जनकपुरधाम । बाढीपहिरो र डुबानसँगै आएको चाडपर्वका बीचमा एक्कासी तरकारीको मूल्य आकासिएको छ । बडादसैँको पूर्वसन्ध्याबाट आकासिएको तरकारीको मूल्य उकालो लाग्नाले चाडपर्वका बीचमा उपभोक्ता मारमा परेका छन् । जनकपुरधाम लगायतका विभिन्न जिल्लाका बजारमा अहिले फुलकोबी २०० रुपैयाँ, गोलभेडा २०० रुपैयाँ, प्याज ११० रुपैयाँ, भान्टा १०० रुपैयाँ किलोका दरले बिक्री भइरहेको छ । भने त्यस्तै करेला १२०, रायो साग १३०, भिन्डी १००, परबल १०० भन्दा बढी र लसुन ४०० रुपैयाँ किलोका दरले बिक्री भइरहेको छ ।
त्यस्तै आलु ६० रुपैयाँ, फर्सी ८० रुपैयाँसम्म र घिरौला प्रतिकिलो ८० रुपैयाँका दरले बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् । तरकारीको मूल्य आकासिएसँगै बिक्रेताले १ किलोको नभई १ पाउको मूल्य खरिदकर्तालाई तरकारी व्यापारीले बताउने गरेका छन् ।
जिल्लाको सिमावर्ती भारतीय बजारका अतिरिक्त बेंगाडाबर, ढल्केवर, मिर्चैया, हेटौँडा, गोबजार, सुनसरी र धनकुटालगायत, भारतको सीमावर्ती क्षेत्र उमगाव, मधुवनी, जयनगर लगायतका स्थानबाट हरियो तरकारीहरू ल्याउने गरेको छ ।
सोही तरकारीले उपभोक्ताको माग धान्ने गरेको छ । तरकारी ल्याउने बजारमै महँगो पाइने र ढुवानी खर्च महँगिएकाले बजारमा तरकारीको मूल्य आकासिएको व्यापारीहरू बताउँछन् ।
तरकारीको मूल्य आकासिदा पनि स्थानीय प्रशासनले बेवास्ता गरी अनुगमन नगर्दा तरकारी व्यवसायीले मनपरी मूल्य निर्धारण गरी बिक्री वितरण गर्दै आइरहेको स्थानीय मनिष साहले बताए ।
प्रतिक्रिया