
वरिष्ठ संस्कृतिविद् प्राडा वीणा पौड्यालका अनुसार साउनमा हरियो चुरा, पोते, सारी तथा मेहदी लगाउने चलन मौलिक नेपाली संस्कृति नभई केही दशकअघि मात्र बाहिरबाट भित्रिएको हो । भारतबाट नेपाल भित्रिएको यो चलन करिब दुई दशकको अवधिमा देशका कुनाकाप्चासम्म फैलिसकेको छ । धर्म–संस्कृति भनिए पनि वस्तुतः मेहदीको प्रयोगले ठुलो व्यापारिक रूप धारण गरेको छ । उदाहरणका लागि वरिष्ठ संस्कृतिविद् प्राडा पौड्यालकै भनाइ लिन सकिन्छ । उनको भनाइ छ, ‘यो धर्म–संस्कृति भएको भए हाम्रा आमा–हजुरआमाहरूले पनि लगाउनुहुन्थ्यो होला, तर उहाँहरूले लगाएको देखिएन । बजारमा जताततै पाइने र सबैले लगाएको देख्दा सौन्दर्यका लागि म पनि लगाउँछु । मैले यसलाई धर्मसँग जोडेर होइन, रहरले मात्र लगाएकी हुँ । यो हाम्रो संस्कृतिभन्दा पनि व्यापार फैलिएको रूप हो ।’
प्राडा पौड्यालले भने झैँ मेहदी लगाउने चलन संस्कृति नभएर शृंगारको व्यापार हो र व्यापार बढाउनकै लागि धर्मको जलप लगाइएको हो भन्ने प्रमाणहरू प्रशस्त छन् । यदि यो धर्म–संस्कृति हुँदो हो त यस वर्ष साउनमा वृहस्पति अस्त हुँदा पनि मेहदी लगाउनेहरूको भिड विगतमा जस्तै हुने थिएन । आफ्नो उत्पादनको बजार विस्तार गर्न व्यापारीहरूले अनेक जुक्ति अपनाउनु स्वाभाविकै हो । केही वर्षयताका तथ्यांक हेर्दा नेपालमा बढ्दो मेहदीको प्रयोगबाट भारतीय व्यापारी तथा कालिगढहरूले राम्रै आम्दानी गरिरहेका छन् । तर, मुलुक चलाउनेहरू यस्तो वास्तविकताप्रति बेखबर बन्न मिल्दैन । नीति निर्माण र कार्यान्वयन तहमा रहेकाहरूले यो कमजोरी स्वीकार गर्दै कार्यशैली सुधार्नु आवश्यक छ ।
भन्सार विभागको तथ्यांकअनुसार औपचारिक नाकाहरूबाट वार्षिक करिब १० देखि १५ करोड रुपैयाँ बराबरको प्रत्यक्ष मेहदी भित्रिने गर्छ । तर, भारतसँगको खुला सीमाका कारण अनौपचारिक माध्यमबाट हुने आयात आधिकारिक आँकडाभन्दा निकै बढी छ । वर्षभरि हुने कुल खपतको ६० देखि ७० प्रतिशत हिस्सा साउनमै खपत हुन्छ । साउनका लागि मात्रै देशभर साना–ठुला पसल, पार्लर र फुटपाथमा गरी करिब १५ देखि २० करोड रुपैयाँ बराबरको मेहदीको खुद्रा बिक्री हुने अनुमान छ ।
यसैगरी साउन महिनाभरि देशका प्रमुख सहरी क्षेत्रका फुटपाथ, न्युरोड, असन, इन्द्रचोकका गल्ली, पार्लर तथा मन्दिर परिसरहरूमा करिब २ देखि ३ हजार भारतीय मौसमी कालिगढहरू सक्रिय हुन्छन् । यी कालिगढहरूमार्फत ५ देखि ८ करोड रुपैयाँ भारततर्फ जाने अनुमानलाई नजरअन्दाज गर्न मिल्दैन । यसरी मेहदीका नाममा मात्रै नेपालबाट वार्षिक आधा अर्ब रुपैयाँ बाहिरिनु आफैँमा डरलाग्दो विषय हो । पहिलो कुरा त विदेशी संस्कृति भित्रिँदा हाम्रा मौलिक परम्पराहरू ओझेलमा पर्ने खतराप्रति सतर्क हुनु आवश्यक छ । दोस्रो, आफ्नै देशमा उत्पादनको प्रचुर सम्भावना बोकेका वस्तुको आयात निरुत्साहित गर्न सरकारले उपयुक्त नीतिहरू ल्याउनै पर्छ ।
मेहदी अर्थात् हिना नामक वनस्पति नेपालको हावापानीमा खासै नफस्टाउने र गुणस्तरीय नहुने भए पनि ‘तिउरी’ नामक वनस्पति भने नेपालका प्रायः सबै भूभागमा सहजरूपमा हुन्छ । विगतमा साउने संक्रान्तिमा तिउरीका पात र फूल पिसेर हात–गोडा रंगाउने परम्परा थियो । तर, त्यसको ठाउँ अहिले विदेशबाट आयातित रासायनिक मेहदीले लिएको छ । हिना र तिउरीजस्ता विशुद्ध वनस्पतिको प्रयोगले छालाको स्वास्थ्यलाई लाभ पु¥याए पनि रासायनिक प्रक्रियाबाट निर्मित मेहदीले हानि गर्ने चेतावनी विज्ञहरूले दिइरहेका छन् । यसतर्फ न त नागरिक सचेत छन्, न त सरकारले नै जनचेतना फैलाउने काम गरेको छ । हाल फूलका रूपमा खेती गरिने तिउरीको बोट त्यत्तिकै खेर गइरहेको छ, जुन पशुको घाँसका रूपमा पनि प्रयोग हुँदैन । यसरी खेर गइरहेको तिउरीलाई सदुपयोग गर्नसके आयातित मेहदी विस्थापित हुनुका साथै नेपाली तिउरी निर्यातसमेत हुन सक्छ । यसतर्फ सरकार, व्यापारी र उपभोक्ता सबैको ध्यान जान ढिला हुनु हुँदैन ।
प्रतिक्रिया