नागढुंगा–नौविसे खण्ड बिस्तारमा चरम ढिलासुस्ती

सम्पादकीय

त्रिभुवन राजपथ अन्तरगतको नागढुंगा– नौविसे खण्डको १२ किलोमिटर सडक बिस्तारको कामले गतिलिन नसक्दा यात्रुले ठूलो सास्ती बेहोर्नु परेको छ । जनताले महंगीको मार बेहोर्नु परेको छ । किसानले समयमै आफ्ना उत्पादन बजारसम्म पु¥याउन पाएका छैनन् । उक्त १२ किलोमिटर सडक खण्डलाई फराकिलो बनाउनका लागि १ अर्ब ३१ करोड रुपैंयामा सगुन कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । २४ महिना भित्र काम सम्पन्न गरिसक्नु पर्ने संझौता भएको थियो ।

२०७८ साल चैत २४ देखि निर्माण कम्पनीले काम थालेको थियो । तर ३० महिना बितिसक्दा पनि जम्मा ५८ प्रतिशत काम सम्पन्न भएको छ । यही रफ्तारमा काम हुने हो भने सम्पन्न हुन अझै दुई वर्ष लाग्ने देखिएको छ । गत चैतमा सकिएको म्याद फेरी ९ महिना अर्थात् २०८१ माघ १० गतेसम्मका लागि थप गरिएको छ । नागढुंगा सुरुङ मार्गको संचालन आगामी मंसीरदेखि हुने जानकारी सरकारले दिँदै गर्दा सर्वसाधरण खुशी छन् । तर यो १२ किलोमिटर सडक खण्डको बिस्तार नसकिँदा सम्म यात्रुले पाउँदै आएको सास्तीमा खासै कमी हुने अवस्था देखिँदैन । सडक बिस्तारका क्रममा वर्षायाममा लेदो र हिउँद याममा धुलोको समस्याका कारण सवारी जाम हुने गरेको छ । निर्माण सामाग्री सडकमै थुपोरिने गरेकोले पनि समस्या देखिएको छ ।

यो सडकखण्ड नेपालको सबै भन्दा व्यास्त मात्रै होइन, राजधानी काठमाडौ. उपत्याकाको लाइफ लाइन हो । मुलुकको अन्य भूभागबाट राजधानी काठमाडौं भित्रिन र बाहिरिनका लागि यो बाहेक अर्को भरपर्दो सडक छैन । तर बिस्तारका क्रममा लापरवाही गरिँदा धेरै नै ठूलो आर्थिक क्षति भइरहेको छ । राजधानी काठमाडौंमा दैनिक उपभोग्य बस्तुहरुको मुल्य भरतपुरको भन्दा सरदर ३० प्रतिशत महंगो हुनुको मुख्य कारण सडक बिस्तारमा भइरहेको ढिला सुस्ती हो । निर्माण कम्पनीले तोकिएको काम पूरा नगर्दा सबैभन्दा बढी मर्कामा यात्रु परेका छन् ।

दूर–दराजका गाउँदेखि घण्टौं यात्रा गरेर आएका यात्रु काठमाडौं पुग्ने बेला घण्टौसम्म ट्राफिक जाममा फँस्ने गरेका छन् । ट्राफिक जाममा फस्ने डरले कयौं बिरामीलाई उपचारका लागि काठमाडौं ल्याउँदा ऋण खोजेर हेलिकप्टर चार्टर गर्नु पर्ने वाध्यता छ । सर्वसाधरण यात्रुहरु पनि महंगो मुल्य तिरेर हवाई मार्ग प्रयोग गर्न वाध्य भएका छन् ।

अब नेपालीको महान चाड दशैं नजिकिइसकेको छ । दशैंका लागि आवश्यक उपभोग्य बस्तुहरु राजधानी भित्रिने क्रम सुरु भइसकेको छ । हिमाली जिल्लाका जनताले स्याउ टिपेर धमाधम राजधानी काठमाडौं पठाउन थालेका छन् । ग्रामिण किसानले आफ्ना खशी– बोका काठमाडौं पठाउन थाल्ने बेला पनि हुनै लागेको छ । यस्तो अवस्थामा सडक अवरुद्ध हुँदा उपभोक्ताले महंगो मुुल्य तिर्नु पर्ने र किसानले लागत अनुसारको मुल्य पाउने संभावना नरहने कुरालाई नजरअन्दाज गर्न मिल्दैन । साथै अब दशैं मनाउनका लागि यात्रुहरु बाहिरिने बेला भइसकेको छ ।

दशैं आरम्भ भए पछि यो सडकमा साविकको भन्दा ५० गुणा सवारी साधनहरु गुड्छन् । अहिले नै ट्राफिक जाममो समस्या छ भने अब दशैंका बेला झन् कस्तो होला ? सडक बिस्तारको काम माथि सरकारले निरन्तर अनुगमन नगरेका कारण यो समस्या उत्पन्न भएको हो । स्थानीय सरकारद्धारा न्युरोडमा बिस्तार गरिएको फुटपाथ भत्काउन १ घण्टा समेत पर्खन नसक्ने सडक विभाग नागढुंगा– नौविसे सडक खण्ड बिस्तारमा भएको लापरवाही प्रति किन तमासे बनिरहेको छ ? भन्ने प्रश्न जनताले सोध्न थालेका छन् ।

यति महत्वपूर्ण सडक विस्तार भइरहेको ठाउँमा दुई जना कर्मचारीलाई २४ सै घण्टा खटाउन के ले रोकेको छ । यसरी खटाउने हो भने पहिलो कुरा त कामको रफ्तार अनुगमन गर्न सकिन्छ । दोस्रो कुरा कुनै अवरोध आयो भने गाँठो फुकाउनका लागि ठाउँको ठाँउ पहल गर्न सकिन्छ ।

प्रतिक्रिया