काठमाडौँ । बर्खायाम लागेसँगै डेंगी र हैजा रोगको संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी रोगको संक्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी रोगको संक्रमण देखिएको बताए ।
७५ जिल्लामा गरी ५ हजार ११९ जनामा डेंगी रोगको संक्रमण देखिएको छ । यस वर्ष डेंगी रोगका कारण ३ जनाको मृत्यु भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्किन्छ । त्यही लार्भा वयस्क भएर मान्छेलाई टोक्दा डेंगी रोग लाग्छ ।
काठमाडौँ जिल्लामा ४२१, भक्तपुरमा ५८ र ललितपुरमा ७९ जनामा डेंगी संक्रमण देखिएको छ । बर्खाको बेला पानी संकलन गरेर राख्ने, संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको संक्रमण बढेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेंगी रोगका बिरामीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय पनि गरेको छ ।
यस्तै, महाशाखाका अनुसार देशभर हैजाका बिरामी ६७ जना पुगेका छन् । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले ललितपुर, काठमाडौँ, प्युठान, मकवानपुर र कैलाली जिल्लामा हैजाका बिरामी भेटिएको बताए ।
उनका अनुसार ललितपुरमा ४७ जना, काठमाडौँमा ९ जना, कैलालीमा ८ जना, प्युठानमा २ जना र मकवानपुरमा १ जनामा हैजा पुष्टि भएको छ । हैजा अतिसंक्रामक र शिघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने, वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्छ ।
प्रतिक्रिया