काठमाडौंँ । फिल्म निर्माता तथा नेपाल चलचित्र विकास बोर्डअन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक ज्योतिराज राईले ‘सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ का लागि २ तोला सुन र २ किलो ५०० ग्राम चाँदीजडित रनिङ ट्रफी प्रदान गरेका छन् । आइतबार बेलबारीमा आयोजित कार्यक्रममा उनले गोल्डकपका लागि रनिङ ट्रफी आफैँले निर्माण गरेर आयोजकलाई प्रदान गरेका हुन् ।
एलएक्स सिटी फुटबल क्लब अध्यक्ष बिक्रम बान्तावा राई र बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले ट्रफी बुझेका थिए ।
निर्माता राईले उक्त ट्रफी आफ्ना स्व.बुबा मेजर एनबी रुङमाहाङ राईको स्मृति निर्माण गरिएको हो । ट्रफी निर्माणमा उनलाई परिवारका सदस्य पोपिराज राई, पवित्रा राई, सरला राई र नानू राईले साथ दिएका छन् ।
कार्यक्रममा राईले ट्रफी तयार गर्न करिब ८ लाख रुपैयाँ लागेको जानकारी गराए । ‘खेलाडीहरूको हौसलाका लागि मैले ट्रफी बनाएको हो’, राइले भने ‘आगामी दिनमा पनि जे सक्छु खेलाडीको हौसलाका लागि सहयोग गर्छु ।’ उनले २०४८÷०४९ सालमा आफ्ना बुबाको नाममा नकआउट फुटबल खेल आयोजना गरेको स्मरण गरे ।
निर्माता राईबाट प्राप्त ट्रफी तीनपटक लगातार विजेता बन्ने टोलीलाई ट्रफीको मुल्य अनुरूपको रकम प्रदान गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा ट्रफी बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई र निर्माता राईको हातबाट अनावरण समेत भयो ।
‘सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी खेल मैदानमा ११ देखि १९ असोजसम्म आयोजना हुँदै छ । प्रतियोगिताको आयोजना एलएक्स सिटी फुटबल क्लबले गर्दै छ । खेलकुदले स्थानीय खेलाडी र खेलकुदप्रेमीहरूलाई प्रोत्साहन प्रदान गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया