‘छक्का पञ्जा–५’ को दोस्रो गीत सार्वजनिक

काठमाडौँ । २४ असोजदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा–५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ ।

गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द रचना छ । गीतको भिडियोमा फिल्मका कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा शिवाकोटी, मेक्सम गौडेल र सुरवीर पण्डित लगायतलाई देख्न सकिन्छ ।
दीपाश्रीको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय छ ।

हरि हुमागाईंको डिओपी तथा उत्तम हुमागाईंको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ । कथा र संवादमा केदार घिमिरे र दिलीप तामाङले सघाएका छन् ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ । ‘छक्का पञ्जा’को अघिल्ला ४ सिरिज सुपरहिट भएका थिए । पाँचौँ सिरिजमा २ नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सँगै रिलिज हुन लागेको छ ।
‘ज्वाइँ साब’ दीपक राज–दीपाश्रीका पुराना साझेदार जितु नेपालले निर्माण गरेका हुन् । कुनै बेलाका नजिकका सहयात्रीबीच सम्बन्धमा फाटो आउँदा फिल्म पनि भिडाउन लागिएको हो ।

प्रतिक्रिया