दाङ । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन् । लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थाल्नुभएको १६ वर्ष पूरा भयो ।
हाल उनको फार्ममा १५० मौरीसहितका घार छन् । उनले वर्षमा ७ टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् । मौरी पालन गर्न सिकेपछि व्यावसायिक रूपमा लागेका उनको घरबाटै मह बिक्री हुने गरेको छ । वार्षिक रु १६ लाखको कारोबार गरिरहेका पौरखी घर्तीले रु ७ लाख बचत हुने बताए । १ किलो मह रु ५ सयमा बिक्री गर्दै आएको उनले सुनाए ।
वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरी पालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उनी बताउँछन् ।
मौरी पालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको भनुभव छ । बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरी पालन व्यवसाय निकै सहज भएको उनी बताउँछन् ।
यस व्यवसायमा अलि बढी अध्ययनशील हुन आवश्यक रहेको र चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उनले बताए ।
प्रतिक्रिया