सिस्नुपानीले सोध्यो– चोर कुन चैँ हो ?

हेटौँडा । गाईजात्राको अवसरमा सिस्नुपानी नेपाल मकवानपुरले सोमबार हेटौंडामा हास्यव्यङ्ग्य कार्यक्रम सम्पन्न गरेको छ । गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम २०८१ नाम दिइएको कार्यक्रममा सिस्नुपानीले विभिन्न हास्यव्यङ्ग्य सामग्रीमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।

विभिन्न समसामयिक सामाजिक तथा राजनीतिक विषयवस्तुमाथि व्यङ्ग्य गरिएका प्रस्तुतिहरु रहेको कार्यक्रममा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो । सिस्नुपानीका कलाकारहरुले चोर कुन चैँ हो शीर्षकमा व्यङ्ग्यात्मक गीत प्रस्तुत गरिरहँदा दर्शकले भरपुर मनोरन्जन लिएका थिए । मकवानपुरका स्थानीय कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रममा प्रहसन, प्यारोडी गीत तथा व्यङ्ग्य कविताहरु समेत समावेश थिए ।

सुमार्गी हुमागाईँ, सत्याग्रही गहन खतिवडा, डीबी बर्तौला, रजनी पौडेल, सानु खनाल, मीनप्रसाद लामिछाने, आरसी रिजाल, मनोज पोखरेल, ओमभक्त भण्डारी, सुवास सजल, देव दुलाल, विशेषता अधिकारी, सलिना थापा लगायतका कलाकारहरु प्रहसनमा सहभागी थिए । यस्तै पुरुषोत्तम आचार्य र गोविन्द पौडेलले व्यङ्ग्य कविता सुनाएका थिए भने प्रलय चौलागाईँ, अजर फुयाँल, सुनिल केसी, विश्व अधिकारी लगायतले माहौललाई साङ्गीतिक बनाएका थिए ।

कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले व्यङ्ग्यात्मक बजेट भाषण गर्दै गर्दा संप्रस पौडेलको प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो । सो अवसरमा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले सिर्जनात्मक रुपमा कलाकारहरुले गरेको स्वस्थ आलोचनाले समाजमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गरे ।

हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको प्रवद्र्धनमा ओम्याक्स सिनेमा हलमा कार्यक्रम सम्पन्न भएको थियो । सिस्नुपानी मकवानपुरले केही वर्ष यता गाईजात्राका अवसरमा हेटौंडामा विशेष कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया