गफको उपाधि रक्षाको सम्भावना कायम

न्युयोर्क । साविक विजेता कोको गफ यूएस ओपन टेनिसको तेस्रो चरणको खेलमा एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै युक्रेनी एलिना स्भिटोलिनासँगको खेलमा जित हात पार्न सफल भएकी छिन् । सोही जितले उनलाई चौथो चरणमा प्रवेश गराएको छ । सन् २०१४ मा सेरेना विलियम्सपछि उपाधिको रक्षा गर्ने पहिलो खेलाडीका रूपमा सफलता पाउने योजनामा रहेकी गफको यात्रा सहज भने छैन ।

तेस्रो चरणको खेलमा उनले आफ्नो प्रतिद्वन्द्वीलाई ३–६,६–३,६–३ ले हराएकी हुन् । जित पछि गफले एलिनाले सधैँ आफूसँग राम्रो खेल्ने बताउँदै आफूले पनि सत प्रतिशत बल लगाएको प्रतिक्रिया दिएकी छिन् । गफले चौथो चरणमा अम्मा नाभारोको सामना गर्ने छिन् । नाभारोले तेस्रो चरणमा युक्रेनकै अर्की खेलाडी मार्टा कोस्टुयकलाई ६–४,४–६,६–३ ले हराएकी हुन् । यी दुई अमेरिकीको यसै वर्ष विम्बल्डनको चौथो चरणमा पनि भेट भएको थियो । सो खेलको बिचमा नै नाभारोको स्वास्थ्यमा समस्या आएको थियो । गत सिजनकी उप विजेता आर्येना साबालेन्काले एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै रुसकी एक्टेरिना अलेक्जान्द्रोभासँगको खेलमा २–६,६–१,६–२ ले जित हात पारेकी हुन् ।

यस वर्षको यूएस ओपनमा केही अप्रत्याशित परिणाम नदेखिएका होइनन् । एलेक्सी पोपोरिनसँग नोभाक जोकोभिक पराजित भइसकेका छन् । अर्थर एस स्टेडियममा भएको खेलमा स्भिटोलिनाले ५–३ को अग्रता लिएको समयमा नै दर्शकहरूलाई मौन बनाएकी थिइन् । दोस्रो सेटमा ब्रेक प्वाइन्टलाई उपयोग गर्ने क्रममा सुरुवातमा उत्कृष्ट फोरह्यान्ड सर्टको नमुना देखाएकी थिइन् । लगातार दुई पटक ब्रेक गरेकी गफले खेलमा ४–१ को अग्रता लिए पछि नै उनको जित निश्चित झैँ देखिएको थियो । गफलाई पछि पार्दै विश्व वरीयता क्रमको दोस्रो स्थानमा उक्लेकी साबलेन्का पनि उत्कृष्ट सुरुवात गर्न असमर्थ रहेकी थिइन् । २९ बर्सिया अलेक्जान्द्रोभाले लगातार दुई पटक ब्रेक गरे पछि उनी निराश बनेकी थिइन् ।

साबलेन्काले पहिलो सेटमा प्रतिद्वन्द्वीले साँच्चै राम्रो खेलेको बताउँदै उनको प्रशंसा गरेकी छिन् । अस्ट्रेलियन ओपन विजेता उनले चौथो चरणमा बेल्जियमकी एलेन्स मार्टेन्सको सामना गर्ने छिन् । मार्टेन्सले चौथो चरणमा १४ औ बरीयताकी अमेरिकी एलाई मार्टेन्सलाई ६–७, ७–५,६–४ ले हराएकी हुन् ।

शुक्रवार नै स्पेनकी पाउला बाडोसा एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै रोमानियाकी एलेना गाब्रियला राउसलाई हराउन सफल भइन् । सो खेलमा बाडोसाले म्याच प्वाइन्ट समेत जोगाएकी थिइन् । पूर्व विश्व वरीयता क्रमको दोस्रो स्थानकी खेलाडी उनले चोटले ग्रस्त यस वर्षमा यो एक उत्कृष्ट खेल भएको प्रतिक्रिया दिएकी छन् ।

उनले चौथो चरणमा शीर्ष वरियताकी भिक्टोरिया अराजेन्कोलाई हराएकी चिनिया खेलाडी वाङ याफनको सामना गर्ने छिन् । याफनले तेस्रो चरणमा अराजेन्कोसँगको खेलमा ६–४,३–६, ६–१ को सफलता पाएकी हुन् ।

ओलम्पिक च्याम्पियन झेङ यी वेनको पहिलो ग्रान्डस्लाम उपाधिको सम्भावना कायम नै छ । उनले तेस्रो चरणमा जर्मनीकी जुल नेइमेयरलाई ६–२,६–१ले सहजै हराएकी हुन् । झेङले अबको खेलमा विम्बल्डनमा सेमिफाइनल प्रवेश गरेकी डोना भेकिकसँग खेल्ने छिन् । भेकिकले अमेरिकाकी पियटन स्ट्रन्सलाई ७–५,६–४ ले हराएकी हुन् ।

प्रतिक्रिया