काठमाडौँ । फिल्म ‘फेरि रेशम फिलिली’को पहिलो सेड्युलको छायांकन सकिएको छ । दसैँ लगत्तै सुरु गरिएको सिनेमाको पहिलो चरणको काठमाडौँ र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको हो । सिनेमाको दोस्रो चरणको छायांकन तिहारपछि २२ कात्तिकमा सुरु हुने निर्माता रौनक विक्रम कँडेलले बताए । फिल्मको केही प्रतिशत छायांकन निर्माता कँडेलको गृह जिल्ला चितवनमा पनि गरिनेछ । पहिलो सेड्युल छायांकन उत्साहजनक रहेको अनुभव पनि निर्माण कँडेलले सेयर गरेका छन् ।
यो फिल्म २०७२ सालमा रिलिज भएको ‘रेशम फिलिली’को सिक्वेल हो । फिल्मको मुख्य भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया रहेका छन् । विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पाको प्रवेश भएको छ । मेनुका प्रधानसँगै सिनेमामा निर्देशक पनि परिवर्तन भएका छन् । पहिलो सिक्वेललाई प्रणव जोशीले निर्देशन गरेका थिए भने ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरिरहेका छन् ।
सिनेमामा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वांङदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहनेछ । ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलको लगानी रहने सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सहनिर्मातामा एनी थापा छन् । सिनेमा आट्र्सले वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण निरोज महर्जन र आकाश बरालको पटकथा र सुसन प्रजापतीको छायांकन रहेको छ ।
प्रतिक्रिया