चुलाचुलीका ६ वटै वडा जोड्ने सडक कालोपत्रे

इलाम । इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक कार्यालयबाट सबै वडा कार्यालय जोड्ने सडक खण्ड कालोपत्रे गरिएको छ । संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा एवं गाउँपालिकाको आफ्नै बजेटमा ६ वटै वडा कार्यालय जोड्ने सडक खण्ड कालोपत्रे गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।

चुलाचुली गाउँपालिकाले टोलटोलसम्म कालोपत्रे सडक पु¥याउने उद्देश्यले थालेको पहिलो चरणको योजना पूरा गरेको हो । सबै वडामा कालोपत्रे सडक पु¥याउने पहिलो चरणको योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।

चुलाचुली गाउँपालिकाले ६ वटै वडा जोड्ने सडक कालोपत्रे गर्ने योजना कार्यान्वयन गरेको हो । चुलाचुली गाउँपालिकामा हालसम्म विभिन्न सडक खण्डका १५ किलोमिटर ७०० मिटर सडक कालोपत्रे गरिएको छ । वडा–वडामा निर्माण गर्ने भनिएको कालोपत्रेको पहिलो चरणको काम सकिएको छ ।
गाउँपालिका अध्यक्ष केरुङका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा मात्र ५ किलोमिटर ३०० मिटर सडक कालोपत्रे गरिएको छ । जसमध्ये २ किलोमिटर १०० मिटर सडक गाउँपालिकाको आफ्नै श्रोतबाट कालोपत्रे गरिएको छ । ३ किलोमिटर २०० मिटर सडक संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्रे गरिएको अध्यक्ष केरुङले जानकारी दिए ।

वडा–१ स्थित चुलाचुली मार्गको ८०० मिटर सडक खण्ड गाउँपालिकाको स्रोतबाट १ करोडको लगानीमा कालोपत्रे सम्पन्न गरिएको छ । सोही सडक खण्डको अर्को ७५० मिटर सडक संघीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा ८७ लाख ३८ हजारको लगानीमा कालोपत्रे गरिएको छ ।
त्यस्तै वडा–२ स्थित हिमाली मार्गको १ किलोमिटर ३०० मिटर सडक खण्ड कोसी प्रदेश सरकारसँगको ३५ प्रतिशत साझेदारीमा ९९ लाख ९५ हजार ७८२ रुपैयाँको लगानीमा कालोपत्रे गरिएको अध्यक्ष केरुङले बताए । सो सडक खण्डको ४ किलोमिटर १०० मिटर सडक पटकपटक गरी अघिल्लै आर्थिक वर्षहरूमा कालोपत्रे गरिएको थियो ।

वडा–५ स्थित चुलाचुली मार्गको १ किलोमिटर २१५ मिटर सडक खण्ड संघीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा ८७ लाख ३६ हजार २३६ रुपैयाँको लगानीमा कालोपत्रे गरिएको छ । सो सडक खण्डको अर्को १ किलोमिटर २०० मिटर सडक अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा कालोपत्रे गरिएको थियो ।

त्यसैगरी वडा–६ स्थित चुलाचुली मार्गको १ किलोमिटर ३०० मिटर सडक खण्ड गाउँपालिकाको श्रोतबाट १ करोड ८७ लाखको लगानीमा सुरु भएको कालोपत्रे अन्तिम चरणमा पुगेको चुलाचुली गाउँपालिकाका इन्जिनियर क्षितिज दाहालले जानकारी दिए । इन्जिनयर दाहालका अनुसार कालोपत्रेका लागि ड्रेन, सब बेस र बेस हाल्ने काम सकिएको छ ।

वडा–३ र ४ कार्यालय जोड्ने सडकहरू अघिल्लै वर्षहरूमा कालोपत्रे गरिएको थियो । वडा–३ मा आव २०७९÷०८० मा चुलाचुली मार्गको १ किलोमिटर ७०० मिटर र वडा–४ मा सोही मार्गको पटकपटक गरी आव २०७९÷०८० सम्ममा ३ किलोमिटर ४०० मिटर सडक कालोपत्रे गरिएको थियो ।

झापास्थित पूर्व–पश्चिम लोकमार्ग र भविष्यमा चुलाचुलीको माथिल्लो भेग भएर जाने निर्माणाधीन मदन भण्डारी लोकमार्ग समेत जोड्ने लक्ष्यका साथ गाउँपालिकाले कालोपत्रे सडकलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष केरुङले बताए । सडक सञ्जाल नै विकासको मुख्य आधार भएकाले यसको विस्तारका लागि गाउँपालिका सक्रिय भएर लागेको उनले बताए ।

‘वडा कार्यालय पुग्ने वडाका १–१ वटा सडकलाई कालोपत्रे गर्नका लागि कतिपय सडक संघीय र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्रे गरिएका छन् भने कतिपय सडक गाउँपालिकाले आफैँ बजेट विनियोजन गरेर समेत कालोपत्रे गरिएको छ’, अध्यक्ष केरुङले भने, ‘आगामी दिनमा समेत सडका कालोपत्रेलाई नै प्राथमिकता दिएर अघि बढ्नेछौँ ।’

उनले सडक गुणस्तरीयतामा पनि उत्तिकै ध्यान दिएको बताए । गाउँपालिका प्रशासनिक कार्यालयदेखि प्रत्येक वडा कार्यालय पुग्ने सडक कालोपत्रे सकिएपछि प्रत्येक वस्तीदेखि वडा कार्यालय पुग्ने सडक स्तरोन्नतिलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।
स्थानीय तहको पुनर्संरचना हुनुअघि स्थानीय बासिन्दा हिलो र पानीमा डुबेर बाटामा हिँड्नुपर्ने बाध्यमा थियो । स्थानीय जनप्रतिनिध आएपछि पालिकाको विकासले गति लिएपछि स्थानीयबासीसमेत खुसी छन् । चुलाचुली गाउँपालिका पूर्व–पश्चिम लोकमार्गको करिब ५०० मिटरमाथि अवस्थित छ ।

प्रतिक्रिया