जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयले मिथिलाका महान् विभूति तथा विद्वानहरूको विषयमा संवाद तथा परिचर्चाको सुरुआत गरेको छ । विश्वविद्यालयले राजर्षिजनक अध्ययन अनुसन्धान केन्द्र मार्फत मिथिलाका महान् विभूतिहरूका विषयमा यस क्षेत्रका विद्वान तथा विदुषिहरुलाई राखेर छलफल तथा विमर्श गर्ने अभियानको क्रममा राजर्षिजनक : मिथिला संस्कृति विषयक गोष्ठीको आयोजना गरेको छ ।
त्रिभुवन विश्व विद्यालयका केन्द्रीय मैथिली विभागका पूर्वप्रमुख परमेश्वर कापडिले राजर्षिजनक तथा मिथिला संस्कृतिका विषयमा अनुसन्धान मूलक कार्यपत्र प्रस्तुत गरे । मैथिली साहित्यकार सभाका पूर्वसभापाल प्रेम विदेह ललनले त्यसमा टिप्पणी गरे । सो अवसरमा बिश्वविद्यालयमा एमफिल गरिरहेका विद्यार्थीहरुसंग प्रत्यक्ष भौतिक र अनलाईनका माध्यमले छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै राजर्षि जनक विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. अमर प्रसाद यादवले यस्ता प्राज्ञिक कार्यक्रमले ज्ञानको अभिवृद्धिका साथै मिथिलाको विरासत, संस्कृति, इतिहास बुझ्न तथा विश्वलाई सूचना प्रविधिको उच्चतम प्रयोग गरेर जानकारी गराउनमा ठूलो मद्दत पुग्ने बताए । उनले राजर्षिजनक तथा मिथिलाको संस्कृतिका विषयमा जान्न तथा बुझ्नका लागि नयाँ पीढीलाई मद्दत पुग्ने र सोको सहजीकरणका लागि मैथिली मात्र नभई नेपाली, हिन्दी, अंग्रेजी भाषा सबैमा प्रवाह हुन सक्ने बताए ।
मिथिला र मैथिली सम्बन्धमा जानकारी प्रवाहका लागि भाषामा पाबन्दी लगाउन नहुने उनको तर्क थियो । कापडिको कार्यपत्रमा मिथिलाको प्राचीनता, जनककालिन परम्परा तथा संस्कृतिका विषयमा धेरै विषय वस्तुहरू समेट्ने काम भएकाले यसले विश्व विद्यालयको एम फिलमा अध्ययनरत रहेका विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास कार्यक्रमका संयोजक एवं अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डा. राम खेलावन साहको थियो । उनले आफनो ४८ महिने कार्यकालमा ४८ विभिन्न विषयमा गन्थनमन्थन गर्ने बताए ।
केन्द्रका निर्देशक प्राध्यापक डा. रामखेलावन साहको अध्यक्षतामा भएको सो कार्यक्रममा भोगी झासहितका सहभागीले मिथिला संस्कृतिको वैभवशाली इतिहास भएको बताउँदै राजर्षिजनक विश्व विद्यालयले त्यसलाई उजागर गर्न थालेकोमा खुशी व्यक्त गरे । अगामी दिनमा पनि अष्टावक्रको विषयमा पनि परिचर्चा गरिने भएको छ ।
प्रतिक्रिया