काठमाडौँ । अभिनेता भुवन केसी फिल्म ‘जेरी अन टप’ मा देखिने भएका छन् । उनी ३ वर्षपछि अभिनयमा फर्किन लागेका हुन् । भुवनकै छोरा अनमोल केसीको मुख्य भूमिका रहेको फिल्मको सोमबारबाट छायांकन सुरू हुँदै छ । यस फिल्ममा भुवन अनमोलको बुबाकै भूमिकामा देखिँदैछन् ।
भुवन पछिल्लोपटक सन् २०२१ मा रिलिज भएको ‘डाँडाको वरपीपल’ मा देखिएका थिए । त्यसपछि उनी २ वर्ष चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा रहे । यस फिल्ममा भुवन बुबा बन्दा विपना थापा भने अनमोलको आमाको भूमिका निर्वाह गर्दैछिन् । सन् २००६ मा रिलिज भएको ‘मानिस’ पछि भुवन र विपना एकसाथ सहकार्य गर्न लागेका हुन् ।
सुयोग गुरुङको निर्देशनमा बन्ने यस फिल्ममा जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’ लगायतको अभिनय रहनेछ । अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा बन्ने फिल्मको निर्माता सरोज न्यौपाने हुन् । काठमाडौँसहित लुक्ला र भारतको लद्दाखमा हुने फिल्मको छायांकन सेड्युल ५० दिनको रहेको छ ।
प्रतिक्रिया