आयुर्वेदका थोरै कुरा

मनमा हरि छैन, बाहिरको हरिमा वाहियात विवाद गरिरहेछौँ । परल मूल्य तिरेर शुद्ध चिज खाउँ भन्दा पाइँदैन । सत्य त यही हो नि । खीर खाने दिन (साउन १५) मा पकाइएको दूधमा प्लास्टिक भेटिएका समाचार हेर्न, पढ्न हामी बाध्य छौँ । धर्मको अर्थ बुझ्न नसकेका पाखण्डीहरू ठुल्ठुला गफ चुटेर तर्क, कुतर्क गरेर बसिरहेका छन् । मनबाट दिनप्रतिदिन पलायन भइरहेको हरिलाई आवरणमा देखाउन प्रयास गरिरहेछन् । अन्ततोगत्वा घाटा त सबैलाई नै हुन्छ होला नि होइन र ?

मोहनप्रसाद सापकोटा

आजभन्दा हजार वर्षभन्दा पहिले आचार्य वाग्भटले लेखेको ग्रन्थको अन्तिममा मुख्य ओखतीका बारेमा बताएका छन् । त्यहाँ भनिएको छ । प्रमेह (मधुमेह आदि, सुगर) को सबभन्दा उत्तम ओखती अमला र बेसार हो । यहाँ मात्रा बताइएको छैन । तर अन्य ग्रन्थले मात्रा नबताइएको भए हरेक ओखती बराबर मात्रामा लिनुपर्दछ भनेको छ ।

त्यसैगरी दिसाको, पिसाबको, डकारको, बान्ताको, हाइको, अपानवायु आदिको उपबुजु्रक (बोक्रे भलाद्मी) भएर बेग रोक्नाले शरीरमा अनगिन्ती रोग उब्जन्छन् । यो आयुर्वेदको सर्वसम्मत धारणा हो ।

त्यस्तै पतिको, परिवारको अथवा आफ्नै स्वार्थ पूरा गर्न प्राकृतिकरूपमा महिना महिना दिनमा निस्कने रज जुन स्त्रीले निस्कन नदिएर पटकपटक बलपूर्वक रोक्दछे, उनको शरीर निरोगी हुन सम्भव नै छैन । यति मात्र होइन यो अभ्यासले क्यान्सर, बच्चा नअडिने, जन्मने बच्चामा खोट हुने आदि अनि गर्भाशय र योनिसम्बन्धी अनेकौँ रोगहरूसमेत उत्पादन गर्दछ । आयुर्वेदमा गर्भधारण नहुने खालका अन्य असर नगर्ने अनेक थरी उपाय पनि बताएको छ ।

कृपया कुनै कार्यविशेषमा सहभागी हुन नपाइएला भनेर वा अन्य कारणले ओखती खाई प्राकृतिक तरिकाले रज बाहिर जानबाट रोक्ने कार्य कसैले पनि नगर्नु होला, नगराउनु होला । अधिकांश महिला रोगी देखिनुका पछाडिको एक महत्वपूर्ण कारण यो पनि हो । माने मान्नुहोस् नमाने नमान्नुहोस् । आयुर्वेद लेख्दछ–पुरुषको वीर्य थैली र स्त्रीको गर्भाशय शरीरको सम्पूर्ण तत्वको सार अर्थात् ओज ओहोरदोहोर भइरहने स्थल हो । यसलाई प्राकृतिक अवस्थामै रहन दिनपर्दछ ।

घिउ र आयुर्वेद

साना वा ठूला भन्छन् ‘मलाई घिउ पटक्कै मन पर्दैन । बरु कुखुराको पखेँटा र खुट्टा फ्राइ गरेको मन पर्दछ’ । यो मन पर्ने वा नपर्ने भन्ने कुरा बालबच्चाको वृद्धिकालमा तिनका बाबुआमाले सिकाएको वा लगाएको बानीअनुसार हुन्छ । यी सब बहाना हुन् ।

विष पनि सानैदेखि खाएपछि असर नगर्ने हुन्छ भने घिउ जस्तो गुनिलो कुरा शरीरले सहँदैन भन्नु बेलैमा त्यसको बानी नबसाल्नु हो । फेरि बानी भनेको पनि ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ भन्दछन् नि, त्यसैले बानी लगाउँदा सम्भव भएसम्म शुद्ध र स्वस्थ घिउ खुवाउनु पर्दछ । बच्चाको जिभ्रोलाई आफ्नो बिग्रेको जिभ्रो जस्तो बनाउन खोज्दछौँ, यो गलत हो । आफू टिकटक बनाएर बस्ने अनि बच्चा कराए सुकुलमा चिनी छरी दिने । बिस्कुट भने बिस्कुट, आइसक्रिम भने आइसक्रिम, चकलेट भने चकलेट दिने । अनि ती सन्तानबाट भविष्यमा केही कुरा राम्रो होला भनेर आश गर्न तपाइँ हामीलाई लाज लाग्दैन ?

आजकल त शुद्ध दूध बेचेर नक्कली घिउ किन्दै खाने चलन छ । यस्ता बिचराहरूलाई के सुझाव दिनु ? ती दूध बेचेर त्यो भन्दा महँगो चिया खान्छन् । डेरीमा दूध बेच्दछन् अनि चिया पसलमा छिरेर, क्यान छेउमा राख्दै विश्वकै उत्कृष्ट डाक्टर बन्दै चिया तान्दै गफ चुट्दछन् ।
मानिस ‘कहाँ मासु, कहाँ घिउ’ भन्लान् नै । यस्तो भन्ने पनि हुन्छन् । तर संयमित हुन सिके शरीरका लागि मासु नै खानुपर्दछ भन्ने छैन । यससम्बन्धी बृहत् संकलनबाट सैयौँमा एउटा मात्र आयुर्वेदको कुरा राख्न चाहेँ ।

…मांसादष्टगुणं घृतम् ।।

अर्थात मासुभन्दा घिउ ८ गुना बलदायक हुन्छ ।

तर, मासु खाओस् वा घिउ, सामान्य नियम भने पालना गर्नै पर्दछ । नत्र यी कुराले शरीरलाई फाइदा दिँदैन । घिउ २ वटा विधिले खाने विधान छ । शरीरमा चिल्लो नपुगेको अवस्थामा वा कुनै रोग निको पार्नका लागि शरीरको उपचार गर्न तथा दोस्रोमा नियमित तरिकाले । जस्तैः कसैलाई बान्ता गराउनु छ वा दिसा लगाउनु छ भने त्यसभन्दा पहिले शरीरमा पर्याप्त मात्रामा चिल्लो बनाउन तेल, घिउ, बोसो आदि खुवाउनु पर्दछ । यस्तो बेलामा एक दिन अगाडिदेखि नै अन्नको सेवन गर्न हुँदैन ।

नियमित घिउ खाने बानी परेकाले त्यत्तिकै वा त्यत्तिकै तताएर पनि घिउ मात्र खान हुँदैन । घिउ खार्ने बेलामा कम्तिमा पनि एक मानामा ५–६ दाना मरिच हालेर घिउ खार्नु भनिएको छ । यसपछि यो घिउ नतताइकन प्रयोग गर्न सकिन्छ । सामान्यतः रि–हिटिङ गरेका कुरा स्वास्थ्यका लागि हितकर हुँदैन भन्दछ आयुर्वेद । प्रयोग गर्नैपर्ने अवस्था आएमा डाइरेक्ट हिटिङ नगरी बाफले हिटिङ गर्ने व्यवस्था मिलाउनु भनेर सल्लाह दिन्छ ।

मनमा हरि छैन, बाहिरको हरिमा वाहियात विवाद गरिरहेछौँ । परल मूल्य तिरेर शुद्ध चिज खाउँ भन्दा पाइँदैन । सत्य त यही हो नि । खीर खाने दिन (साउन १५) मा पकाइएको दूधमा प्लास्टिक भेटिएका समाचार हेर्न, पढ्न हामी बाध्य छौँ । धर्मको अर्थ बुझ्न नसकेका पाखण्डीहरू ठुल्ठुला गफ चुटेर तर्क, कुतर्क गरेर बसिरहेका छन् । मनबाट दिनप्रतिदिन पलायन भइरहेको हरिलाई आवरणमा देखाउन प्रयास गरिरहेछन् । अन्ततोगत्वा घाटा त सबैलाई नै हुन्छ होला नि होइन र ?

चनाको दाल र आयुर्वेद

चनाको यूषका धेरै फाइदा बताइएको छ । कतिपय अनुवादकले यूषको अर्थ दाल वा सुप लगाएका छन् । तर हामीले आजकल जसरी दाल खान्छौँ यूष भनेको त्यो भने होइन । पहिले यसले गर्ने फाइदाका कुरा गरौँ ।

चनाको यूष शीतवीर्यको वा गर्मी नगर्ने तथा दम, खोकी, पिनास, रक्तपित्त र त्रिदोषलाई जित्ने गुणको हुन्छ । चनामा शरीरलाई रुखो गराउने र कब्जियत गर्ने गुण हुने हुनाले यसको रसमा पनि यी गुण हुन्छन् नै ।

तर एक कचौरा भिजाइएर पखालिएको बोक्रा नभएको चनाको दाललाई घिउमा भुटेर सफा कपडामा पोको पारी कम्तीमा ४ कचौरा पानी हालेर मन्द आँचमा उमालेर एकचौथाइ पानी बाँकी भएपछि झिकेर त्यो रस (यूष) पिउनाले भने धेरै नै लाभ दिन्छ । अत्यन्त कमजोर बिरामीलाई १६ गुना पानी हालेर एकचौथाइ बाँकी भएको यूष खुवाउनु भनिएको छ ।

सामान्यतः जरो आउँदा, सुत्केरी हुँदा वा अन्य कारणले शरीर कमजोर हुँदा दाल खाने विधि पनि यही नै हो । छोक्रा खान र खुवाउन हुँदैन भनिएको छ । यस्तो बेलामा पाचन शक्ति अत्यन्त कमजोर हुने हुँदा मासु खाने गरिएको छ वा खान सल्लाह पाइएको छ भने पनि यसरी नै रस मात्र खाने वा खुवाउने गर्नू । रोग र रोगीको अवस्था हेरी २ हप्तापछि छोक्रा सहितको दाल वा चोक्टा सहितको गल्ने गरी पकाइएको मासु खान वा खुवाउन सकिन्छ ।

आयुर्वेदका कतिपय ग्रन्थमा सुत्केरीले एक महिना नभई मासु नखानु भनिएको छ । बताइएअनुसार यसबेला कमजोर पाचनशक्तिका कारण मासुको पहिलोपटक पचेर दोस्रो पटक नपचेको रसले दूध आदि बहने नसालाई अवरोध गर्दछ । अर्थात् खाएको कुरा पचेर पहिले रस बन्दछ र शरीरमा लाग्नलाई पुनः त्यो रस पच्नुपर्दछ ।

छिम्केझार र आयुर्वेद

यसको नस लिनाले टाउको दुःखेको ठिक हुन्छ, पिनास ठिक हुन्छ भनिन्थ्यो । तर आयुर्वेदमा यी कुरा पाइएन । नाथ्री फुट्ने रोग हुनेले यसको नस नलिनू । तिनले यो मिसाइएको कुनै पनि ओखतीको नस नलिनू । कफविकार र वातविकारमा यसले लाभ गर्दछ तर पित्तविकार गर्दछ । यसैले पित्तसम्बन्धी रोग हुनेले यसको अन्धाधुन्ध प्रयोग नगर्नू । यसको मात्रै प्रयोग गर्ने विधान अहिलेसम्म आयुर्वेदको मेरो संकलनमा पाइएको छैन ।

पानी अमला र आयुर्वेद

सामाजिक सञ्जालमा आयुर्वेदको नाम बेचेर पानी अमलाका जथाभावी फाइदाका कुरा गरेको पाइन्छ । के छ त वास्तविकता ?

यसको स्वाद गुलियो, टर्रोे र अमिलो खालको हुन्छ । यसमा मुटुका लागि लाभदायक, पित्तविकार, वातविकार र कफविकार नाशक, शीतल गर्ने, वीर्य बढाउने र आयु बढाउने, भुंग्रेजरोमा विशेष लाभदायक, रुचिप्रद, कृत्रिम विषका असर नाश गर्ने, मुख सफा गर्ने खालका फाइदा हुन्छ । त्यसैगरी यसमा गर्मी गर्ने, पचाउन कठिन, कफविकार र पित्तविकार गर्ने, कब्जियत गर्ने जस्ता बेफाइदा पनि छन् ।

थाहा पाउनु पर्ने विशेष कुरा : माथि जेजस्ता एक आपसमा बाझिने कुरा छन् ती सही छन् । पानीअमलाको नपाकेको फलमा माथि दिइएका गुण हुन्छन् तर पाकेपछि यसले माथि उल्लिखित बेफाइदा गर्दछ । पाकेको फलले तिर्खा मेटाउने र वातविकार नाश गर्ने भए पनि यो पचाउन कठिन तथा कफविकार र पित्तविकार बढाउने गुणको हुन्छ । आयुर्वेदमा लेखिएका यी कुरा मनन गरियोस् ।

आयुर्वेदमा विजयसाल

विजयसालको गिलासमा पानी राखेर बिहान खाने कुरा सामाजिक सञ्जालमा पाइन्छ । आयुर्वेदको प्रारम्भिक चरणको संकलनमा यस्तो कुरा उल्लेख भएको पाइएको छैन । सुश्रुत संहिता, चरक संहिता र अष्टांग निघण्टुमा यसको मात्र प्रयोग गरेर कुनै रोग निको हुने विधान छ कि भनेर सरसर्ती हेर्दा देखिएन । अरू ओखतीसँग मिसाउने कुरा भने धेरै बताइएको छ । विशेष कुरा के जानकारी दिन चाहेँ भने यो २ थरी हुन्छ । एउटा गहुँतको रङको चुरो हुने र अर्को मुजुरको घाँटीको जस्तो रङको चुरो हुने । ओखतीका लागि दोस्रो जातको विजयसाल उत्तम हुन्छ भनिएको छ । विजयसालको भनेर बजारमा पाइने काठको गिलास मैले गहुँतकै रङको मात्र देखेको छु ।

बर्राे र आयुर्वेद

बर्रोका गेडालाई हल्का घिउ दलेर त्यसमाथि गहुँको पिठोको लेप दली पुटपाक बनाउनू । त्यसपछि यसलाई निकालेर टुक्रा पारी मुखमा लिएर रस चुस्ने गरे दम, खोकी, पिनास र स्वर बसेको ठिक गर्दछ । बर्रोको बोक्रा मात्र (वा यसको विधिले बनाइएको गोली) मुखमा लिई चुस्नाले पनि दम र खोकी निको हुन्छ । बर्रोको गुदीलाई राम्ररी पिसेर मलम बनाई दल्नाले डाह नाश हुन्छ । यो वरपीपल भन्दा बुझिने वर होइन हर्रो, बर्रो अमला भनेर बुझिने बर्रो हो । अर्थात् बर र बर्रो भनेको बेग्लै हो ।

गोखुर र आयुर्वेद

गोखुर (Caltrops) को बोटमा जब फूल फुल्दछ र फल लाग्न आँट्दछ त्यतिखेर यसलाई जरैसमेत उखेल्नू । यसपछि छायामा सुकाउनू र धूलो बनाउनू । यो धूलोलाई यसैको स्वरसमा (एक रात छायामा) ढड्याउनू । यसपछि यसलाई उत्तम मात्रा (बढीमा) अर्थात् १६ तोलासम्म खाने गर्नू । यसपछि दूध पिउनू । भोक लाग्दा पथ्य मार्सी चामलको भात पनि दूधसँग नै खानू । सामान्यतः यो ओखती १ मात्रामा २ तोला खानु पर्दछ (२–२ तोलाका दरले ८ दिनसम्म) । यसरी गोखुर खानाले मानिस बलियो, रूपवान्, भाग्यवान्, १०० वर्ष आयुको तथा गाईको बथानमा रहेको (जुरो भएको) साँढे समान कामुक बन्दछ ।

सखर : आयुर्वेद

श्लेष्माणमाशु विनिहन्ति सहार्द्रकेण पित्तं निहन्ति च तदेव हरीतकीभिः ।

शुण्ठ्या समं हरति वातमशेषमित्थं दोषत्रयक्षयकराय नमो गुडाय ।।

सखरलाई अदुवासँग खानाले तुरुन्त कफविकारलाई नाश गर्दछ ।

अर्थात हर्रोसँग खानाले पित्तविकारलाई नाश गर्दछ । सुठोसँग खानाले सबै खालका वातविकार हटाउँदछ । यस्तो त्रिदोष नाशक सखरलाई नमस्कार छ । यसरी खाँदा बराबर मात्रामा मिसाएर खानू ।

व्याख्या (आयुर्वेदकै वचन) : उखुको रसलाई बाक्लो हुनेगरी उमालेर पानीले पखाली शुद्ध पारिएको पदार्थलाई गुड भनिएको छ । सामान्यतः यसरी पखालिँदैन । पखाल्ने विधि पनि पाइएको छैन । यसरी बनाइएको गुड १ देखि ३ वर्ष पुरानो बढी हितकर हुन्छ । त्यसभन्दा पुरानो सख्खर प्रयोग गर्न हुँदैन । पुनः पकाएर कुनै ओखती बनाउन ३ वर्ष पुरानो गुड उपयुक्त हुन्छ । अन्य दैनिक प्रयोगका लागि १ वर्ष पुरानो सख्खर उपयोगी हुन्छ । दूध र सख्खर एकैपटक खान हुँदैन, रगत विकृत हुन्छ । तर, यसले पिसाब बन्द हुने रोगमा भने लाभ गर्दछ । गहुँको पिठो र सख्खर मिसाएर तेलमा पकाइएका खानेकुराले पित्त र कफ बढाउँदछ तथा वायु घटाउँदछ । सख्खरको सबैभन्दा ठुलो विशेषता भनेको यो हानि गर्ने पदार्थसँग मिसाएर खाए हानिकारक र फाइदा गर्ने कुरासँग मिसाएर खाए फाइदा गर्ने बन्दछ । यसलाई सख्खरको योगवाही गुण भनिन्छ । फुको सख्खर त्यति लाभदायक मानिँदैन । खोकी लागेका बेलामा र शरीरका कुनै अंग सुक्ने रोग भएका बेलामा त फुको सखर खाँदै नखानू । उखुको रसबाट खुँदो, सख्खर, चिनी र मिश्री गरी ४ पदार्थ बन्दछ । चाकु आदि यसैभित्र पर्दछ ।

आयुर्वेदका मतमा सीमित वा तोकिएको मात्रामा र अन्य सुगर रोगको प्रतिरोधी औषधिसँग खाइने सख्खरले सुगर निको पार्न मद्दत गर्दछ । तर सुगरका बिरामीले चिनीको साटो दैनिक सखर प्रयोग गर्न हुन्छ भन्ने कुरा भ्रम मात्र हो, अल्पज्ञान हो । त्रिफलासँग वा गुर्जोसँग वा अन्य सुगरका ओखतीसँग सख्खर खाँदा भने फाइदा गर्दछ । यसो हुनुको कारण सख्खरमा हुने योगवाही गुण हो । सख्खरमा प्रमेह (सुगर) नाश गर्ने गुण हुन्छ भन्नुको अर्थ चिनीको विकल्पमा सख्खर प्रयोग गर्नु भनिएको होइन ।

गोकुलधूप र आयुर्वेद

गोकुलधूप सुगन्धित, अति नै पचाउन सहज, सूक्ष्म, तिख्खर, पिरो, पचेपछि पनि पिरो, मलमूत्रलाई तलतिर सार्ने, मुटुका लागि हितकर, चिल्लो र लेस्याइलो गुणको हुन्छ । ताजा गोकुलधूप पौस्टिक र वीर्यवर्धक हुन्छ । पुरानोले मल आदिलाई तलतिर तान्दछ । यो तिख्खर र उष्णवीर्यको हुने भएकाले यसले कफविकार र वातविकार नाश गर्दछ । मलमूत्रलाई तलतिर सार्ने गुणका कारण यसले दिसा र पित्तविकार नाश गर्दछ । सुगन्धित हुने हुनाले यसले शरीरको भित्री दुर्गन्ध नाश गर्दछ । सूक्ष्म हुनाले यो पाचक–अग्नि बढाउने गुणको हुन्छ । गोकुलधूपलाई त्रिफला, चुत्रो, परबर र कुशको काँढापानीमा अथवा गहुँतमा अथवा क्षार मिसाइएको पानी अथवा तातोपानीमा घोलेर पिउने गर्नू । यो पचेपछि (मुगीको) सुप, मासुको रस वा दूधसँग भात खानू ।

यसरी १ महिनासम्म गोकुलधूप खाने गरिएमा गुल्म, प्रमेह, उदावर्त, पेटका रोग, भगन्दर, कीरा, चिलाउने रोग, अरुचि, सेतोकुष्ठ, अर्बुद, गाँठा आउने रोग, नसाका रोग वा चाल, आढ्यवात, सुजन, कुष्ठ, खराब खालका खटिरा तथा पेटभित्रका अंगमा पसेका अथवा हाडमा पसेका विकृत वायु त्यसरी नै नष्ट हुन्छ जसरी चट्याङ पर्नाले रूखहरू नष्ट हुने गर्दछन् । अस्तु !

प्रतिक्रिया