सुशासनमा दलहरू मिलेर काम गर्न प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासन सत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबार जानकारी दिन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याको समाधान खोज्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

गाउँ–गाउँमा आधारभूत सुविधा पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको बताउँदै उनले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । राष्ट्रपति पौडेलले हालै गएको बाढीपहिरोबाट प्रभावितको राहत तथा पुनः निर्माणका कामलाई तीव्रता दिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले अहिले देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले दुई ठूला दल मिलेर वनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको पनि उल्लेख गरेका थिए ।

सो क्रममा प्रधानन्त्री ओलीले संयुक्त राष्ट्र संघ महासभाका सन्दर्भमा भएको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको राष्ट्रपति पौडेलेलाई जानकारी गराएका थिए । महासभामा नेपालले समुद्र सतह उठेकोदेखि हिमाल जोगाउने विषयलाई नयाँ तर्कका साथ उठाएर सबैको ध्यानाकर्षण गराउन सकिएको पनि बताए ।

प्रधानमन्त्री ओलीले भ्रमणका सन्दर्भमा विभिन्न महत्त्वपूर्ण ‘साइडलाइन’ वार्ता गरेको पनि जानकारी गराएका थिए ।
सो भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायतको पनि सहभागीता थियो ।

प्रतिक्रिया