काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ को विशेष प्रदर्शनी हुने भएको छ । २० अक्टोबर अर्थात आइतबार हङकङस्थित केनेडी टाउनको गोल्डेन सिन सिनेमामा रिलिज हुँदैछ । विशेष प्रदर्शनीका लागि निर्माता अमोद राई हङकङ पुगिसकेका छन्। हङकङबासीहरुका लागि यो फिल्म विशेष भएकाले स्पेशल स्क्रिनिङ गरिएको निर्माता राईले बताए ।
‘यो चलचित्र हङकङवासीका लागि विशेष छ। नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू योगदान दिएका छन् । यस फिल्ममा पनि धेरैले संलग्न भएर काम गरेका छन्,’ फिल्म युनिटको भनाइ छ । विशेष प्रदर्शनीप्रश्चात यो फिल्म विदेशी फिल्मसरह हङकङका सिनेमाहलमा लाग्ने समेत उनको भनाइ छ। जसको लागि फिल्ममा चाइनिज सबटाइटल पनि समावेश गरिएको छ ।
यसरी हङकङमा रिलिज हुन लागेको पहिलोपटक भएको समेत निर्माता राईले दाबी गरे। भन्छन्, ‘विशेष प्रदर्शनपछि यो फिल्म हङकङ र मकाउका हलमा लाग्दैछ । चाइनिजमा सबटाइटल भइसकेको छ । नेपालीसहित विदेशीका लागि नेपाली फिल्म देखाउन लागेको पहिलोपटक हो । नेपालीसहित विदेशीले पनि फिल्म हेर्न पाउनेछन् । यो नेपाली फिल्मक्षेत्रको लागि कोसेढुङ्गा हो’
यस फिल्मलाई हङकङको गोल्डेन सिन सिनेमाले यस फिल्मको वितरण अधिकार किनिसकेको छ । विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेकाले हङकङ वितरकले चासो देखाएको समेत उनले सुनाए । यसपछि थाइल्यान्ड, इटली लगायतका देशमा समेत प्रदर्शन गर्ने योजना रहेको छ ।
नेपालबाट निर्देशक सुब्बासहित अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, मिङ्सो लिम्बू प्रदर्शनमा सहभागी हुन शनिबार नै हङकङ जाँदै छन् । हङकङमा रहेका देवराज राई कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतको अभिनय छ ।
चलचित्रको सहनिर्माताका रूपमा हङकङबाट अरुण राई, मातृदिप राई, रामली राई, सुमन वोनेम, मायादेवी राईलगायत रहेका छन् । अन्तर्राष्ट्रिय फेस्टिभलमा यो फिल्म ‘अ रोड टु भिलेज’ नामबाट प्रदर्शन भइसकेको छ । यसअघि क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा पुगिसकेको छ ।
ताइवानका क्वान पुन लुङले सम्पादन गरेको फिल्ममा हङकङकी संगीतकार हाइडी लीले संगीत दिएकी हुन् । फिल्मको छायांकन अमेरिकी छायाकार जोस हेरमले गरेका हुन् ।
महेश राईको कथा रहेको फिल्मको पटकथारसंवाद राईसहित निर्देशक सुब्बाले लेखेका हुन्। फिल्मको छायांकन भोजपुर, सुनसरी र संखुवासभामा गरिएको थियो । फिल्मले गाउँमा बाटो पुगेपछि परेको असरको कथा भन्छ ।
प्रतिक्रिया