हर्ष र उमंगको चाड तिहार सुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म ५ दिन विश्वभरीका नेपालीहरूले उल्लासका साथ तिहार पर्व मनाउँछन् । नेपालीहरूले परम्परादेखि नै मनाइँदै आएका जीवन्त चाड पर्वमध्ये तिहार निकै पुरानो युुगदेखि मनाइँदै आएको अनुमान सहजै गर्न सकिन्छ । समाजशास्त्रीहरूका अनुसार ढुंगे युगमा जीवजनावरहरू मरेको सूचना दिने हुनाले मानिसका लागि काग सबैभन्दा महत्वपूर्ण मानिन्थ्यो । कागले दिएको सूचनाका आधारमा मानिसहरूले आफ्नो आहाराको खोजी गर्थे । सायद कागको पूजा गर्ने परम्परा त्यतिबेलादेखि नै सुरु भएको हुनुपर्छ । ढुंगे युगपछि सिकारी युग सुरु भयो । सिकारी युगमा कुकुरको सबैभन्दा बढी महत्व हुने नै भयो । सायद त्यही बेलादेखि नै कुकुरको पूजा गर्ने परम्परा सुरु भएको हुनुपर्छ । ढुंगेयुगपछि पशुपालनको युग सुरु भयो । पशुपालनको युुगमा गाईको सर्वाधिक महत्व हुने नै भयो, सायद त्यतिबेलादेखि नै गाईको पूजा गर्ने परम्परा सुरु भएको हुनुपर्छ ।
पशुपालनको युगपछि खेतीपातीको युग सुरु भयो, खनजोतका लागि गोरु प्रयोग गरियो । सायद त्यही बेलादेखि गोरुलाई पूजा गर्ने परम्परा सुरु भएको हुनुपर्छ । यसरी तिहार पर्वले ढुंगेयुगदेखि पशुपालनको युगसम्मको प्रतिनिधित्व गरेको पाइन्छ । अहिले औद्योगिक युग सुरु भइसकेको छ । औद्योगिक युग भनेको खासगरी आर्थिक युग हो । त्यसैले तिहारलाई आर्थिक पर्वको रूपमा पनि लिने गरिन्छ । हाम्रो देशका व्यापारिक वर्गको आर्थिक वर्ष तथा नयाँ वर्ष पनि तिहारे औँशीबाटै सुरु हुन्छ । नेपाल संवत्को थालनी कुनै राजा महाराजाबाट नभएर प्रख्यात व्यापारी शंखधर साख्वाद्वारा भएका कारण पनि यसको पष्टि हुन्छ ।
सरकारी स्तर अर्थात राज्यस्तरबाटै मनाइने चाडपर्वमध्ये बडादशैँलाई नेपालको सबैभन्दा ठूलो चाड मानिएको छ, तर जनस्तरमा मनाइने मध्ये तिहार सबैभन्दा ठूलो चाड हो । किनकी तिहार चाडले नेपालको सबै भूगोल तथा समुदायलाई समेटेको छ । विशेष गरी तिहार पर्व विश्वभरीका हिन्दू धर्माबलम्बीहरूले विशेष रूपमा मनाउँछन्, तर नेपाली समाजमा भने तिहार पर्व निश्चित धर्मसम्प्रदाय विशेषमा मात्रै सीमित छैन । बौद्धमार्गी, किराँत, प्राकृतिक पुजक सबैले उत्तिकै महत्वका साथ मनाउने गर्छन् । तिहार पर्व मनाउने नेपाली शैली मौलिक पनि छ । पशुपक्षीहरूको पूजा, भाइटीका, देउसी–भैलो तथा नयाँ वर्षको आरम्भ हाम्रा मौलिकता हुन् । यस्तो प्रचलन नेपाली जातिबाहेक अन्यमा खासै देखिँदैन ।
ढुंगेयुगदेखि मनाउन थालिएको तिहार पर्व मनाउने शैली अहिलेको औद्योगिक युगसम्म आइपुग्दा थपघट हुनु स्वभाविकै हो ।
किनकी विश्वव्यापीकरणसँगै नेपाली समाजमा पनि धेरै परिवर्तन भएको छ । हिजो धनको प्रतिकका रूपमा गाईलाई मानिन्थ्यो, तर अहिले रुपैयाँ पैसा (मुद्रा) ले त्यसको ठाउँ लिएको छ । त्यसैले तिहारमा धनको पूजा गर्ने सिलसिलामा गाईको महत्व हराउँदै गएको छ । हिजो समय सूचक घडी नहुँदा तोप वा बन्दुक पड्काएर वा त्यस्तै आवाज आउने पदार्थ पड्काएर साइत सुरु भएको सूचना दिइन्थ्यो, तर हातहातमा भएका मोबाइल फोनहरूमा सबै सूचना पाइने भएका कारण तोप, बन्दुक या पटका पड्काउनुको उपदेयिता सकिएको छ । तै पनि परम्पराको निरन्तरताका लागि यस्तो चलन छँदैछ । देउसी, भैलोको परम्पराले पनि निरन्तरता पाइरहेको छ । घरमै सेलरोटी, अर्शा, अनरसा लगायतका ताजा परिकारहरू बनाएर खाने प्रचलनलाई विदेशबाट आयात हुने भाई मसालाले विस्थापित गर्दै लगेको छ ।
देशको मौलिक संवत अर्थात नेपाल संवतका सन्दर्भमा भने ठूलो परिवर्तन तथा जागरण आएको छ । राणाकालदेखि राज्यले बक्रदृष्टिमा राखेको नेपाल संवत्लाई नेवार समुदायले अन्दोलनको रूपमा र ब्राम्हण समुदायले गुपचुप रूपमा बचाउँदै आएको थियो । २०४६ सालको परिवर्तनपछि भने नेपाल संवत् खुला रूपमै अवलम्वन गर्ने वातावरण बनेको छ । नेपालको मौलिक पहिचान उजागर भएको छ । यही कात्तिक १७ देखि आरम्भ हुन गइरहेको नेपाल संवत्को नयाँ वर्ष ११४५ का अवसरमा हार्दिक मंगलमय शुभकामना ।
प्रतिक्रिया