ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गको सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ का ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहता रहेका छन् ।

महेश कुमारको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।
डिएसपी न्यौपानेका अनुसार, शुक्रबार दिउँसो कञ्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल बोकेको को १ ख ७४१४ नम्बरको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका–१० मा आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

ट्यांकर चालक सिरहा जिल्लाको कर्जना नगरपालिका–३ का ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् । उनी अहिले ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचाररत छन् र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीले मोटरसाइकल र ट्यांकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया