काठमाडौं । अग्रज कलाकार सुन्दर सिंख्वाल (५७) को ‘साधना’ शीर्षकमा एकल पौभा कला प्रदर्शनी हुन लागेको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा बिहीबारबाट हुने प्रदर्शनीमा ३० भन्दा बढी चित्र राखिएको छ । कलाकार सिंख्वालले दुई तीनवटा छाडेर प्रायः सबै पौभा चित्रहरू ६–७ वर्षको अन्तरालमा बनाएको जानकारी दिए ।
उनका अनुसार प्रदर्शनीमा हिन्दु र बौद्ध दर्शनमा आधारित पौभाहरू राखिएको छ । जसमा हिन्दु दर्शनका गणेश, सरस्वती, कुमार, लक्ष्मी, विष्णु, कृष्ण, भद्रकाली, गुह्येश्वरी, हरिहर आदि तथा बौद्ध दर्शनका लोकेश्वर, मञ्जुश्री, आर्यतारा, बसुन्धरा, वज्रधर, जम्भला (कुबेर), चक्रसंवर शक्ति, २१ तारा आदि रहेका छन् । प्रदर्शनीमा राखिएका पौभाहरू पोस्टर, जलरङ, एक्रेलिक, तेलरङ आदि माध्यममा बनाइएका छन् । विगत ३८ वर्षदेखिको यस क्षेत्रप्रतिको निरन्तर लगावको प्रतिफलस्वरूप बनेका पौभा चित्रलाई प्रस्तुत गरिएकाले यस प्रदर्शनीको नाम पनि ‘साधना’ राखिएको कलाकार सिंख्वाल जानकारी दिए ।
प्रदर्शनीमा राखिएका कलामा सिंख्वालको कलाको साधनालाई प्रतिबिम्बित गर्ने प्रशस्त चिह्नहरूसमेत देख्न सकिन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार सिंख्वालको कलायात्रा र कलाकृतिले नेपाली पहिचानलाई चिनाउन र स्थापित गर्न मद्दत मिलेको बताए । प्रदर्शनीको शुभकामना सन्देशमा लेखेका छन्, ‘हाम्रा प्रतिभाहरु खानीकै जिन्दगानीमा रुमलिरहेका पनि छन् । यस अर्थले बजारमा कसी लगाउन (मूल्याङ्कन) मा आउन नै नपाएका÷प्रयास नगरेका कलाका हिरा–मोतीजस्ता सर्जकहरु निकै होलान् तर यही धरातलको खानीबाट उत्सुकता साथ बाहिर आउन पुस एण्ड पुल फ्याक्टरस् मा आफूलाई जोड्दै हाम्रा प्राज्ञ तथा परम्परागत चित्रशिल्पका सक्रिय कलाकार प्राज्ञ सुन्दर सिंख्वालज्यूले कला समाजको अन्तक्र्रियात्मक माहोलमा पहिलो कला प्रदर्शनी गरिरहनुभएको छ ।’
अग्रज कलाकार, ख्वप पौभा च्वमी पुचःका उपाध्यक्ष पूर्ण ह्योजूले कलाकार सुन्दर सिंख्वालका प्रदर्शनीले पौभा कलाको महत्व र पहिचानलाई चिनाउन सहयोग पुगेको बताए । कलाकार सिंख्वालका गुरुसमेत रहेका ह्योजूले शुभकामना सन्देशमा लेखेका छन्, ‘पौभा कलाको सन्दर्भमा कुरा गर्दा भक्तपुरका सिंख्वाल परिवारको संलग्नता अग्रणी देखिन्छ । यसको सुरुवातको श्रेय सुन्दर सिंख्वाललाई जान्छ ।’ उनले पौभा चित्रको प्रदर्शनी कलाकारको आफ्नै सङ्कलनमा गर्न निकै कठिन भएको जनाउँदै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा ख्वप पौभा च्वमी पुचःका सचिव सिंख्वाललाई प्रदर्शनी सफलताको कामनासमेत गरेका छन् ।
परम्परागत पौभा चित्रमार्फत कलाकार सिंख्वालले नेपाली कला परम्पराको पहिचान झल्काउन सफल भएको सिद्धार्थ ग्यालरीका सञ्चालिका संगीता थापाले बताइन् । उनले प्रदर्शनीमा राखिएका कलाकृतिमा विभिन्न देवदेवीका विषय रहेको र तिनले नेपाली कलाको लामो ऐतिहासिक परम्परालाई चित्रण गरेको जनाइन् ।
कलाकार सुन्दर सिंख्वालले आफ्नो एकल प्रदर्शनी गर्ने धोको सिद्धार्थ ग्यालरीले पूरा गरेको सुनाए ।
उनले भने, ‘सामूहिक प्रदर्शनीमा त सबै कलाकारहरुले भाग लिएकै हुन्छन् तर पौभा क्षेत्रमा एकल प्रदर्शनी गर्न पाउनुको छुट्टै महत्व हुने गर्छ । असीमित समय र कडा परिश्रम लगाएर मात्र पौभा सिर्जना गर्न सक्ने भएकोले प्रदर्शनीको लागि पुग्ने संख्यामा पौभा बनाउन त्यति सजिलो पक्कै थिएन । हुन पनि मेरो छ–सात वर्ष अनवरत् प्रयासले मात्र यतिको पौभाहरु बनाउन सम्भव भएको हो ।’ उनले ‘साधना’ शीर्षकमा पहिलो एकल प्रदर्शनी गरेको र यसमा हिन्दु तथा बौद्ध दर्शनमा आधारित चित्र रहेको सुनाए । कलाकार सिंख्वालले भने, ‘नेपाली कलाको मौलिक परम्परालाई जीवन्त राख्ने कलाकारहरुको प्रयासमा सानै भए मैले पनि प्रयास गरेको हुँ । यस प्रदर्शनीमा राखिएका कलाले नेपालको मौलिक कला परम्परालाई चिनाउन मद्दत मिल्ने विश्वास लिएको छु ।’
त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा स्नातकसम्मको अध्ययन गरेका सिंख्वालले पौभा क्षेत्रमा थुप्रै विद्यार्थीहरूसमेत उत्पादन गरेका छन् । ख्वपः पौभा च्वमी पुचः का सचिवसमेत रहिसकेका उनी हाल नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्य हुन् ।
उनका कलाहरू फुकुओका एसियन आर्ट म्युजियम जापान, म्युजियम अफ नेपाली आर्टस् (मोना) तथा चीन र युरोपका विभिन्न व्यक्तिहरूका सङ्कलनमा रहेका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगै अन्य विभिन्न संघ–संस्थाबाट राष्ट्रिय पुरस्कारबाट सम्मानित सिंख्वालले देश तथा विदेशका विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन् ।
यसक्रममा उनी भारत, माल्दिभ्सलगायतका देशमा पुगेका छने । उनका कलाकृतिहरू चीन, जापान, बेलायत, अमेरिका, फ्रान्स, थाइल्यान्ड, बेल्जियमलगायतका देशमा प्रदर्शनी गरिएका छन् । कलाकार सिंख्वालले यो आफ्नो एकल प्रदर्शनी भएको र ६–७ वर्षदेखि तयार पारेका कलाकृति राखिएको जानकारी दिए । प्रदर्शनी मङ्सिर १० गतेसम्म चल्ने ग्यालरीले जनाएको छ ।
प्रतिक्रिया