खानेपानी आयोजना सञ्चालन भएपछि स्थानीय हर्षित

इलाम । इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौंदेखि विहानको समय गाग्रोमा पानी बोक्दैमा बिताउँदै आएकी वसन्ताको घरैमा खानेपानी धारो जडान भएपछि उनको दिनचर्यासमेत फेरिएको हो । पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा खर्चिन थालेकी छन् । डेढ घण्टा उकालो बाटो गाग्रोबाट बोकेको पानीको भरमा गुजारा चलाउँदै आएकी वसन्तासहित माङमालुङ बजार र आसपासका १७१ घरधुरीले त्यो बाध्यताबाट मुक्ति पाएका छन् । संघीय सरकारको विशेष अनुदानअन्तर्गत १ करोड ६६ लाख ६६ हजार १५३ रुपैयाँको लागतमा बृहत् खानेपानी आयोजना निर्माण भएपछि खानेपानीका लागि घण्टौँसम्म उकालो ओरालो गर्नुपर्ने वर्षौंदेखिको बाध्यता हटेको हो ।

माङसेबुङ गाउँपालिका–२ र ६ वडाबासीका लागि ‘लिफ्ट’ प्रविधिबाट ‘मिक्लाजुङ खानेपानी आयोजना (चित्रेखोला मुहान)’ निर्माण सम्पन्न भएको छ । मुख्य प्रसारण लाइनको विद्युत् प्रयोग गरेर चित्रेखोला मुहानअन्तर्गत गढेरे खोल्सी मुहानबाट १ हजार १०० मिटर टाढा पानी तानेर घरघरमा मिटरसहित धारा जडान गरी वितरण गरिएको छ । आयोजनाबाट वडा–२ का चित्रे, डोलटार, भोटेडाँडा र वडा–६ का माङमालुङ बजार, नागीगाउँ, छेउनागलगायत गाउँका १७१ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

आयोजना निर्माण भएसँगै खानेपानीका लागि सदियौँदेखि सास्ती खेप्नुपरेको त्यस क्षेत्रका बासिन्दा काकाकुलबाट मुक्त भएका छन् । सदियौँदेखिको खानेपानी समस्या तोड्दै घरघरमा बनाइएका धाराबाट पानी झर्न थालेपछि त्यस क्षेत्रको बासिन्दामा खुसीको सीमा छैन । आदिवासी राई जातिको एकल बाहुल्य रहेको त्यस क्षेत्रमा बासिन्दाले पानी शुद्ध पिउने पानी पाएपछि हर्षित भएका छन् ।

२ करोडमा ५९ हजारको लागत स्टिमेट रहेकोमा धनकुटाको बिएनके महालक्ष्मी जेभीले १ करोड ६६ लाख ६६ हजार १५३ रुपैयाँमा ठेक्का पारेको थियो । आयोजनाअन्तर्गत मुहानदेखि २ मिटरको दुरीमा ७५ घनमिटर क्षमताको कलेक्सन ट्यांक निर्माण गरियो । कलेक्सन ट्यांकदेखि १ किलोमिटर दुरीमा १ लाख लिटर क्षमताको रिजर्भ ट्यांकमा पु¥याएर पानी वितरण गरिएको माङसेबुङ गाउँपालिकाका अधिकृतस्तर छैटौँ (इन्जिनियर) युवराज दाहालले बताए । रिजर्भ ट्यांकबाट साढे ८ हजार मिटर एचडिपिइ पाइप (पोलिथिन पाइप) बिस्तार गरी घरघरमा खानेपानी वितरण गरिएको दाहालले बताए ।

‘लिफ्ट प्रविधिबाट सञ्चालन गरिएको आयोजनाबाट प्रतिसेकेन्ड ५ लिटर पानी आउँछ, यो गाउँबासीका लागि पर्याप्त हुन्छ’, इन्जिनियर दाहालले भने, ‘त्यसका लागि मुख्य प्रसारण लाइनबाट ११ हजार भोल्टको करेन्ट प्रवाह हुनेगरी विद्युत् लाइन जडान गरिएको छ, आयोजनाका लागि छुट्टै ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।’

वर्षौंदेखिको खानेपानीको समस्या भोग्दै आएका स्थानीयले घरघरमा खानेपानी आएपछि नयाँ जीवन पाएको बताएका छन् । जन्मेदेखि नै खानेपानीको सास्ती भोग्दै आएकी स्थानीय कमलकुमारी राईले घरघरमा पानी आउँदा निकै खुसी लागेको बताइन् । ‘खानेपानीका लागि बिहानभर पर्खेर कुवाको दुषित पानी खान बाध्य थियौँ, हिउँदमा त त्यो पनि सुक्खा हुन्थ्यो’, उनले भनिन्, ‘वर्षांैदेखि भोग्दै आएको त्यो समस्या अहिले अन्त्य भएको छ, हामी सुखी छौँ ।’

खानेपानी आयोजना सञ्चालन भएपछि पिउनका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउने समस्यासमेत समाधान भएको स्थानीय सुनिता राईले बताइन् । घरघरमा शुद्ध खानेपानी पुगेपछि अहिले गाउँबासी सबै हर्षित भएको उनले बताइन् ।
उक्त क्षेत्रमा स्थानीयले सदियौँदेखि खानेपानीको चरम समस्या भोग्दै आएका थिए । आर्थिक वर्ष २०६७÷०६८ सालमा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेको भए पनि हिउँदमा मुहान सुक्ने कारणले समस्या ज्यूँ का त्यूँ थियो । तर, विद्युतीय माध्यमबाट पम्पिङ गरी खानेपानी आयोजना सञ्चालन भएपछि समस्या सधैँका लागि अन्त्य भएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।

‘पहिलो चरणमा १७१ घरधुरीका लागि खानेपानी आयोजना सम्पन्न गरिएको छ, यहाँबाट धेरैको खानेपानीको समस्या समाधान भएको छ’, अध्यक्ष राईले भने, ‘अर्को चरणमा अन्य वस्तीका लागि समेत करिब ३ करोडको यस्तै आयोजना सञ्चालन गरिनेछ, त्यसको लागि पहल भइरहेको छ ।’
आयोजन सञ्चालन भएको क्षत्र समुन्द्री सतहदेखि २ हजार मिटर उचाइमा अवस्थित छ ।

प्रतिक्रिया