राजधानी काठमाडौं उपत्याकाबाट पूर्वी पहाड तथा पूर्वी र मध्यपूर्वी तराई जोड्ने प्राय सडकहरु अझै पनि सूचारु हुन सकेका छैनन् । यही असोज ११ र १३ गते भएको घनघोर वर्षाका कारण क्षती पुगेका सडक मध्ये वीपी राजमार्ग सूचारु गराउन एक महिना लाग्न सक्ने सडक विभागले जनाएको छ । यसैगरी कान्ति लोकपथ, काठमाडौं–फर्पिङ–सिस्नेरी–हेटौँडा र काठमाडौं–फर्पिङ–फ्याकेल–हेटौँडा सडक पनि दशैं अघि सूचारु हुने संभावना नरहेको सडक विभागको भनाई छ ।
महान चाड बडादशैंको मुखमै यी महत्वपूर्ण सडकहरु अवरुद्ध हुँदा पृथ्वी राजमार्गमा धान्नै नसकिने गरी सावरी साधनको चाप बढेको छ । यी सडक सूचारु हुँदा तथा दशैं चाड नपर्दा पनि पृथ्वीराजमार्गमा दैनिक १५ हजार सवारी साधन गुड्थे । प्राय जसो सडक जाम हुने गरेको थियो । तर यस पटक दशैंकै बेला अन्य सडकहरु बन्द हुँदा पृथ्वी राजमार्गले सवारी साधनको चाप धान्न नसकेको हो । दशैं अवधीभरी पृथ्वीराजमार्गमा ठूला टेलरहरु नचलाउन सरकारले उर्दी जारी गरिसकेको छ ।
दशैं बजारका समान तथा अन्य अत्यावश्यकीय बस्तु बोकेका बाहेक अन्य मालवहाक गाडीहरु नचलाउन पनि सरकारले अनुरोध गरेको छ । तै पनि दैनिक करिव ४० हजार सवारी साधन गुडेका कारण पृथ्वीराजमार्गको काठमाडौंदेखि मुग्लिन सडक खण्डमा कहाली लाग्दो जाम भइरहेको छ । फूलपातीको दिन देखि सरकारी तथा निजी कार्यालय समेत विदा हुने भएकोले सवारी चाप अझै बढ्ने भन्दै प्रहरीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पृथ्वीराजमार्ग हुँदै उपत्याकाबाट बाहिरिने सवारी साधन मध्ये एक थरी सिधै गण्डकी प्रदेशका विभिन्न गन्तव्यमा जान्छन् भने अर्काथरी नारायणगढ पुगेर पूर्व वा पश्चिमतिर लाग्छन् । नारायणगढ पुगेपछि भने पूर्वपश्चिम राजमार्गका यात्रा सहज छ । तर पूर्वपश्चिम राजमार्गबाट पहाड तर्फ जाने सडकहरुमा फेरी सास्ती छ । पहाडतर्फ जाने अधिकाश सडकहरु सूचारु हुन सकेका छैनन् ।
सडक विभागका अनुसार विभिन्न राजमार्गका ३० ठाउँमा सडक अवरुद्ध छ । तमोर करिडोरको बराह क्षेत्र, मेची राजमार्गको फिदिम, अरनिको राजमार्गको लार्चा र लिपिङ भेडेटार–राँके सडकको ओर्खे र मैदाने, गल्छी–रसुवागढी सडकको भुटार र खुर्काेट–मन्थली–तामाकोशीको सुनकोशी पुलमा समस्या देखिएका कारण सवारी साधन सूचारु हुन सकेको छैन । मध्यपहाडी लोकमार्गको रामेछाप तथा खोटाङ जिल्लामा पर्ने विभिन्न खण्डहरु पनि अवरुद्ध छन् । लहान–कदमाचोक–गाईघाट सडकको फोक्सिङटार खण्ड, सन्धिखर्क–देवस्थान–बुर्तिबाङ सडकको देवीस्थान खण्ड पनि अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।
काठमाडौंको नयाँ बसपार्कमा देखिएको यात्रुहरुको भीड भने गत वर्षको दशैंको भन्दा कत्ति पनि कम छैन ।
सडकहरु अवरुद्ध छन्, सडक यात्रामा कहाली लाग्दो सास्ती बोहोर्नुपर्छ भन्ने यथार्थता प्रति यात्रुहरु बेखबर बनेका हुन् की जस्तो देखिन्छ । सडकको अवस्था हेर्दा सकेसम्म आँफु बसेकै ठाउँमा यस वर्षको दशैं मनाउन सरकारले जनतालाई अपिल गर्नु पर्ने थियो । तर सरकारले आँखा चिम्लेर बसेको छ । वर्षाको संभावना अझै रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
दुर्भाग्यबस पृथ्वी राजमार्ग अवरुद्ध भइदियो भने कतिपय यात्रुहरु सडकमै अड्किने, अर्थात याता न उता हुन सक्ने अवस्था आउन सक्छ । त्यसबेला अपजस बेहोर्नु पर्ने भनेको सरकारले नै हो । एकातिर यात्रुहरुले दुख पाउने र अर्कातिर सरकारले अपजश बेहोर्नु पर्ने अवस्था पनि आउन सक्छ । हामी नेपालीहरुले पनि अनावश्यक जोखिम मोल्ने प्रवृत्ति अझै त्याग्न सकेका रहेनछौं भन्ने स्पष्ट देखिएको छ । दशैं मनाउन घर जाने क्रममा मात्रै होइन, फर्केने क्रममा पनि यस्तै सास्ती हुन्छ भन्ने हेक्का राख्न सकेको देखिएन ।
प्रतिक्रिया