काठमाडौँ । ३० कात्तिकबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको फिल्मको ट्रेलर फिल्मका मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।
ट्रेलरमा सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई स्थान दिइएको छ । विशेषतः ट्रेलरले फिल्मले पहाडी–मधेसी मेलमिलापको खोजी गरेको देखाएको छ । फिल्ममा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन् ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ । फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिकामा छन् । नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा दीपेन्द्र गौचनको कथा र लेखन छ ।
फिल्मको यसअघि संवादरहित टिजर र गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।
प्रतिक्रिया