विपत्तिका बेला कालोबजारी जघन्य अपराध

सम्पादकीय

आफ्नो महान चाड बडादसैँ हर्षोल्लासका साथ मनाउने तयारीमा रहेका नेपाली जनतालाई अचानक आएको प्राकृतिक विपत्तिले गहिरो शोकमा डुबाएको छ । आफन्त गुमाउनुको पीडा यसै पनि सानो हुँदैन, त्यसमा पनि कैयौँ आमाहरूको काख रित्तिएको छ, कैयौँले बुढेसकालको सहारा आफ्ना हुर्किसकेका सन्तान गुमाएका छन्, कैयौँ किशोरीहरूको सिन्दुर पुछिएको छ । घाइते हुुनेहरूको संख्या पनि त्यतिकै ठूलो छ । कतिपयको घर, खेत, पशु चौपाय बाढीले बगाएको छ ।

प्रकोपमा फँसेकाहरूको उद्धार गर्ने काम करिब करिब सकिएको छ । अब उनीहरूलाई राहतको खाँचो छ । राहतका लागि सरकारको मात्रै दृष्टि पुग्दैन, जनसहभागिता पनि उत्तिकै जरुरी हुन्छ । अरूलाई परेको दुःखप्रति अन्तरमनदेखि नै समवेदना प्रकट गर्ने, सहयोग गर्ने संस्कार हामी नेपालीहरूको पुरानै हो । तर पछिल्ला वर्षहरूमा सहयोग गर्ने संस्कार हराउँदै गएको छ, बरु यस्तो विपत्तिलाई धन कमाउने अवसरका रूपमा दुरुपयोग गर्ने खतरनाक प्रवृत्ति देशमा विकास हुँदै गएको छ ।

कतिपयले बाढीमा फँसेकाहरूलाई आफ्नो ज्यान नै जोखिममा राखेर उद्धार गरेका समाचार पनि आए, उनीहरू निश्चय नै धन्यवादका पात्र छन् । तर, कतिपय व्यवसायीहरू भने करिब करिब दानवका रूपमा प्रस्तुत भए । उदाहरणका लागि बाढीपहिरोले सडक सन्जाल अवरुद्ध भएको समाचार प्रवाह हुनासाथ हवाइजहाजको भाडावृद्धि गर्न कतिपयलाई हतार भयो । एक घण्टाको अन्तरालमा हवाइजहाज भाडा दोब्बर गरिएको समाचार आयो । तर, उनीहरूलाई कालोबजार नियन्त्रण कानुनअन्तर्गत कारबाही गर्न सरकारसमेत चुकेको देखिएको छ ।

कतिबेला सडक अवरुद्ध होला र सामानको कालोबजारी गर्न पाइएला भन्ने सोच पछिल्लो समयमा बढ्दै गएको छ । खासगरी छिटो सड्ने प्रकृतिका फलफूल तथा तरकारी व्यापारीहरूमा यस्तो मानसकिता बढ्दै गएको छ । पृथ्वीराजमार्गमा ३ घण्टा सडक जाम भयो भने राजधानी काठमाडौँ उपत्यकामा तरकारीको मूल्य ह्वात्तै बढ्नु सामान्य भएको छ । सबैको हातहातमा मोबाइल छ, अनि उता सडक जाम हुन्छ, यता तुरुन्तै मूल्य बढ्छ । खरिद गरिएको मूल्यमा निश्चित प्रतिशत मुनाफा राखेर बिक्री गर्नु व्यापारको सिद्धान्त हो, तर जब विपत्ति आइलाग्छ, तब ह्वात्तै मूल्य वृद्धि गरिन्छ ।

विपत्ति पर्दा मूल्यवृद्धि गर्ने यो अपराधमा फूलफूल तथा तरकारी व्यापारीलाई र विमानसेवा प्रदायक कम्पनीहरूलाई एउटै डालोमा राख्न चाहिँ मिल्दैन । किनकी उता सडक अवरुद्ध हुनासाथ यता एकैचोटी २–३ दिनको लागि तरकारी खरिद गर्ने मानसिकता भएका उपभोक्ता पनि धेरै छन् ।

तरकारी आपूर्ति बन्द भएपछि आफ्नो रोजगारीसमेत गुम्ने भएकोले यही बेलामा केही बढी मुनाफा खाइहालौँ भन्ने सोचलाई जघन्य अपराधका रूपमा लिई हाल्नु पनि हुन्न । किनकी सडक ठप्प हुँदा सबैभन्दा पहिले रोजगारी गुम्ने भनेको तरकारी व्यापारीहरूको हो । तर सडक अवरुद्ध भएको मौका पारेर हवाइजहाजको भाडा वृद्धि गरिनुलाई जघन्य अपराधको सूचीमा राख्नुपर्छ । किनकी अत्यावश्यक नभई कोही पनि जहाज चढ्दैन । यदि यस्तो कानुन छैन भने अध्यादेशमार्फत भए पनि तत्काल बनाउनुपर्छ ।

समाजमा असल व्यक्ति पनि हुन्छन्, खराब व्यक्ति पनि हुन्छन् । खराब व्यक्तिहरूको क्रियाकलाप नियन्त्रण नै राज्यको मुख्य जिम्मेवारी हो । यसैका लागि राज्यको अवधारणा आएको हो । राज्यले असल व्याक्तिलाई पुरस्कृत र खराब व्यक्तिलाई दण्डित गर्न सकेन भने अराजकता उत्पन्न हुन्छ । १९९० सालमा विनासकारी भूकम्प गएपछि केही व्यक्तिहरूले कालोबजारी सुरु गरेको सूचना सरकारले पायो । अनि गोरखापत्रमा सूचना निकालेरै भन्यो, ‘कसैले कालो बजारी गरेको फेला पर्यो भने उसलाई तुरुन्त नियन्त्रणमा लिनु र ५ जनाको रोहबरमा ठाँउको ठाउँ काटिदिनु ।’

त्यतिबेला कालोबजारी कसकसले गरे ? भन्ने सूचना सरकारले तत्काल थाहा पाउने अवस्था थिएन, अनुगमनका लागि राज्य संयन्त्र पनि थिएन । त्यसैले सरकारले यस्ता अपराधीहरूलाई ठाँउको ठाउँ काट्ने अनुमति जनतालाई दिएको थियो । तर, अहिले राज्य संयन्त्रको पहुँच टोलटोलमा छ, गाउँगाउँमा छ ।

अपराधीहरूलाई कानुनबमोजिम कारबाही हुन्छ, कुनै पनि हालतमा उन्मुक्ति हुँदैन भन्ने प्रत्याभूति दिने हो भने विपत्तिको बेलामा कालोबजारी गर्नेहरू आफँै निरुत्साहित हुन्छन् ।

प्रतिक्रिया