हरेक प्रदेशमा कला हब बनाउने ललितकला प्रज्ञा–प्रतिष्ठानको योजना

पर्यटन मन्त्री पाण्डेलाई बुझाइयो वार्षिक प्रतिवेदन

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले मंगलवार प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई आव २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएको छ । उक्त अवसरमा मन्त्री पाण्डेले असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण प्रतिष्ठानले क्षति व्यहोर्नुपरेको र आफ्नो व्यस्तताका कारण पनि प्रतिवेदन बुझ्न केही ढिलो भएको बताउँदै प्रतिवेदन प्रधानमन्त्रीलाई समेत बुझाउने जानकारी गराए ।

उनले देश सङ्घीय संरचनामा गइसकेपछि प्रदेश तथा पालिकामा समेत प्रज्ञा–प्रतिष्ठानहरू बन्नेक्रम बढेको तर यसमा केन्द्रका प्रज्ञा–प्रतिष्ठानसँगको समन्वय तथा एकरूपतामा भने ध्यान दिनुपर्ने आवश्यकता रहेको धारणा राखे । ‘प्रतिष्ठानहरू भनेका हाम्रा थिङ्कट्याङ्क हुन् । तपाईंहरूले सीमित स्रोत र साधनका बिच पनि राम्रो काम गरिरहनुभएको छ । मन्त्रालयले यसमा सक्दो सहयोग गर्ने छ’, पाण्डेले भने । कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठुलो योगदान पुगेको बताउँदै मन्त्री पाण्डेले ललितकलाको विकास गर्नु प्रतिष्ठानको दायित्वसमेत भएको बताए ।

प्रतिष्ठानका कुलपति नारमदणि हार्तम्छालीले प्रतिष्ठानबाट उल्लेख गरिएका कुरालाई चासो लिई समय दिनुभएकोमा मन्त्री पाण्डेप्रति आभार व्यक्त गरे । उनले केन्द्रका प्रतिष्ठानहरू र मन्त्रालयका बिचमा आवश्यक सहकार्य तथा संवादलाई अझ घनीभूत बनाउन आवश्यक रहेको धारणा राखे । ‘यसले हामीबिचमा अझ प्रगाढ सम्बन्ध बनाउँछ’, कुलपति हार्तम्छालीले भने ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले आव २०८०/०८१ मा प्रतिष्ठानले गरेका राष्ट्रिय ललितकला प्रदर्शनी, प्रादेशिक ललितकला प्रदर्शनीको विस्तृत जानकारी गराए । उनले प्रतिष्ठानले देशका हरेक प्रदेशमा एक–एक कला हब बनाउने योजनाअनुसार रामेछापको सुनापति गाउँपालिकामा थाङ्का हबको काम अघि बढेको, दाङको गढवामा सेरामिक्स हबको सम्भाव्यता अध्ययन सकिसकेको र अन्य बाँकी प्रदेशमा छलफल चलिरहेको जानकारी गराए ।

उनले आव २०८०/०८१ मा प्रतिष्ठानले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गरेका भित्तेचित्र, शिक्षामा सिपलगायतका कार्यक्रम तथा आगामी दिनमा गरिने कार्यक्रम, वैश्विक तापमान वृद्धिका कारण नेपाललगायतका हिमाली क्षेत्रमा परेका असर र त्यसका लागि गर्नुपर्ने कार्यका बारेमा सन्देश दिने हिमालयको रहस्य प्रदर्शनी, देशका विभिन्न स्थानमा गरिएका कार्यशाला, प्राज्ञिक भेला, गोष्ठी, प्रदर्शनी, कलाकार उपचार कोषलगायतका विषयमा सङ्क्षिप्त रूपमा चर्चा गरे ।

ललितकलाका क्षेत्रमा खोज, अनुसन्धानमा थुप्रै काम गर्न बाँकी रहेको बताउँदै उहाँले देशको अर्थतन्त्रमा ठुलो योगदान दिएको ललितकला क्षेत्रका यी विविध काम गर्न पर्याप्त बजेट र प्रतिष्ठानमा स्थायी कर्मचारीको व्यवस्था हुनुपर्ने धारणा राखे । उक्त अवसरमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू सौरगंगा दर्शनधारी, संजय वान्तवा राई, अरुणा हिङमाङ, उपप्रशासन प्रमुख कमलमणि काफ्ले, लेखा अधिकृत पंकज अधिकारी एवम् मन्त्रालयका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया