काठमाडौं । नजिकै आइरहेको दशैंको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्षदेखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औद्योगिक शान्ती नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको जनाएको छ ।
नेपालमै उत्पादित घरेलु तथा औद्योगिक सामग्री, लत्ताकपडा, जुत्ता तथा घरेलु सामग्रीहरुलगायतको प्रदर्शनी, बजार प्रवर्द्धन तथा व्यवस्थापन गर्ने र एउटै स्थानबाट सबै कुराहरु उपलब्ध गराउने, महिला व्यवसायी तथा उद्यमीलाई प्रोत्साहन दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
साथै, बालबालिकालाई उपयुक्त मनोरञ्जन गराउने तथा नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ यही २०८१ असोज ११ गतेदेखि सुरु हुने महोत्सव असोजको २२ गतेसम्म चल्ने र महोत्सवमा दैनिक जीवनका उपयोगी हुने घरेलु सामानहरुको प्रदर्शनी तथा विक्री वितरण, औद्योगिक उत्पादनको प्रदर्शनी एवं विक्री वितरण समेत हुने आयोजकले जनाएका छन् ।
त्यसै गरी सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटोमोबाइल, मोबाइल, इलेक्ट्रोनिक समानहरुलगायतको प्रदर्शनी तथा विक्री वितरण, हस्तकला सामग्रीका प्रदर्शनी तथा विक्री वितरणसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उत्पादित विभिन्न सामानहरुको प्रदर्शनी, विक्री वितरण, बजार व्यवस्थापनलगायत हुने औद्योगिक शान्ती नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।
यससँगै मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविर, मेला महोत्सवमा घुम्न आउने बालबालिका तथा अन्य व्यक्तिहरुका लागि बाल उधान, रोटेपिङ, ब्रेक डान्स, मारुती सर्कसलगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुको पनि व्यवस्था रहेको अध्यक्ष महतले बताए ।
हरेक मेला महोत्सवको आकर्षणको रुपमा रहेको सांस्कृतिक कार्यक्रम पनि यस मेलामा रहने र कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका गायक, गायिका, हास्यकलाकार, जादुगरहरुले पनि महोत्सव स्थलमा घुम्न आउने व्यक्तिहरुलाई भरपुर मनोरञ्जन दिने पनि उनको भनाई छ ।
अध्यक्ष महतका अनुसार भव्यरुपमा तयारी भइरहेको यस महोत्सवमा २०० भन्दा बढी स्टलहरु हुने छन् । साथै, यसपाली महोत्सव स्थलभित्र प्रवेश गर्नका लागि प्रवेश निःशुल्क गरिएको छ भने मेला अवधिभर ५ लाखभन्दा बढी अवलोकनकर्ताहरुले मेलामा प्रवेश गर्ने आपेक्षा राखेको अध्यक्ष महतले बताए ।
प्रतिक्रिया