काठमाडौँ । पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘रावायण’ बक्सअफिसमा नराम्ररी पछारिएपछि यसले करिअरमा पनि धक्का पु¥याएको छ । ‘रावायण’ प्रदर्शन अगावै निकै चर्चामा थियो । नाबालिग बलात्कारको मुद्दामा सफाइ पाएर कारागारमुक्त भएका पल हिट कमब्याकको खोजीमा थिए । यस फिल्मपछि पलले सम्झौता गरिसकेका फिल्मबाटसमेत हटाइएको छ । केही समयअघि पलसहित बेनिशा हमालको मुख्य भूमिकामा फिल्म ‘कल्ली’ घोषणा गरिएको थियो । सो फिल्मबाट पललाई हटाएर सौगात मल्ललाई लिइएको छ ।
खासमा ‘रावायण’ नचल्नु नै पलको लागि सकसपूर्ण घटना बन्न पुगेको छ । फिल्मबाट हटाउनु मात्रै होइन, अहिले उनलाई लिएर फिल्म बनाउनसमेत मेकरहरू गाह्रो मानिरहेका छन् । स्रोतका अनुसार पल शाहकै कारण ‘कल्ली’ मा केही कलाकारले काम गर्न नमानेको पाइएको छ । अरू मुख्य भूमिकाका लागि केही कलाकारलाई अफर गरिए पनि पलको कारण उनीहरूले प्रस्ताव स्वीकार नगरेको जनाइएको छ ।
‘रावायण’ को गेटअपको कारण पल यतिखेर सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् । फिल्मको कथादेखि अभिनयको पनि आलोचना भइरहेको छ । यसैबीच, पलको लागि अर्को दुःखद् खबर छ ।
पलको मुख्य भूमिका रहेको ‘मायावी’ कात्तिक १५ गतेबाट आउने पक्का भएको थियो । पलको असफलतापछि निर्देशक दीवाकर भट्टराईले फिल्मको प्रदर्शन मिति सारेका छन् । विभिन्न कारण देखाए पनि भट्टराईले पलको माहोल राम्रो नहुँदा फिल्म सारेको देखिन्छ । अब ‘मायावी’ २६ पुसमा रिलिज हुनेछ । कुनै बेला पल सर्वाधिक व्यस्त कलाकारमा गनिन्थे । डेब्यु फिल्म ‘नाइँ नभन्नु ल ४’ हिट भएपछि पल फिल्ममा चम्किएका थिए । साथै म्युजिक भिडिओमा उनको माग थियो ।
प्रतिक्रिया