जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला पूल निर्माणको माग गर्दै सिरहाका स्थानीयले मधेसका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।
कमला पुल भत्किएको २ वर्षभन्दा बढी समय भई सक्दासमेत पूल निर्माण हुन सकेकाले नयाँ पूल निर्माणको माग गर्दै सिरहाबाट आएका स्थानीयले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । सिरहाबाट आएका प्रवीण यादवले आफूहरू हुलाकी सडकअन्तर्गत पर्ने कमला पूल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।
अर्का स्थानीय एवं कमला पूल निर्माणका लागि माग गर्दै आइरहेका दिनेश यादवले यसअघि हामीले भासिएको पुल मर्मत गर भनेर माग गर्दै आएका थियौँ तर अब हामीलाई नयाँ पुल नै चाहिएको छ । उनले पुरानो पुललाई मर्मत गर्ने नाममा ३ वर्षभन्दा बढी भइसक्यो अब त्यो पुलको काम छैन हामीलाई नयाँ पुल नै चाहिएको छ भने ।
यता ज्ञापनपत्र बुझ्दै मधेसका मुख्यमन्त्री सतिश सिंहले आफूहरू कमला पुल निर्माणका लागि गम्भीर रहेको बताए । उनले संघ सरकारले अनुमति दिए आफूहरू आफ्नै बजेटबाट पनि पुल निर्माण गर्न तयार रहे पनि अधिकार नरहेकाले अहिलेसम्म कुनै ठोस कदम उठाउन नसकेको बताए । मुख्यमन्त्री सिंहले आफूहहरूले हुलाकी सडक निर्माणका लागि प्रधानमन्त्रीलाई भेटेर समेत जानकारी गराइसकेको प्रतिक्रिया दिए ।
मुख्यमन्त्री सिंहले ७ दिनभित्र पुल निर्माणका लागि प्रक्रिया अगाडि नबढाइए आमरण अनशनमा बस्ने आन्दोलनकारीहरूको चेतावनीप्रति रोष प्रकट गरे । उनले गत ७ वर्षसम्म प्रदेश सरकार रहे नरहेको जनताले अनभूति नगरेको र आफ्नो नेतृत्वको सरकार आएको २ महिनामै यस प्रकारको अल्टिमेटम दिँदा नियोजित रूपमा आन्दोलनको प्रारम्भ गरिएको जस्तो लागिरहेको आरोप लगाए ।
प्रतिक्रिया