काठमाडौँ । चर्चित ड्रेस डिजाइनर सन्जिता बरालले उत्कृष्ट ड्रेसबाट सम्मानित भएकी छन् । २ असोजमा स्टार फुड एन्ड बेंक्वेटमा सम्पन्न ‘ब्राइडल कौचर रनवे’ फाइनलमा सहभागी ३५ जना मोडलहरूका लागि सन्जिता बरालले तयार पारिएको ड्रेस उत्कृष्ट रहेको ठहर गर्दै आयोजक संस्था ब्राइडल कौचर रनवेले उज्ज्वल भविष्यको कामना गर्दै डिजाइनर बराललाई प्रमाणपत्रसहित सम्मान प्रदान गरेको हो ।
प्रतिष्ठित पेसा हुनुका साथै नाम र दाम कमाउन सकिने भरपर्दो क्षेत्र भएकाले युवा पुस्ता यस पेसाप्रति आकर्षित बनेको बताउँछिन् ड्रेस डिजाइनर सन्जिता । व्यावसायिक रूपले फेसन डिजाइनको क्षेत्रमा सक्रिय बराल भन्छिन्, ‘शरीरलाई सुहाउने पहिरनमा सजिएर अरूलाई मोहित बनाउन जो कोही चाहन्छन्, फेसन डिजाइन भनेको शरीर सुहाउँदो पहिरन बनाउने कला हो । यद्यपि, यो पहिरनको डिजाइन मात्र होइन । यसभित्र ग्राफिक डिजाइनदेखि हेयर डिजाइनिङ, मेकअपलगायत विषयहरू समावेश छन्, त्यसैले फेसन डिजाइनिङलाई नेपाली समाजमा आकर्षक पेसाका रूपमा लिन थालिएको छ ।’
बरालले फेसन डिजाइनको कोर्स आइआइएफटी स्कुल अफ फेसनबाट गरेकी हुन् । त्यसो त हालै सम्पन्न हिँडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३०औँ संस्करणमा सहभागी प्रतियोगिहरूको ड्रेस तयार पार्नेहरू मध्येकी बराल पनि एक हुन् । विगतमा बरालले मेगा मोडल सिजन ४, मिस वल्र्ड, मिस अर्थ र मिस इन्टरनेसनल, नेकस्ट सुपर मोडल, सिन्ड्रेला नेपाल, मिस एन्ड मिसेज नेपाल, द पोएट आइडल सिजन २ लगायत दर्जनौँ बिग इभेन्टहरूमा आफ्नो क्रियसन क्षमता देखाइसकेको बताउँदै उनले मिस नेपाल प्रतियोताका लागि ड्रेस डिजाइन गरेको यो तेस्रो पटक भएको जानकारी दिइन् ।
प्रतिक्रिया