उनले भनेका छन् ।
हङ्गेरी : सबैभन्दा ठूलो पुनरागमन
युरोपमा ट्रम्पका सबैभन्दा नजिकका सहयोगी हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले यो परिणामलाई सम्भवतः पश्चिमी राजनीतिक इतिहासमा सबैभन्दा ठूलो पुनरागमन भएको बताएका छन् ।
‘उनीहरूले उहाँलाई जेलको धम्की दिए, उहाँको सम्पत्ति खोसे, उहाँको हत्या प्रयास गरे, अमेरिकाको सम्पूर्ण मिडिया जगत उहाँको विरुद्धमा गयो र पनि उहाँ विजयी हुनुभयो,’ उनले फेसबुकमा लेखेका छन् ।– रासस, एएफपी
प्रतिक्रिया