गायक थापाले ल्याए देउसीभैलो गीत ‘तिहार राम्रो’

काठमाडौं । गायक नारायण थापाले तिहारको अवसर पारेर देउसीभैलो ‘तिहार राम्रो’ बोलको गीत ल्याएका छन् । उक्त गीतको भिडियो ‘अ लेवल म्युजिक’ युट्युब च्यानलमार्फत गायक थापाले बुधबार सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा पछिल्लो समय मेला, महोत्सव र सांस्कृतिक कार्यक्रमहरुमा व्यस्त रहँदै आएका गायक थापासँगै सब्बु केसी र रबि सुवेदीको आवाज रहेको छ ।

सुरेन उप्रेतीको शब्द, विकाश चौधरीको संगीत, ललित सिंह साउदको सम्पादन रहेको भिडियोलाई बिमलकुमार ढकालले निर्देशन गरेका हुन् । गायक थापा यतिबेला चन्द्रगिरी औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ मा आफ्नो संगीतिक प्रस्तुति दिन व्यस्त छन् ।

महोत्सव यही कात्तिक १७ गतेसम्म सञ्चालन हुने उनले जानकारी दिए । सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा रहेको उनी बताउँछन्  ।

प्रतिक्रिया