महिला टी–२० विश्वकपमा लागि भारतीय र अस्ट्रेलियाको टोली घोषणा

नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले महिला टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको छ । टिमको कमान्ड हरमनप्रित कौरलाई दिइएको छ । यस्तै, स्मृति मन्धानालाई उपकप्तान बनाइएको छ । विश्वकप ३ अक्टोबरबाट सुरु हुँदै छ । फाइनल खेल अक्टोबर २० मा हुनेछ । भारतीय टोलीको पहिलो खेल ४ अक्टोबरमा न्युजिल्यान्डसँग हुनेछ ।

यसअघि यो प्रतियोगिता बंगलादेशमा खेल्ने भनिए पनि देशमा राजनीतिक फेरबदल भएपछि आइसिसीले प्रतियोगिता युएईमा सारेको थियो । अब प्रतियोगिताका सबै खेल शारजाह र दुबईमा हुनेछन् ।

भारतीय टोली (बक्स)

हरमनप्रित कौर (कप्तान), स्मृति मन्धाना (उपकप्तान), शेफाली वर्मा, दिप्ती शर्मा, जेमिमाह रोड्रिग्स, ऋचा घोष (विकेटकिपर), यास्तिका भाटिया (विकेटकिपर), पूजा वस्त्राकार, अरुन्धती रेड्डी, रेणुका सिंह ठाकुर, दयालन हेमलान शोभना, राधा यादव, श्रेयंका पाटिल, सजना सजीवन ।
ट्राभलिङ रिजर्भ ः उमा क्षेत्री (विके), तनुजा कंवर, साइमा ठाकोर । नन ट्राभलिङ रिजर्भ रघवी बिष्ट, प्रिया मिश्रा ।

यस विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । समूह ‘ए’ मा भारत ६ पटकको च्याम्पियन अस्ट्रेलियासँग छ । यसबाहेक यो समूहमा पाकिस्तान, न्युजिल्यान्ड र छनोटको टोली समावेश छ । समूह ‘बी’ मा आयोजक बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र क्वालिफायर–२ टोली छन् ।

क्रिकेट अस्ट्रेलिया (सिए) ले पनि आइसिसी महिला टी–२० विश्वकप २०२४ का लागि आफ्नो टोली घोषणा गरेको छ । अनुभवी स्पिनर जेस जोनासेनले टी–२० ढाँचामा ९६ विकेट लिए पनि अस्ट्रेलियाको १५ सदस्यीय टोलीमा स्थान पाएकी छैनन् ।

अस्ट्रेलियाको महिला टोलीमा जोनेसनको स्थानमा टेला भ्लेमिन्कलाई समावेश गरिएको छ । डार्सी ब्राउन चोटबाट फर्किएकी छन् । टी–२० विश्वकपका लागि छनोट भएको टोलीले अर्को महिना न्युजिल्यान्डसँग ३ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । अलराउन्डर हेदर ग्राहम टोलीसँग युएई जाने छैनन् ।

अस्ट्रेलियाको टोलीः

एलिसा हिली (कप्तान), डार्सी ब्राउन, ऐस गार्डनर, किम गर्थ, ग्रेस ह्यारिस, अलाना किंग, फोबी लिचफिल्ड, ताहलिया म्याकग्रा (उप–कप्तान), सोफी मोलिनक्स, बेथ मुनी, एलिस पेरी, मेगन सट, अन्नाबेल सदरल्यान्ड, जर्जिया वेयरहम ।

केही दिनअघि बंगलादेशमा राजनीतिक अस्थिरताका कारण महिला टी–२० विश्वकप बंगलादेशबाट युएईमा सारिएको थियो । अक्टोबर ३ बाट सुरु हुन लागेको यस प्रतियोगिताका खेल दुबई इन्टरनेसनल र युएईको शारजाहको मैदानमा हुनेछन् । श्रीलंका र जिम्बाब्बे क्रिकेट बोर्डले पनि आआफ्नो देशमा प्रतियोगिता आयोजना गर्न चासो देखाए पनि काउन्सिलले खेल युएईमा गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया