हामी खरबारीको बाटो झरिरहेका थियौँ, बेलुका भइसकेको छ, बास बस्ने ठाउँ तल देखिन्छ । हरियो मकैबारी पनि देखिन्छ, हाम्रो गल बेलुकाको बासस्थान र खाने कुरामा केन्द्रित हुन थालेको थियोे । नयाँ बाटो बन्दै रहेछ, तुलसी सर चिप्लनुभयो, त्यो विषयले पनि एकछिन मनोरञ्जन भयो । हामी यात्रामा अत्यन्तै रमाइलो गर्दै झर्यौँ, सिडिओ साब पनि लड्नुभयो, सबै लडिसक्नुभएको रहेछ, रमाइला गफ बीचबीचमा अनगन्ती भइरहेका थिए । लड्न म बाँकी रहेछु, अब गुरुको पालो भन्नुभयो । म मनमनै नचिप्लिने अठोट गर्न थालेँ ।
परमात्माको सृष्टि अद्भूत छ, यहाँ अनन्त जीवात्माहरू छन् । हरेक जीवका भिन्नाभिन्नै शरीर छन्, आहारा छुट्टै छ, कोही विवेकी छन् त कोही अविवेकी । मानव यस्तो प्राणी हो– जसमा विवेक छ, ज्ञान छ, सीप छ, ऊर्जा छ, दूरदृष्टि छ । जबसम्म जीव मुक्त हुँदैन, तबसम्म शरीर फेरिरहन्छ, अर्थात् यात्रा चलिरहन्छ । अनन्त कोटी ब्रह्माण्ड छन्, फरकफरक प्रकृति छ, कतै जल छ, कतै जमिन छ, कतै जंगल छ । ठुल्ठुला हिमाल, पहाड निर्माण गरेर भगवान् आरामसँग एकान्तमा बसेको जस्तो पनि देखिन्छ । सभापोखरी हिन्दु, बौद्ध र किराँत धर्मको आस्थाको केन्द्र हो । जसलाई त्रिधार्मिक केन्द्र मान्नुपर्छ । देवताले सभा बस्ने स्थान सभापोखरीको दिव्य यात्रा संस्मरण यहाँ प्रस्तुत गरिएको छ ।
संखुवासभा हिमाली जिल्ला हो, जहाँ धेरै तीर्थस्थल छन् । शिवधारा, सभापोखरी, मनकामना, सिद्धकालीलगायत धार्मिकस्थल छन् । पर्यटकीयस्थलहरू पनि प्रशस्तै छन् । जसमध्ये मकालु हिमाल एक हो । गत वर्ष मकालुको यात्राका सहयात्रीहरूको समूहले सभापोखरीको यात्रा तय गरेर सूचना सम्प्रेषण गर्दा मनमा उमंग छायो । सबैलाई सुनाएँ, मन हुनेहरूले जाने मन गरे, तर यहाँ भगवान्ले बोलाएका मात्र जान पाउने नियम छ, ईश्वरको इच्छा विपरीत हुनेवाला केही छैन । संखुवासभा जिल्लाका प्रशासकहरू सबै जाने, जनप्रतिनिधि जाने अनि त्यहाँ भव्य धार्मिक तथा अन्य कार्यक्रम गरेर त्यो दिव्य धामलाई संसारमा चिनाउने लक्ष्य संखुवासभाको थियोे ।
खाँदबारीमा बसेर सबै सल्लाह भयो, धेरै मार्गहरू भएका कारण दुइटा बाटो रोजियो, एउटा बाटो खाँदबारीबाट राम्चे, पाङ्माखोला, लेब्राङ, धुपुडके, हुतिखिम्, सभापोखरी गाउँपालिका बाह्रबिसे, मन्जुवा दोभान, सिकिदिमबाट पारि तरेर फाकुवा हुँदै उकालो लाग्ने रहेछ । यही बाटोबाट प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत अन्य सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि, पत्रकार तथा धार्मिक व्यक्तित्वहरू अगाडि बढ्ने निर्णय भयो । अर्को बाटो तय भयो– सभाखोलाको अन्तिम बिन्दुबाट । लेगुवा, रामबजार, हिले, सिँधुवा, वसन्तपुर, टुटे देउराली, तीनजुरे आरआर गार्डेन हुँदै माता पाथीभराको दर्शन गरी गाडीको यात्राबाट हामी गुफापोखरी पुग्यौँ ।
त्यहाँ पुग्नेबित्तिकै ८१ वर्षका खनाल बासँग प्रश्न गरियो । उहाँले यसरी बताउनुभयो, ‘माथि गुफा छ, त्यहाँ ऋषिमुनिहरू बस्ने अनि यो पोखरीमा स्नान गर्ने, यहाँ केही समय बसेपछि यहाँबाट उकालो लाग्दै सभापोखरी जाने गर्नुहुन्थ्यो भन्ने सुनेको ।’ यी वाक्यहरू सुन्नेबित्तिकै शरीर फुरुंग भयो, मनमनै सोचेँ, म कस्तो भाग्यमानी, देवता हिँडेको बाटो हिँड्न पाइयो, देवताले स्नान गरेको पोखरीमा डुबुल्की मार्न पाइयो । दौडँदै राजन पराजुली, तुलसी पौडेल, सूर्य फुयललगायत हामी पोखरीमा पुग्यौँ ।
ॐ नमामि गंगे ! भन्दै नमन गर्यौँ । जल आचमन गर्यौँ, शक्ति माग्यौँ । अनि गुफाको दर्शन भयो, अद्भूत लाग्यो । त्यहाँ नजिकै लिम्बू जातिको आस्थाको केन्द्र मेनछ्याम रहेछ । अध्ययन, अवलोकन गर्दै हामी जोरपोखरी पुग्यौँ, झमक्क साँझ पर्यो, त्यहाँभन्दा माथि बास बस्ने स्थान छैन भन्ने बुझेपछि हामी त्यहीँ बस्ने निधो भयो । त्यो स्थान त संखुवासभा, तेह्रथुम, ताप्लेजुङ ३ जिल्लाको संगमस्थल रहेछ । आफैँले भोजन बनाएर ग्रहण गर्यौँ, श्रीहरि आध्यात्मिक गुरुकुलबाट ३ जना गुरुहरू, भोजपुरबाट २ जना अनि खाँदबारीबाट ५ जना सरहरू गरेर हामी १० जना भयौँ । दसै दिशाको भ्रमण गर्ने भन्दै १० जना भुइँमा सुत्यौँ, आनन्द भयो ।
बिहान उठ्दा खुलेको मौसमले आनन्द दियो । अघिल्लो दिन राजन पराजुली सरको रुमाल बाटोमा खसेछ, बिहान खोज्न जाँदा भेटियो । हामी खुसी हुँदै, सामानको जतन गर्ने सल्लाह गर्दै हामी उकालो लाग्यौँ । मिल्के डाँडाबाट चारै दिशा झलमल्ल देखियो । हामीले शंख बोकेका थियौँ, रनननन शंघ घन्कियो । चरिरहेका गाई, भैँसीहरू यताउता दौडिए, अन्य यात्रीहरूले हाम्रो टोलीको नाम शंखे टोली राख्न भ्याएछन् । हामी झनै खुसी भयौँ । अलिक माथि सुकेपोखरी आयो, त्यसपछि लामपोखरी आयो, बाटोमा पोखरी नै पोखरी देख्दा आनन्द आउने रहेछ । जनावरहरूलाई पिउने पानी, पर्यटकलाई हेर्ने दृश्य । धार्मिक यात्रीलाई स्नान तथा पिउने पानी, पोखरीको बहुउपयोगिता देखियो । सानो ग्याँसमा पानी ततायौँ, सुप खायौँ । सख्खर चिउरा, मकै, सातु खाँदै अगाडि बढ्यौँ । दोलखाका गुरु सुजन सुवेदीलाई लेक लागेको हो कि– टाउको दुख्यो भन्नुभयो । एउटा अकबरे खुर्सानी खुवाएर नहाँसी उट्पटयाङ् गर्यौँ । पिरोले उहाँको टाउको पनि ठिक भयो ।
हामी अर्को टोलीसँग सम्पर्कमा थियौँ, उहाँहरू बास बसेको समाचार भोगेन्द्र श्रेष्ठ सरले सुनाउनुभयो । तुलसी पौडेल सरले अब हामी पनि बसौँ भन्दाभन्दै पानी आयो । हामी हतारहतार दोबाटेमा रहेको गोठमा छिर्यौँ, पानी परिरहेका बेला गोठकी दिदीले चौँरी दुहुनुभयो । हामीले फोटो, भिडियो खिच्यौँ । राजन सर र गुरुहरू पाटीमा बस्ने हुनुभयो, २ जना भरियासहित ८ जना हामी गोठमा सुत्यौँ । सबैले इच्छाभोजन गरियो ।
तेस्रो दिन बिहानै हामी पहाडैपहाड अगाडि बढ्यौँ, ताप्लेजुङ पाथीभरा नजिकै जस्तो देखिने, मनोरञ्जन गर्दै, श्लोक, भजन गाउँदै, एकले अर्कालाई उडाउँदै यात्रा बढिरह्यो । हिले पुगेर चौँरीसँग फोटो खिच्यौँ, दूध, छुर्पी खायौँ, अनि बाटोमा टुसा भाँच्दै खाँदै गिद्धे भन्ने ठाउँमा बिहानको खाना खाई भन्ज्याङतर्फ लाग्दा बाटोमा सुन्दर पोखरी भेटियो । लामाहरूले लुङ्ता टाँग्दै हुनुहुन्थ्यो । अलिक तल भुतेपोखरी रहेछ, हामीले त्यहीँका पात, फूल टिपेर पूजा गर्यौँ । जंगलको बीचमा रहेको मनमोहक पोखरीको फोटो लियौँ ।
केही साथीहरू अलिक पछाडि हुनुहुन्थ्यो, अत्यन्तै ठाडो उकालो आयो । स्याँ–स्याँ गर्दै जाँदै थियौँ, पानी पर्न लाग्यो । खुट्टा धेरै दुखेका थिए, जंगलमा भत्केको धर्मशाला (पाटी) देख्यौँ । खम्बोले नामक स्थान रहेछ । सबै त्यता गयौँ, भित्र पुग्दा इटहरीका यात्रीहरू आगो बालेर बस्नुभएको रहेछ, दाउरा कम देखियो, झोला फुत्त फालेर सुजन तिवारी सर र म खुकुरी बोकी जंगल पस्यौँ । एउटा लडेको रूख बोकेर ल्यायौँ, पानी झनै बढ्यो । साथीहरूलाई पानीले भिजाएछ, १ घन्टापछि मात्रै आइपुग्नुभयो । भोजन बनाई खायौँ । चुलीगारो भत्केको अगाडि खुला, पुरानो गोठ भए पनि हामीलाई स्टार होटलझैँ लाग्यो । त्यो जंगलको बास, सबैको पवित्र भावना, सहयोगी मनहरू, प्रकृतिको ममता, साँच्चिकै स्वर्गीय सुखको अनुभूति हामीलाई मिल्यो ।
बिहान २ बजेबाटै होहल्ला सुरु भयो । ओछ्यानबाट ८२ वर्षका १ जना यात्रीले जीवनका कहानी सुनाउँदै गरेको सुनियो । साह्रै रमाइला बा । दुइटी श्रीमती रहेछन्, दुवैपट्टिका २ छोरा लिएर तीर्थयात्रामा हिँडेका । बाटोमा हिँड्दा, गोठालो जाँदा गर्ने खालका गफ कति भए कति । हामी सबै प्रसन्न थियौँ । दुःख, रिस, लोभ, काम, मोह, मद, मात्सर्यको भाव कसैमा थिएन । हामी त स–साना खुसी बटुल्दै आनन्दको गहिराइ भेट्न हिँडेका थियौँ ।
चौथो दिन बिहान नित्यकर्म सकेर उकालो लाग्यौँ, नाक ठोक्किने उकालो । सुन्दर फूलहरू, शंखजस्ता ठुल्ठुला पहाड, सुगन्धित बुट्यानहरू प्रशस्तै भेटिने । लेक नलागोस् भनेर जडिबुटी, सातु, खुर्सानी, टिमुर, लसुन आदि खाँदै अगाडि बढ्यौँ । सबैले खोजीमा काजु, पिस्ता, बदाम, नरिवल, सख्खरजस्ता वस्तु खुसुखुसु खाने चलन हामीले पनि छाडेका थिएनौँ । हामी खाना खाने समयमा थुम्की पुग्यौँ, हामीसँग सबै सामग्री थियोे, गोठको सहारा लिएर सबैजना भोजनको तयारीमा लाग्यौँ, कोही पानी लिन, कोही भोजन बनाउन, कोही आलु पोल्न, कोही घुम्न, यस्तै–यस्तै लगभग २ घन्टाको बसाइमा सबै काम सकेर अगाडि बढ्यौँ ।
भकारी छिरुवा नामक सुन्दर स्थान आयो । त्यहाँ मन्दिर र सुन्दर पहाड रहेछ, दुइटा बाटो रहेछन् । जलजले हुँदै जाने बाटोमा सुन्दर पोखरीहरू, ताप्लेजुङ सबै देखिने तर सिँढीबिनाको बाटो । यता सेलेले–फेलेले निस्किने बाटो सजिलो रहेछ, हामीले सजिलो रोज्यौँ । सुनपाती–भैरुङपातीको सुगन्धले आनन्द आइरहने, साथीहरू फोटो, भिडियोमा रमाउने, ठट्यौली त कति हो कति । सबैले मान, पदवी, उपाधि सबै भुलेर तीर्थालुको उपाधि धारण गरेको क्षण । बाटामा भेटिएका यात्रीलाई अवस्थाअनुसारको साइनो पनि लगाइयो– कोही दिदी, भान्जी, काका, सोल्टी, सोल्टिनी, ससुराली आदि कति हो कति (यो नितान्त बाटो कट्ने माध्यम थियोे) ।
सेलेले अनि फेलेले हुँदै राते ओढार (४ हजार ४२ मिटर) पुग्दा अचम्म लाग्यो । ठुलो ओढार, भित्र प्राकृतिक धारो, बस्ने ठाउँ आनन्दको । हामीले शंख बजायौँ, अर्को टोलीबाट पनि शंखको आवाज आयो, शंखवादन प्रतियोगिता गर्ने भइयो । मैले हाम्रो टिमको नेतृत्व गरेँ, अनुभवी बा, मैले केही सेकेन्डले हारेँ । हार स्वीकार गरेँ । बाबैको शंख राम्रो रहेछ, मेरो सानो शंख भएर हारेको भन्दै आफ्नो रुन्चे पारा (बालापन) पनि देखाएँ । त्यहाँबाट अगाडि जाँदा अत्यन्तै अप्ठ्यारो उकालो रहेछ । दुलेगैरी पुग्यौँ (४ हजार ७८ मिटर) । बाटो उकालो थियोे । त्यो उकालो यात्राको अन्तिम उकालो रहेछ । उकालो काट्ने जति धर्मात्मा रहेछन् ।
हामी धर्मद्वार (४ हजार २७८ मिटर) पुग्यौँ । पूजापाठ गर्यौँ, देवतासँग अनुमति मागेर हामी गन्तव्यतर्फ (सभापोखरी) लाग्यौँ । कोही साथीहरू पछाडि नै हुनुहुन्थ्यो, हामी केही समयमा सभापोखरीभन्दा तल धर्मशाला परिसरमा पुग्यौँ । सबै पाटीहरू भरिएका थिए, बाहिर त्रिपाल टाँगेर भक्तहरू बसेको देखियो । राजन पराजुली सर, भक्तबहादुर घिमिरे, सुजन तिवारी, सूर्य फुयाल आदि अगाडि थियौँ । निराश हुँदै घुम्दै गर्दा संखुवासभा जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी घनश्याम श्रेष्ठ सरसँग भेट भयो । मेरो परिचय थिएन, उहाँले सरहरूसँग कुरा गर्नुभयो । ‘यी दुइटा टेन्ट तपाईंहरूको’ भन्नेबित्तिकै मलाई साक्षात् भगवान् शंकरको कृपा भयोजस्तो लाग्यो । साथीहरू आइपुग्नुभयो, हामी व्यवस्थित भयौँ, यात्राको थकान त्यसै मेटियो ।
मौसम खुलेको थिएन, तर तीर्थको शक्तिले हामीलाई दिव्य आनन्द आइरहेको थियोे । त्यहाँभन्दा धेरै माथि पाँचपोखरी रहेको कुरा हामीले सुनेका थियौँ । हामीले त्यहाँ जाने संकल्प पनि गरेका थियौँ, गफ गर्दै गर्दा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कासँग भेट भयो । उहाँहरू दिउँसो पाँचपोखरीको यात्रामा निस्कनुभएछ । मौसम सभा नभएको र बाटोको पहिचानसमेत नभएकाले बीचबाटै फर्कनुभएछ । धेरै भलाकुसारी भए, उहाँले शक्तिका विषयमा केही उदाहरणसहित हामीलाई अनुभूति बताउनुभयो । तातोपानी, भोजन, आवासको व्यवस्था उहाँहरूबाटै भयो । हामी त आमाको काखमा रमाएको बच्चाझैँ भयौँ ।
भोगेन्द्र सर, राजन सरलगायत हामी पोखरी दर्शन गरी फर्कियौँ । तल आएर कपाल मुण्डन गर्न तयार भइयो । भक्त सरले कपाल काटिदिँदा आधा दर्जन जति ठाउँबाट रगत आयो । चिसो ठाउँ, हात कामेका थिए । रिस पोख्नुभयो कि कसो ? भन्दै ठट्यौली पनि गर्यौँ । फलाहार गर्यौँ । राति धेरैबेर चर्चा, परिचर्चा गर्दै आराम गर्यौँ ।
पाचौँ दिन प्रातःकालमा सभापोखरी गएर सामूहिक स्नान गरी, विधिवत् रूपमा यज्ञोपवीत धारण गर्यौँ । ठकुमल्ला भगवतीको मन्दिरमा पाठपूजा गरी रक्षासूत्र धारण, भव्य आरती गर्दै आध्यात्मिक आनन्द प्राप्त भयो । सबै दुःख भुल्यौँ, सूर्यले दर्शन दिनुभयो । त्यो दिव्य पल जीवनभर स्मरण रहिरहनेछ ।
पाँचपोखरीको यात्रामा हामीले सारथि (स्थानीय सहयोगी) पाएनौँ, साथीहरू नजाने निर्णयमा छिटै पुग्नुभयो । समूहले नजाने सल्लाह गर्यो । १ जना तीर्थयात्री बिरामी भएपछि बोकेर लाने व्यवस्था समितिले गरिदियो । स्थानीय भेडीगोठका दाजुभाइले पालैपालो बोक्दै झार्नुभयो, अरू विकल्प थिएन । सबै व्यवस्था मिलाइसकेर जलपान गरी सिडिओ, डिएसपी साबहरू अगाडि बढ्नुभयो । हामी लगभग १ घन्टापछि भजन गाउँदै, जयजयकार गर्दै बाटो लाग्यौँ ।
धर्मद्वार, रातेओढार, सेलेले हुँदै हामी अर्को बाटो लाग्यौँ । बाह्रबिसे निस्किने बाटो पालिकाले सफा गरेको देखियो, ठाउँठाउँमा पहिल्यै पानी, तथा बस्ने पाटीको व्यवस्था गरेको तर तत्काल प्रयोगमा नआएको, भत्किएको देखियो । हामी लगभग ४ हजार ३०० उचाइबाट तल झर्दै थियौँ । अत्यन्तै ठाडो ओरालो थियोे । बिखबारी, चरित्रे भिर (३ हजार ५३५ मिटर) डरलाग्दो रहेछ । त्यहाँबाट लडियो भने भगवान्को प्यारो हुने निश्चित छ । बाटोमा डिएसपी घनश्याम श्रेष्ठ सरसँग अध्यात्मसम्बन्धी व्यापक चर्चा गर्दै हिँड्यौँ । अत्यन्तै होसियारीपूर्वक हामी चौँरीगोठमा पुग्यौँ । तातोपानी पियौँ, खाजाको राम्रो प्रबन्ध देखिएन । मकै खाँदै गफिँदै हिड्यौँ । ध्रवबहादुर सरले जीवनमा आवश्यक ज्ञानका कुरा बताउनुभयो । हामी धेरै तल झरिसकेका थियौँ । भैँसी गोठमा पुगेर मिठो, बाक्लो मोही खायौँ, अमृत खाएको अनुभव भयो ।
माथिल्लो थुम्की हुँदै तल्लो थुम्की पुग्यौँ, बाटोमा टुसा भाँचेको थियोे, तरकारी खान पाइन्छ कि ! भन्ने आशा मनमा आइरहन्थ्यो । तल्लो थुम्कीमा पुग्दा प्रकृति मुस्कुराइरहेकी रहिछन्, इन्द्रेणी आयो । हामीले फोटो खिच्यौँ, एउटा क्यामेरा थियोे, त्यसमा अरूको पहुँच थिएन । डिएसपी साबले सबैको फोटो खिचिदिनुभयो, हामी रमायौँ ।
हामीलाई रमाउन ठुलो विषय नचाहिने । १ जना प्रहरी मित्रलाई घाँटी, टाउकोमा धेरै जुकाले टोकेछ, हामी हाँस्यौँ, पछि नरिसाउनु है पनि भन्यौँ । सप्तरंगी इन्द्रेणी लागेको तुलसी पौडेल सरलाई (हाकिमसाब) नयाँ लुगा लगाएर इन्द्रेणी शीरमा राखी फोटो खिच्न मन भएछ, लुगा मिलाउँदै गर्दा इन्द्रेणी आफ्नो बाटो लागिछन् । हामीले हाँसो रोक्न सकेनौँ ।
हामी खरबारीको बाटो झरिरहेका थियौँ, बेलुका भइसकेको छ, बास बस्ने ठाउँ तल देखिन्छ । हरियो मकैबारी पनि देखिन्छ, हाम्रो गल बेलुकाको बासस्थान र खाने कुरामा केन्द्रित हुन थालेको थियोे । नयाँ बाटो बन्दै रहेछ, तुलसी सर चिप्लनुभयो, त्यो विषयले पनि एकछिन मनोरञ्जन भयो । हामी यात्रामा अत्यन्तै रमाइलो गर्दै झर्यौँ, सिडिओ साब पनि लड्नुभयो, सबै लडिसक्नुभएको रहेछ, रमाइला गफ बीचबीचमा अनगन्ती भइरहेका थिए । लड्न म बाँकी रहेछु, अब गुरुको पालो भन्नुभयो । म मनमनै नचिप्लिने अठोट गर्न थालेँ ।
आफ्नो झोलामा बाँकी रहेका औषधिहरू नुवाकोटबाट आएर काम गरिरहेका मजदुरहरूलाई सबैले छाडिदिनुभयो । टाढाबाट दुःख गरेर ल्याएको पानी हामीले माग्यौँ, उहाँहरूले खुसीले दिनुभयो, हामीले प्रेमपूर्वक पियौँ । झमक्क साँझ पर्यो, हामी लगभग गाउँ आइसकेका थियौँ । प्रमुखज्यूहरूको अलिक तल, हाम्रो अलिक माथि बस्ने व्यवस्था थियोे । पहाडका घर, सानो ठाउँ, समस्या पनि थियोे । बत्ती बालेर हामी हिड्यौँ, छुट्टिने बेलामा धारो आयो, सुन्दर चौतारी पनि । नेपाली गीत बज्यो– हामी नाच्न थाल्यौँ । डिएसपी साबको सुन्दर नृत्य देखेर सिडिओ साबले भिडियो गर्नुभयो । भोगेन्द्र सर मुस्कुराउँदै नाच्नुभयो । अत्यन्तै खुसीको क्षण । दिनको समाप्ति, रात्रिको स्वागत । जय शम्भो ! शुभरात्रि भन्दै हामी छुट्टियौँ ।
केही पर पुगेपछि बास बस्ने ठाउँ आयो, साथीहरूले सबै व्यवस्था मिलाउनुभएको रहेछ । आफैँ पकाएर खानुपर्ने, लिम्बूको घर रहेछ । हामीले मकै खाने इच्छा गर्यौँ । बत्ती बाली बाजेलाई लिएर मकै बारीमा गयौँ । मकै उसिनेर, पोलेर खायौँ, सबैले इच्छाभोजन गरी सुत्ने तयारी भयो । धेरै तीर्थयात्री, कोही भान्साघरमा, कोही भित्र । वरिपरि पाल टाँगेर राडि ओछ्याई हामी बाहिर पिँढीमा सुत्यौँ । गलेको शरीर, निद्रा छिटै आयो । बिहान साथीहरूले बोलाउँदा उज्यालो भइसकेछ । स्नान गरी नित्यकर्मपश्चात् सातु खायौँ । त्यहाँबाट बिदा भएर हामी ओरालो लाग्यौँ । तल सबैसँग भेट भयो । चिया खायौँ, सामूहिक तस्बिर खिचेर सबैजना बाटो लाग्यौँ ।
तल सुन्दर खोला, खुलेको मौसम, मन रोमाञ्चित भइरहेको थियो । घनश्याम सर र हामी अलिक छिटो दौडँदै, फोटो लिँदै अगाडि बढ्यौँ । लगभग ५ किलोमिटर हिँडेपछि, वडा कार्यालय नजिकै घरमा काँक्रा खाँदै अनुभवहरू साटासाट गर्यौँ । केही समयमा सबै आउनुभयो । हामी भोजनको तयारीमा लाग्यौँ, सिडिओ साब र डिएसपी साबहरू सभापोखरी पालिकाको केन्द्र बाह्रबिसेतर्फ लाग्नुभयो ।
हामीले भोजनपश्चात् पुनः यात्रा सुरु गर्यौँ, खोलैखोला, अलैँचीबारीको बाटो, अलैँची टिप्दै खाँदै मन्जुवा दोभानमा पुग्यौँ । गाडी बाटो देखेपछि सबैका खुट्टा फतक्कै गले । भक्तबहादुर सरले गाडीको व्यवस्थापन गर्न थाल्नुभयो । हामी खोलामा नुहाउन थाल्यौँ, साह्रै आनन्दसँग पौडी खेल्यौँ । गाडी आएपछि हामी सभापोखरी गाउँपालिकाको सभाहलमा भइरहेको कार्यक्रममा गयौँ । गापा अध्यक्ष भीमबहादुर लिम्बू, उपाध्यक्ष लक्ष्मी चापागाईं, संखुवासभा जिल्लाका सुरक्षा निकायका प्रमुखज्यूहरू, कार्यालय प्रमुखज्यूहरू, बुद्धिजीवी, कर्मचारी, सभापोखरी क्षेत्र विकास समितिका पदाधिकारीलगायतको उपस्थितिमा समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा सहभागिता जनाइयो । कार्यक्रममा सभापोखरीलाई एक कल्पवृक्षका रूपमा वर्णन गरियो । प्रमुख जिल्ला अधिकारीले प्रचारप्रसारका साथमा व्यवस्थापन आवश्यक रहेको, पालिकाले गौरवको महसुस गर्नुपर्ने, छिमेकी जिल्लाले समेत अपनत्व लिने अवसर दिलाउनु आवश्यक रहेको, त्यहाँ पाइने जडीबुटीलाई ब्रान्डिङ गरी संसारभर पुर्याउन सकिने विषयमा सोदाहरण प्रस्ट्याउनुभयो ।
कार्यक्रम समापनपश्चात् बाह्रबिसेबाट हुतिखिम, धुपुडके, लेब्राङ, पाङ्माखोला, राम्चे हुँदै खाँदबारी आयौँ । बेलुका व्यापक समीक्षासहित सहभोजन गरियो । भोलिपल्ट सबै मिलेर मनकामना गुरुकुलमा तीर्थेभोजको समेत व्यवस्था भयो । हामीलाई मनकामनाका गुरुहरू विष्णु भट्टराई, शम्भु लम्साल, सुजन सुवेदीले पनिरको मीठो सब्जीको साथमा रोटी खुवाउनुभयो । हामीले सभाखोलामा पुनः स्नान गरी यात्रालाई पूर्णता प्रदान गर्यौँ ।
प्रतिक्रिया