काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको संलग्नता पुष्टि नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा संसदीय छानबिन समिति सदस्यसमेत रहेका उनले लामिछाने कुनै पनि सहकारीको ऋणी, सदस्य, व्यवस्थापक वा सञ्चालक नदेखिएको बताएका हुन् ।
गोर्खा मिडियामा जिबी राईमार्फत् सहकारीको पैसा आएको पुष्टि भएको उनले बताए । सहकारी छानबिन प्रक्रियामा ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको उनले बताए । जसमा १ अर्बभन्दा कम हिनामिना भएको कुनै सहकारी नै नभेटिएको नेता दाहालको भनाइ छ । साथै, उनले सहकारी ठगीबारे छानबिन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको पनि बताए । नेता दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबै पात्र कांग्रेस–एमालेका नेताहरू रहेकाले कारबाही हुनेमा आशंका व्यक्त गरे ।
सांसद दाहालले सहकारी ठगीको विषयमा रवि लामिछानेको विषय सबैभन्दा चासोका रूपमा हेरिएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगका रूपमा स्थापित नभएको खण्डमा राजनीतिबाट संन्यास लिने घोषणा गरेको समेत स्मरण गराए । ‘हाम्रो अध्ययन, तथ्य र प्रमाणले उहाँलाई सहकारी ठगी प्रकरणमा संलग्न देख्दैनौँ । सञ्चालक, व्यवस्थापक, कुनै सदस्य भएको भेटिएन । सहकारीबाट ऋण लिएको देखिँदैन,’ उनले भने ।
सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा ६५ करोड रुपैयाँ पुगेको र त्यो रकम खर्च गर्ने कार्यमा भने लामिछानेको संलग्नता पुष्टि भएको उनले बताए । त्यहाँ भएको पुँजी परिचालनमा लामिछानेको संलग्नता देखिएको उनको भनाइ छ । उनका अनुसार लामिछानेले बयानका क्रममा पुँजी परिचालनमा आफ्नो संलग्नता नरहेको बताएका थिए । तर, समितिले प्रमाण र तथ्यका आधारमा पुँजी परिचालनमा उनको संलग्नता पुष्टि गरेको उनले बताए ।
‘सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए पनि गैरकानुनी पुँजी परिचालनमा उहाँको संलग्नता देखिइसकेपछि उहाँलाई पनि कानुनको दायरामा ल्याएर कारबाही गर्नुपर्छ भनेर हामीले सिफारिस गरेका छौँ । त्यहाँ कहीँ आग्रह–पूर्वाग्रह छैन । अब कानुनी हिसाबले अब थप अनुसन्धान गर्नुपर्ने भयो,’ उनले भने ।
सहकारी ठगी सम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले प्रतिवेदन तयार गर्ने क्रममा निष्पक्षता र तटस्थता कायम राख्ने प्रतिबद्धता गरेको र त्यहीअनुसार काम भएको उनले बताए । दाहालले समितिले सरकारलाई सहकारीका सन्दर्भमा प्रस्टसँग सुझाव र निर्देशन दिएको पनि बताए । समितिले सहकारी ठगका चलअचल सम्पत्ति जफत गरेर पीडितहरूलाई न्याय दिन सरकारलाई निर्देशन दिएको पनि उनले बताए ।
बेलायत, मलेसियामा भएका सहकारी ठगलाई ल्याउन नसके पनि भारतमा लुकेर बसेका केही सहकारी ठगलाई ल्याइदिनुस् भनेर समितिले अनुरोध गर्दा सरकारले बेवास्ता गरेको उनको आरोप छ । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै भ्रष्टाचारीहरूलाई कारबाही प्रक्रिया नै स्थगित भएको उनको आरोप छ । सरकारलाई समितिले घर नम्बर र लोकेसनसमेत दिँदा पनि सहकारी ठगहरू पक्रेर ल्याउन सरकारले सहयोग नगरेको उनको गुनासो छ ।
त्यस्तै, नेकपा एमालेका नेता शेरबहादुर तामाङले सहकारी छानबिन समितिले प्रतिवेदन बुझाइसक्दा पनि कतिपयले सत्यलाई छोप्ने प्रयास गरेको भन्दै आलोचना गरे । आफू कानुनमन्त्री हुँदा भ्रष्टाचार निवारणका लागि सबैको सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रस्ताव राखेको पनि उनले बताए ।
‘धनराजले राजीनामा दिनुपर्छ’
सहकारी ठगीमा जोडिएका नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राजीनामा दिनुपर्ने नेपाली कांग्रेसकै नेताले बताएका छन् । कांग्रेस नेता भीमसेनदास प्रधानले सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि गुरुङले राजीनामा दिनुपर्ने बताएका हुन् । प्रश्न उठेपछि नैतिकताका आधारमा उपसभापति र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने उनले बताए ।
उनले भने, ‘यो उहाँको आत्मनिर्णय गर्ने हो । विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो । आत्मसमीक्षा गर्नुपर्छ । धनराजले संसद्मै यदि त्यस्तो हो भने ममाथि छानबिन होस् भन्नुभयो । छानबिन समितिले पनि कारबाही सिफारिस गरेको छ ।’
राजीनामा नदिने भए कांग्रेसले पार्टीभित्र छलफल गर्नुअघि नै उपसभापतिले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसद् बैठकमा उपस्थित हुन्नँ भन्न सक्नुपर्ने नेता प्रधानले बताए ।
यसैबीच, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा उपसभापति गुरुङ दोषी ठहरिए जेल जाने बताएका छन् । कांग्रेसको झापा काठमाडौँ सम्पर्क समितिको कार्यक्रममा शर्माले गुरुङमाथि छानबिन सुरु भइसकेको दाबी गरे । ‘हाम्रो उपसभापतिमाथि छानबिन हुनुपर्छ, छानबिन प्रक्रिया अघि बढेको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस कहीँ लागेन । कहीँ दबाब दिएन,’ उनले भने, ‘आज सिआइबीले छानबिन प्रक्रिया सुरु गरेको छ । धनराज गुरुङ छानबिन गर्दै गर्दा निर्दोष देखिए माला लगाउनुहुन्छ । दोषी देखिए जेल जानुहुन्छ ।’
प्रतिक्रिया