प्रधानमन्त्रीको बोलीमा लगाम लगाउनु जरुरी

सम्पादकीय

प्रधानमन्त्री केपी ओलीले अमेरिका भ्रमणबाट स्वदेशमा पाइला टेक्नासाथ बाढी, पहिरोका सन्दर्भमा दिएको अभिव्यक्तिले पीडितहरूको घाउमा नुनचुक छर्कने काम गरेको महसुस धेरैले गरे । प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘भीषण वर्षा हुँदै छ भन्ने सूचना हामीले दिएकै थियौँ, तर कुन कुन ठाउँमा पहिरो जाँदै छ ? भन्ने सूचना हामीले दिन सकेनौँ ।’ उनको भनाई कटु यथार्थ हो । तर, यही कुरालाई पनि जनताको चित्त नदुख्ने गरी राख्न सकिन्थ्यो ।

त्यो खुवी प्रधानमन्त्री ओलीसँग नभएको होइन, तर उनले पीडितको चित्त दुखाउनै चाहेका हुन् कि जस्तो देखियो । केही वर्षअघि दसैँको मुखमा ठुलाठुला सडक दुर्घटना भए लगत्तै एउटा संसदीय समितिले गृहमन्त्री बामदेव गौतमलाई बोलाएर दुर्घटना न्यूनीकरणका विषयमा प्रश्न राखेको थियो । प्रश्नको उत्तरमा गौतमले भने, ‘सडक साँघुरा भएकोले दुर्घटना बढ्यो, अब सरकारले ४ लेन फराकिला सडक बनाएर दुर्घटना न्यूनीकरण गर्दैछ ।’

१ लेनका कच्ची सडकसमेत ग्राबेल गर्न नसकेको सरकारले ४ लेनका सडक बनाउन सक्छ वा सक्दैन ? भन्नेतिर भन्दा पनि तत्कालीन गृहमन्त्री गौतमको यो भनाइले जनतामा आशा जगायो । तर प्रधानमन्त्री ओलीले यस्ता मामिलामा मौका चुकाउने गरेका छन् । प्रधानमन्त्री ओलीले आफूलाई सोधिएको प्रश्नमा ‘अब हामी एक साताअघि नै टोलटोलको मौसम पूर्वानुमान गर्ने प्रविधि जडान गर्दैछौँ’ भनेर उत्तर दिएको भए जनतामा आशा पनि जाग्थ्यो, उनले दिन खोजेको सन्देश पनि पुग्थ्यो ।

विगतमा अहिलेको भन्दा कम वर्षा हुँदा पनि धनजनको क्षति ठूलो हुने गरेका उदाहरणहरू धेरै छन् । असोज ११ र १२ गते काठमाडौँ उपत्यका तथा यस आसपासमा भएको वर्षाले विगतका सबै रेकर्डहरू तोडेको मौसमविद्हरूले बताइरहेका छन् । यसको पूर्वानुमान गर्दै १ साताअघि नै सूचना जारी गरिएको थियो । यतिसम्म कि, कुलेखानी जलासयको बाँध भरिनै लग्यो, भन्दै २४ घण्टाअघि नै तल्लो तटीय क्षेत्रमा पटकपटक चेतावनी जारी गरिएको हो, तर यही बाँध भरिए पछिको बाढीले बगाएर देशका होनाहार ३ जना खेलाडीहरूको ज्यान गयो ।

हातहातमा भएको मोबाइलसमेत सूचना ग्रहणका लागि काम लागेन । खेलाडीहरू व्यस्त भए पनि प्रशिक्षक तथा कर्मचारी त त्यति व्यस्त नहुनुपर्ने थियो । यस्ता कमजोरीलाई लिएर सरकारमाथि औँला सोझ्याँइदा प्रधानमन्त्री ओलीको रिसको पारो चढेको हो । तर, प्रधानमन्त्री स्तरबाट जनतामाथि रिस पोख्दा थप दुर्घटना हुन्छ । केही महिनाअघि बंगलादेशमा भएको त्यही हो ।

नेताहरूको बोलीमा विश्वास भएन भने जनताले सरकारको कुरा पत्याउँदैनन् । सरकारको आग्रहलाई अटेरी गरे पनि हुन्छ भन्ने छाप जनताको दिमागबाट मेटिनुको सट्टा झन् बढ्दै गएको छ । त्यसमाथि पनि मौसम विज्ञान विभागको पूर्वानुमानलाई मजाकको विषय बनाउँदै हुर्केको हो अहिलेको पुस्ता । एकदशक अघिसम्म पनि मौसम विज्ञान विभागको भविष्यवाणी ८० प्रतिशत मेल खाँदैनथ्यो ।

हचुवाको भारमा भविष्यवाणी गर्ने गरिएको हो कि जस्तो ठानिन्थ्यो, बरु ज्योतिषीले भन्यो भने सतर्क रहने तर मौसम विज्ञान विभागले भनेको कुरालाई वास्तै नगर्ने परिस्थितिमा अहिलेसम्मको पुस्ता हुर्केको हो । अहिले विज्ञान र प्रविधिले धेरै ठूलो फड्को मारिसकेको छ । नेपालको मौसम विज्ञान विभाग पनि १० वर्ष अघिजस्तो हचुवा ढंगले पूर्वानुमान गर्नुपर्ने अवस्थामा छैन । भौगोलिक विविधता निकै बढी भएका कारण एकैचोटी धेरै ठाउँको मौसम पूर्वानुमान गर्न सहज छैन, तर केही प्रविधि, जनशक्ति तथा आर्थिक स्रोत थप गर्ने हो भने हरेक पालिकाको मौसम पूर्वानुमान गर्न सकिने विज्ञहरूले बताइरहेका छन् ।

सबै सरजाम जोहो हुने हो भने ७ दिने, १० दिने, स्थान–विशेष पूर्वानुमान गर्न सकिने मौसम विज्ञान विभागका प्राविधिज्ञहरूले बताइरहेका छन् । पानीजहाज सञ्चालनको संभावना देख्नु, तर कुन पहाडमा कति पानी पर्छ ? भन्ने पूर्वानुमान लगाउन सकिने संभावना नदेख्नु प्रधानमन्त्री ओलीको कमजोरी हो ।

प्रतिक्रिया