भारतको मणिपुरमा जातीय द्वन्द्वको कारण बन्द भएको विद्यालय र इन्टरनेट सेवा पुनः सुचारु

नयाँ दिल्ली । जातीय हिंसा तथा प्रदर्शनकारी र प्रहरीबीचको झडपका कारण बन्द भएको एक हप्ता पछि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा मंगलबारदेखि विद्यालयहरू पुनः खोलिएको स्थानीय सरकारले जनाएको छ ।

मणिपुरमा सन् २०२३ मे मा सुरु भएको हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच लडाइँका कारण कम्तिमा २०० जनाको ज्यान लिएको स्रोतले जनाएको छ ।

त्यहि समय देखि युद्धग्रस्त म्यानमारको सिमानामा रहेको उत्तरपूर्वी राज्यमा समुदायहरू प्रतिद्वन्द्वी समूहहरूमा विभाजित भएका छन् । केही समयको सापेक्षिक शान्तिपछि पछिल्लो समय फेरि हिंसा बल्झिदा कम्तिमा ११ जनाको मृत्यु भएको थियो ।

मणिपुरको राजधानी इम्फालमा लडाइँको विरोधमा मेइतेई विद्यार्थीले गरेको प्रदर्शनले हिंसात्मक रुप धारण गर्दा राज्यका केही भागहरूमा कर्फ्यू र इन्टरनेट ब्ल्याकआउट जारी गर्न बाध्य तुल्यायो ।

हाल हिंसा कम भएसँगै इन्टरनेट सेवा पुनःस्थापित भएको छ भने मंगलबारदेखि सबै विद्यालयमा सामान्य कक्षाहरू पुनः सुरु गर्न सरकारी आदेश जारी गरिएको छ ।

मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले सबैलाई जिम्मेवारीपूर्वक इन्टरनेट प्रयोग गर्न तथा शान्ति र सद्भाव बिगार्ने कुनै सामग्री पोस्ट नगर्न आग्रह गरेका छन् । यसैबीच अधिकारकर्मीहरूले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।– रासस, एएफपी

प्रतिक्रिया