म्याड्रिड । राफिन्हाको ह्याट्रिकमा रियल भालाडोलिडसँगको खेलमा ७–० को जित हात पारेको छ । बार्सिलोनाले स्पेनिस ला–लिगमा सानदार सुरुआत गरेको छ । हान्सी फ्लिकको टोली सुरुआती ४ वटै खेलमा जित हात पार्ने एक मात्र टोली हो । बार्सिलोनाले साविक विजेता रियल म्याड्रिडलाई ७ अंकले पछि पारेको छ । ओलम्पिक रंगशालामा भएको खेलमा पूर्व लिड्स विंगर राफिन्हाले २०आँै मिनेटमा पहिलो गोलको अग्रता दिलाएका थिए ।
पाउ काबार्सीको गोलमा डिफेन्सबाट आएको लोभलाग्दो र सुन्दर पासलाई उपयोग गर्दै राफिन्हाले गोल गरेका हुन् । उनले छातीले बललाई नियन्त्रणमा लिँदै विपक्षी गोल रक्षकलाई पार गरेका थिए ।
त्यसको ४ मिनेटपछि नै रोबर्ट लेड्वास्कीले अर्को गोल गरे । लामिन यमालको लामो पासलाई सही ढंगले उपयोग गर्दै उनले गोल गरेका थिए । सुरुआती २ गोल लगभग उसै शैलीका थिए । पहिलो हाफको इन्जुरी समयसम्म भालाडोलिडले बार्सिलोनालाई यस स्कोरमै रोके पनि जुलियस काउन्डेको गोलमा बार्सिलोनाले पहिलो हाफमा नै ३ गोलको अग्रता लिएको थियो ।
खेलको उत्कृष्ट खेलाडी पक्का गर्ने क्रममा ब्राजिलियन राफिन्हाले दोस्रो हाफमा थप २ गोल गरे । यमालले राफिन्हालाई अर्को गोलको पनि अवसर सिर्जना गरी दिएका थिए । रक्षापंक्तिबाट आएको थ्रु पासलाई उपयोग गर्दै उनले गोल गरेका हुन् । डानी अल्मोले क्लबको छैटौँ गोल गरे । वैकल्पिक खेलाडी फर्नान्डो टोेरेसले थप गोल गरे ।
यस सिजनमा युरोपका ५ शीर्ष लिगमा राफिन्हाको पहिले ह्याट्रिक हो । बार्सिलोनाका लागि २ या बढी गोल गरेको उनले यो दोस्रोपटक हो । उनले टोलीले गरेको अन्तिम २ गोलका एसिस्ट पनि गरेका थिए । उनको यो प्रदर्शनले स्पेनमा उनको आगमन सुखद् देखिएको छ ।
बार्सिलोनाको यो फराकिलो जितमा भालाडोलिडका गोलरक्षक कार्ल हेनको कमजोर गोल रक्षण पनि एउटा कारण बनेको थियो । यी मध्येका केही गोल उनले रोक्न पनि सक्थे । बार्सिलोनाका केही प्रहार गोल पोस्टमा नलागेको भए उनका लागि दिन अझ खराब पनि हुन सक्थ्यो । यस जितपछि अन्तर्राष्ट्रिय खेलका लागि हुने ब्रेकअघि बार्सिलोनाले आफूलाई दरिलो स्थानमा उभ्याएको छ । बार्सिलोनाले अबको खेल १५ सेप्टेम्बरमा गिरोनासँग खेल्नेछ । शनिबार राती भएका अन्य खेलमा एथलेटीको म्याड्रिडले एथलेटिक क्लबलाई १–० ले तथा इस्पोनियोलले रायो भल्कानोलाई २–१ ले हराएका छन् । अन्य खेलमा भ्यालेन्सिया र भिल्लारियलबीच १–१ गोलको बराबरी भयो । रियल मालोर्काले लेगानेसलाई १–० ले हराएको छ ।
स्पेनमा राफिन्होले नयाँ सिजन सानदार बनाएजस्तै इटालियन रिसिएको खेलमा पनि पर्मासँगको खेलमा रोमन लुकाकु नायक भए । १ दिनअघि मात्र नेपोली पुगेका लुकाकु मैदानमा प्रवेश गर्दा एन्टेनियो कोन्टेको टोली १–० ले पछि थियो । आङ योन बोनेको गोलमा १९आँै मिनेटमा पर्माले अग्रता लिएको थियो । १ घण्टा बितिसकेपछि मैदानमा प्रवेश गरेका बेल्जियमका अन्तर्राष्ट्रिय स्टार लुकाकुले इन्जुरी समयका बराबरी गोल गर्न सफल भए । ९६आँै मिनेटमा फ्रान्क जाम्बो एंगुसियोले नेपोलीलाई नाटकीय जित दिलाए ।
सिरिएमा लुकाकु स्मरणीय कीर्तिमान छ । १३० खेलमा उनले ७१ गोल गरेका छन् । नेपोलीले १५ सेप्टेम्बरमा काग्लारीसँग खेल्नेछ । लुकाकु नेसन्स लिग गेमका लागि राष्ट्रिय टोलीका लागि आबद्ध पनि हुनेछन् । बेल्जियमको सुरुआती २ खेल इजरायल र फ्रान्ससँग हुनेछ ।
इटालियन सिरिएकै अर्को खेलमा एसी मिलान र लाजियोको बीचमा २–२ गोलको बराबरी भएको छ । मिलानका लागि अमेरिकी अन्तर्राष्ट्रिय खेलाडी क्रिस्चियन पुलिसिक र युनुुस मुसाहको सहयोगमा मिलानले १ अंक बटुलेको हो । पुलिसिकको कर्नरमा स्ट्राहिन्जा पाब्लोभिकले आठौँ मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भालेन्टिन कास्टेलेनोस र बुलो डियाको गोलमा लाजियोले अग्रता लिएको थियो । पहिलो गोलका लागि पनि डियाले अवसर सिर्जना गरिदिएका थिए । सो खेलमा टोनी इब्राहिमसँगको समन्वयमा राफेल लियाओले मिलानका लागि बराबरी गोलको अवसर सिर्जना गरेका थिए ।
प्रतिक्रिया